
काठमाडौं । जेनजी प्रदर्शनले ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर पुराएको पाइएको छ । क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यासायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च)अनुसार जेनजी प्रदर्शनले ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर पुराएको देखिएको हो ।
क्लिकमान्डुले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको संरचनात्मक, संस्थागत तथा व्यावहारिक भूमिकालाई स्पष्ट रूपमा उजागर गर्ने उद्देश्यले जेनजी विद्रोहको क्रममा व्यावसायिक क्षेत्रमा परेको बहुआयामिक प्रभावको विश्लेषण गर्न अनुसन्धानमूलक अध्ययन प्रतिवेदन तयार पारेको थियो । उक्त अध्ययन प्रतिवेदनका लागि गरिएको सर्वेक्षणमा नेपालको उद्योग, वित्तीय क्षेत्र, पर्यटन तथा सेवा, ऊर्जा, शिक्षा, स्वास्थ्य, निर्माणलगायत क्षेत्रमा लगानी गर्ने १२१ जना अर्बपति उत्तरदाताका रूपमा सहभागी थिए ।
उक्त सर्वेक्षणमा सहभागिमध्ये ९८ प्रतिशत व्यवसायीको मनोबलमा असर पुराएको उल्लेख गरेका हुन् । ‘जेनजी प्रदर्शनले ९८ प्रतिशत व्यवसायीले आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको देखिएको छ भने २ प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक नपरेको बताएका छन्,’ क्लिकमान्डु रिसर्च पेपरमा भनिएको छ, ‘यसैगरी ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको (२२ प्रतिशतबाट अत्यधिक असर परेको) देखिएको छ ।’
उक्त सर्वेक्षणमा सहभागिमध्ये ७० प्रतिशत व्यवसायी थप लगानीका लागि पर्ख र हेरको अवस्थामा रहेको पाइएको क्लिकमान्डु रिसर्चमा उल्लेख छ । उक्त अध्ययन प्रतिवेदनअनुसार यी तथ्यले व्यवसायीको आत्मविश्वास निकै कमजोर बनेको पुष्टि गरेको छ ।
यद्यपि, लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न लगानीकर्तामा धेरै अनिच्छा भने देखिएको छैन । सर्वेक्षणका क्रममा ८ प्रतिशतले कुनै पनि हालतमा लगानी नबढाउने बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत र थप लगानी गर्न २१ प्रतिशत व्यवसायी इच्छुक भएको जवाफ दिएका छन् ।
अध्ययन प्रतिवेदनले व्यवसायीहरूमाथि अर्थात् निजी सम्पत्तिमा आक्रमण हुनुको मुख्य कारण अफवाह तथा भ्रमपूर्ण सूचना भएको देखाएको छ । सर्वेक्षणमा सहभागी ६९ प्रतिशत व्यवसायीले अफवाह तथा भ्रमपूर्ण सूचनाका कारण निजी क्षेत्रमाथि आक्रमण भएको उल्लेख गरेका छन् । यसका साथै, सम्पत्ति कमाउनेप्रतिको नकारात्मक दृष्टिकोण र व्यक्तिगत रिसइबी तथा कुण्ठाका कारण पनि व्यवसायीमाथि आक्रमण भएको विषय व्यवसायीले राखेका छन् ।

भौतिक तथा आर्थिक क्षति र लगानीकर्ता व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ क्लिकमान्डुले गरेको अध्ययन प्रतिवेदनले नेपालका स्थापित र ठूला व्यवसायीहरूमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पुरÞ्याएको देखाएको छ । खासगरी भौतिक क्षतिको तुलनामा विश्वास र मनोबलको क्षति निकै डरलाग्दो देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
‘जेनजी प्रदर्शनका कारण व्यवसायीले भोगेको क्षतिको प्रकृति विश्लेषण गर्दा भौतिक क्षति (आगजनी, तोडफोड र लुटपाट) भन्दा ठूलो असर मनोबलमा परेको पाइएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘सहभागीमध्ये कुल ६७ प्रतिशत व्यवसायीमा मनोवैज्ञानिक क्षति परेको देखिँदा ५४ प्रतिशतबाट बजार प्रभावित भएको जवाफ प्राप्त भएको छ ।’
क्लिकमान्डुले १२१ जना उद्योगि व्यवसायीलाई सर्वेक्षणमा सहभागि गराउँदा ५ जनसांख्यिक, ५ अतिरिक्तसहित ११ वस्तुगत र १ अतिरिक्तसहित ७ विषयगत प्रश्न समेटिएको प्रश्नावली फारम डिजिटल माध्यमबाट भराएको थियो । त्यसमध्ये कुल लगानी ५ अर्ब रूपैयाँभन्दा धेरै हुने लगानीकर्ता ५० प्रतिशतभन्दा बढी थिए ।
