क्लिकमान्डु रिसर्च

क्लिकमान्डुद्वारा ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन सार्वजनिक


काठमाडौं । क्लिकमान्डु डटकमले ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) सार्वजनिक गरेको छ । आइतबार काठमाडौंको सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले क्लिकमान्डु रिसर्च अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

खासगरी, २०८२ भदौ २३ र २४ को जेनजी विद्रोहको क्रममा मुलुकको सरकारी तथा निजी क्षेत्रको महत्वपूर्ण संरचना र सम्पत्तिमा आगजनी तथा तोडफोड भएका थिए । प्रदर्शनकारीको निशानामा पर्दा मुलुकको अर्थतन्त्रको महत्वपूर्ण धरोहरको रुपमा रहेको निजी क्षेत्रले भौतिकसँगै मनोबैज्ञानिक क्षति पनि ठूलो मात्रामा बेहोर्नुपर्यो ।

यही सन्दर्भमा क्लिकमान्डुले जेनजी विद्रोहको क्रममा व्यावसायिक क्षेत्रमा परेको बहुआयामिक प्रभावको अध्ययन र विश्लेषण गर्दै क्लिकमान्डु रिसर्च अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । यस अध्ययन प्रतिवेदनमा नेपालको उद्योग, वित्तीय क्षेत्र, पर्यटन तथा सेवा, ऊर्जा, शिक्षा, स्वास्थ्य, निर्माणलगायत क्षेत्रमा लगानी गर्ने १२१ जना अर्बपतिलाई उत्तरदाताका रूपमा सहभागी गराइएको छ ।

उक्त उत्तरदाताका रुपमा सहभागि १२१ जनालाई प्रश्नावली फारम डिजिटल माध्यमबाट भराइएको थियो । जसमध्ये कुल लगानी ५ अर्ब रूपैयाँभन्दा धेरै हुने लगानीकर्ता ५० प्रतिशतभन्दा बढी रहेका छन् ।

सहभागीमध्ये ४६ प्रतिशतको उद्योगमा र ३७ प्रतिशतको वित्तीय क्षेत्रमा लगानी छ । अध्ययनमा सहभागि १२१ जना मध्ये ९८ प्रतिशत व्यवसायीले जेनजी विद्रोहका कारण आफ्नो मनोबल कमजोर बनेको र ९७ प्रतिशतले आफूले लगानीको वातावरण कमजोर बनेको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

जेनजी विद्रोहले पुर्याएकाे भौतिक तथा आर्थिक क्षति विश्लेषण गर्दा सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशत व्यवसायीले प्रत्यक्ष क्षति बेहोरेको पाइएको छ ।

सहभागिहरूको कुल भौतिक क्षति करिब २५ अर्ब रूपैयाँ र प्रति व्यवसायी औसत क्षति ४४ करोड रूपैयाँ देखिएको छ । सर्वेक्षणमा सहभागी २१ प्रतिशत व्यवसायीको व्यावसायिक गतिविधिमा मात्र नभई व्यक्तिगत घर र गाडीमा समेत आक्रमण भएको अध्ययन प्रतिवेदनमा देखिएको छ ।

अध्ययनका क्रममा सर्वेक्षणमा सहभागीमध्ये कुल ६७ प्रतिशत व्यवसायीमा मनोवैज्ञानिक क्षति परेको पाइएको छ भने ५४ प्रतिशतबाट बजार प्रभावित भएको जवाफ प्राप्त भएको छ । जेनजी प्रदर्शनले लगानीकर्ताको मनोबलमा पारेको प्रभाव विश्लेषण गर्दा ९८ प्रतिशत व्यवसायीले आफ्नो मनोबलमा सामान्य, ठूलो वा अत्यधिक असर परेको जवाफ दिएका छन् । २ प्रतिशत व्यवसायीले मात्र मनोबलमा फरक परेन भन्ने जवाफ दिएका छन् ।

यसले व्यवसायीको आत्मविश्वास निकै कमजोर बनेको देखाएको छ । यद्यपि, लगानी थप गर्न वा व्यवसाय विस्तार गर्न लगानीकर्तामा धेरै अनिच्छा भने देखिएको छैन । आठ प्रतिशतले कुनै पनि हालतमा लगानी नबढाउने बताउँदा पर्ख र हेरको अवस्थामा ७० प्रतिशत र थप लगानी गर्न २१ प्रतिशत व्यवसायी इच्छुक देखिएका छन् ।

क्लिकमान्डु रिसर्च नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको संरचनात्मक, संस्थागत तथा व्यावहारिक भूमिकालाई स्पष्ट रूपमा उजागर गर्दै जेनजी आन्दोलनले भौतिक तथा आर्थिक क्षति भन्दा पनि लगानीकर्ता–व्यवसायीको मनोबल मापन गर्ने तथा व्यावसायिक वातावरण जाँच गर्ने उद्देश्यका साथ गरिएको हो । यस अध्ययन प्रतिवेदनले नेपालका स्थापित र ठूला व्यवसायीहरूमा गहिरो मनोवैज्ञानिक र आर्थिक चोट पुर्याएको देखाएको छ ।

क्लिकमान्डुका अध्यक्ष तथा कार्यकारी सम्पादक पुष्प दुलालको अध्यक्षतामा भएको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले गरेका छन्। यस्तै, विशेष अतिथिका रुपमा उद्योगमन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठको उपस्थिति छ । नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेपाल सरकारका सचिबहरुको साथमा नेपाल उद्योग वणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति छ । यस्तै, नियामकिय निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल बिमा प्राधिकरण लगायतका प्रतिनिधिको पनि उपस्थिति छ । कार्यक्रममा रिसर्च प्रतिवेदन सार्वजनिकसँगै ‘इन्भेष्टर कन्फरेन्स’ विषयक प्यानल डिस्कसन पनि हुनेछ ।

Skip This