
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार नमाजको समयमा एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । अन्य १६९ जना घाइते भएको जिल्ला प्रशासनका एक प्रवक्ताले बताए डन पत्रिकालाई बताएका छन् ।
उक्त विस्फोट राजधानीको तरलाई क्षेत्रस्थित खादिजा अल–कुब्रा मस्जिदमा भएको थियो ।
घटनास्थलका तस्बिरहरूमा कार्पेट ओछ्याइएको भुइँमा रक्ताम्मे शवहरू लडिरहेको देखिएको छ । त्यहाँ सिसाका टुक्रा, भग्नावशेष र आतंकित नमाजीहरू पनि देखिन्थे ।
मानिसहरू सहयोगका लागि पुकारा गरिरहँदा मस्जिद बाहिरको बगैंचामा दर्जनौं अन्य घाइतेहरू लडिरहेका थिए ।
इस्लामाबाद क्यापिटल टेरिटोरी प्रहरीका प्रवक्ता तकी जवादले विस्फोटको प्रकृति यकिन गर्न अहिल्यै हतार हुने बताए । तर, संकेतहरू हेर्द यो एक आत्मघाती बम विस्फोट हुनसक्ने उनको भनाइ छ ।
जिल्ला प्रशासनका प्रवक्ताले विस्फोट भएको क्षेत्रलाई सुरक्षाकर्मीले पूर्ण रूपमा सिल गरेको बताए र विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचारको अनुगमन गर्न सहायक आयुक्तहरू खटाइएको जानकारी दिए ।
विस्फोटपछि प्रहरी र रेस्क्यु ११२२ का कर्मचारीहरू घटनास्थलमा पुगेर उद्धारकार्य सुरु गरेका थिए ।
इस्लामाबादका पोलिक्लिनिक, पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज र सीडीए अस्पतालमा पनि संकटकालीन अवस्था (इमर्जेन्सी) लागू गरिएको थियो ।
अस्पताल प्रशासनले नागरिकहरूलाई रक्तदान गर्न अपिल गरेको छ ।
यो आक्रमण उज्बेकिस्तानका राष्ट्रपति शौकत मिर्जियोयेभको दुई दिने औपचारिक भ्रमणको समयमा भएको हो ।
घटनाको जिम्मेवारी कुनै समूहले लिइसकेको छैन ।










प्रतिक्रिया