सहभागीमध्ये ४८ जना व्यवसायीले लगानी गरेको विभिन्न व्यवसायमा प्रति लगानीकर्ता कुल १ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना दिएको र ६४ प्रतिशत व्यवसायीसँग २० वर्षभन्दा बढीको अनुभव छ । साथै, क्लिकमान्डुले सर्वेक्षणमा सहभागी गराएका व्यवसायी एकभन्दा बढी क्षेत्रमा लगानी रहेका समेत थिए ।
जसमध्ये, उद्योग र वित्तीय क्षेत्रमा लगानी रहेका लगानीकर्ताको हिस्सा सबैभन्दा बढी देखिन्छ । सहभागीमध्ये ४६ प्रतिशतको उद्योगमा र ३७ प्रतिशतको वित्तीय क्षेत्रमा लगानी छ । ८३ प्रतिशत लगानीकर्ताको व्यवसाय बागमती प्रदेशमा र २९ प्रतिशत लगानीकर्ताको व्यवसाय कर्णाली प्रदेशमा रहेको थियो ।
उक्त व्यवसायीलाई सर्वेक्षणमा सहभागि गराएर गरिएको अध्ययन प्रतिवेदनमा जेनजी प्रदर्शनले पुर्याएको भौतिक तथा आर्थिक क्षति विश्लेषण गर्दा सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशत व्यवसायीले प्रत्यक्ष क्षति बेहोरेको पाइएको थियो । उनीहरूको कुल भौतिक क्षति करिब २५ अर्ब रूपैयाँ र प्रति व्यवसायी औसत क्षति ४४ करोड रूपैयाँ देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणमा सहभागी २१ प्रतिशत व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा समेत आक्रमण भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । आइतबार काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको क्लिकमान्डु रिसर्च पेपरले व्यवसायीहरूमा चरम निराशा, असुरक्षा र अनिश्चितताजन्य त्रास फैलिएको पाइएको उल्लेख गरेको छ ।
‘धेरै उद्यमीहरूमा नेपालमा व्यवसाय गर्नु नै गल्ती रहेछ भन्नेसम्मका भाव विकास भएको पाइएको छ । आफ्नै लगानी र मेहनतबाट खडा गरेको व्यवसाय आफ्नै अगाडि ध्वस्त भएको देख्दा व्यवसायीहरू ’पोस्ट–ट्रमाटिक स्ट्रेस’बाट गुज्रिरहेको पाइएको छ,’ क्लिकमान्डु रिसर्चमा भनिएको छ, ‘निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको स्थितिमा नयाँ लगानीका योजनाहरू स्थगित भएका छन् र केही उद्यमीहरूले पुँजी पलायन सम्मको सोच बनाउन थालेका छन् ।’
प्रतिवेदनले नेपाल लगानीका लागि असुरक्षित गन्तव्य बनेको सन्देश जाँदा वैदेशिक लगानी प्राप्त हुने सम्भावना झन् क्षीण भएको समेत निष्कर्ष निकालेको छ । समाजमा व्यवसायीहरूलाई रोजगारी सिर्जना र राजस्वमा योगदान गरेबापत आर्थिक विकासका सारथि भन्नुपर्नेमा ‘नाफाखोर’ वा ‘शोषक’ का रूपमा हेर्ने गलत भाष्य विकास भएको महसुस व्यवसायीले गरिरहेको विषय प्रतिवेदनले बोलेको छ ।
खासगरी मिडिया, राजनीतिक दल र शिक्षा प्रणालीले उद्यमशीलतालाई सम्मान गर्ने संस्कृति विकास गर्न नसक्दा निजी क्षेत्रप्रति सर्वसाधारणमा नकारात्मक दृष्टिकोण हावी भएको दृष्टान्त क्लिकमान्डु रिसर्च पेपरमा उल्लेख छ ।
‘जेनजी विद्रोहले निम्त्याएको भौतिक वा आर्थिक क्षति समयक्रममा पुनरूत्थान हुँदै जानेछ तर यसबाट व्यवसायीमा परेको आघात भने अमिट छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जेनजी विद्रोहका क्रममा उद्योग, बैंक, व्यापारिक प्रतिष्ठान तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३४ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ ।’
प्रतिवेदनले प्रत्यक्ष भौतिक क्षतिभन्दा अप्रत्यक्ष आर्थिक क्षति अझ भयावह भएको र यो करिब ८१ अर्ब रूपैयाँ हाराहारी रहेको उल्लेख गरेको छ । यसले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशतसम्म प्रभाव पार्ने अनुमान गरिएको प्रतिवेदनको दाबी छ ।
दुई दिनको हिंसात्मक गतिविधिले निजी क्षेत्रको भौतिक संरचना, उत्पादन प्रणाली, सेवा प्रवाहमा गम्भीर क्षति पुरÞ्याउनुको साथै उद्यमीहरूको मनोबलमा निकै नराम्रो असर पुर्याएकाे क्लिकमान्डु अध्ययन प्रतिवेदनमा उल्लेख छ । अर्बो रूपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति, उत्पादन र बिक्रीमा आएको अवरोध, आपूर्ति शृंखलाको विच्छेद र लाखौं नेपालीहरूको रोजगारी गुम्ने अवस्था यसका प्रत्यक्ष नतिजा भएको बताइएको छ ।

