रुसका सैन्य जनरलमाथि गोली प्रहार, अस्पतालमा उपचार जारी

413
Shares

एजेन्सी । रुसको राजधानी मस्कोमा एक रुसी जनरललाई गोली हानिएको त्यहाँको अनुसन्धान समितिले जनाएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ ।

रुसी अनुसन्धान समितिका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मस्कोको भोलोकोलाम्सकोय राजमार्गमा रहेको एउटा आवासीय भवनमा एक अज्ञात आक्रमणकारीले लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभमाथि कैयौं राउन्ड गोली प्रहार गरी घटनास्थलबाट फरार भएको जानकारी दिएका छन् ।

रुसी अनुसन्धान समितिले आफ्ना अधिकारीहरू घटनास्थलमा रहेको र रक्षा मन्त्रालयका एक उच्चपदस्थ अधिकारीको हत्याको प्रयास भएको भन्दै यस विषयमा फौजदारी मुद्दा दर्ता गरिएको जनाएको छ ।

अलेक्सेयेभलाई शहरको एक अस्पतालमा लगिएको रुसी अनुसन्धान समितिको विज्ञप्तिमा उल्लेख छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, गोली लागेपछि उनको अवस्था गम्भीर छ र हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

अमेरिकी संसदीय अनुसन्धान सेवाको सन् २०२५ को प्रतिवेदन अनुसार, अलेक्सेयेभ रुसको मुख्य गुप्तचर महानिर्देशनालयका पहिलो उपप्रमुख हुन् ।

Skip This