‘वित्तीय क्षेत्रमा परेको प्रभाव विश्लेषण गर्दा कर्जा असुली प्रभावित भएको कर्जाको माग घटेको र क्षमता भएका ऋणीले पनि किस्ता तिर्न आलटाल गरिरहेको पाइएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बिमा क्षेत्रपट्टि बिमा दाबी भुक्तानी निकै बढेको पाइएको छ ।’ जेनजी विद्रोहलगत्तै सरकारले शान्ति सुरक्षा कायम गर्न, निजी क्षेत्रका कुरा सुन्दै केही तत्कालीन राहतका प्याकेज ल्याउँदा लगानीकर्तामा केही आशा पलाएको पनि प्रतिवेदनले बोलेको छ ।
क्लिकमान्डु रिसर्चका सुझाव
क्लिकमान्डु अध्ययन प्रतिवेदनले जेनजी आन्दोलन विध्वंसमा परिणत हुँदा नेपालको निजी क्षेत्रमा बहुआयामिक प्रभाव परेको उल्लेख गर्दै राज्यले ‘अभिभावकीय भूमिका निर्वाह गर्दै लगानीको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ विषय अगाडि सारेको छ । अनिश्चयको भुमरीबाट निजी क्षेत्रलाई निकाल्न कम्तीमा स्थायी सरकार र स्थायी नीतिको टड्कारो आवश्यकता देखिएको उल्लेख गर्दै अध्ययन प्रतिवेदनले निजी क्षेत्रले आफूलाई ‘सुरक्षित’ र ‘सम्मानित’ महसुस नगरेसम्म स्वेदशी र विदेशी कुनै पनि लगानीको सपना अधुरो रहने जनाएको छ ।
व्यवसायीको गुमेको आत्मविश्वास पुनर्जागरण गर्न र लगानीको वातावरण बनाउन सरकारले थप सुरक्षा र कानुनी प्रत्याभूति दिनुपर्ने आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ । ‘औद्योगिक सुरक्षा बल स्थापना र उद्योग वाणिज्य तथा सेवा क्षेत्रलाई ’विशेष सुरक्षा क्षेत्र’ घोषणा गरी छुट्टै सुरक्षा संयन्त्र वा द्रुत सुरक्षा प्रतिक्रिया प्रणाली (र्यापिड रेस्पोन्स सिस्टम) विकास गर्नुपर्ने देखिन्छ ,’ प्रतिवेदनमा भनिएको छ, ‘लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई राजनीतिक संरक्षण नदिई तत्काल कानुनी दायरामा ल्याउन आवश्यक कानुनी प्रबन्ध गर्नुपर्छ ।’
‘कानुन हातमा लिने कसैलाई पनि छुट दिइने छैन’ भन्ने सन्देश सरकारले व्यवहारमा देखाउनुपर्ने प्रतिवेदनको सुझाव छ । सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन नहुने गरी कम्तीमा १० वर्षका लागि ‘आर्थिक स्थिरताको मार्गचित्र’ सार्वजनिक गर्नेपर्ने विषय पनि क्लिकमान्डु रिसर्चले सुझाएको छ ।
सरकारले निजी क्षेत्रलाई आर्थिक उन्नतिको सारथिको रूपमा सर्वसाधारणलाई चिनाउनुपर्ने कर असुल्न अनावश्यक दुःख नदिई व्यवसायको सहजकर्ता र लगानीको रक्षकको भूमिका निर्वाह गर्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ । व्यवसायीहरूले आफूमाथि लाग्ने ‘स्वार्थको द्वन्द्व’ र ’राजनीतिक सेटिङ’ को आरोपबाट मुक्त हुन राजनीतिक आबद्धता त्याग्न आवश्यक देखिएको पनि प्रतिवेदनको निष्कर्ष छ ।
उद्योग/व्यवसायलाई शान्तिक्षेत्र घोषणा गर्दै आन्दोलन र विरोध प्रदर्शन लगायतमा पनि बन्द नहुने कानुनी प्रबन्ध गर्दै लागू गर्नुपर्ने, उद्योगी व्यवसायीमाथिको आक्रमणका घटना हुन नदिन प्रहरीको प्रत्यक्ष निगरानीमा ‘इकोनोमिक इन्टिलिजेन्स’ ब्युरो स्थापना गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख छ ।
‘युवाहरूको असन्तुष्टि र समान अवसरको आवश्यकतालाई निजी क्षेत्र र सरकारले कसरी सम्बोधन गर्ने भन्ने ठोस ‘रोडम्याप’ तयार पार्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘जेनजी विद्रोहका कारण विश्वव्यापी रूपमा ‘नेपालमा लगानी गर्नु सुरक्षित छैन’ भन्ने सन्देश गएकामा यसलाई सुधार्न ‘आर्थिक कूटनीति’ मार्फत लगानीको वातावरण सुधार्ने प्रतिबद्धता गर्दै शीघ्र कार्यान्वयन गर्नुपर्छ ।’










प्रतिक्रिया