
काठमाडौं । विगत एक दशकमा चीनका राष्ट्रपति सी चिनपिङले धेरैपटक एउटा रणनीतिक लक्ष्यको बारेमा कुरा गर्दै आएका छन् ।
उनले चिनियाँ मुद्रा युआन (रनमिन्बी) लाई अमेरिकी डलरसँगै विश्वव्यापी रूपमा स्वीकृत सञ्चित मुद्रा (रिजर्भ करेन्सी) को रूपमा स्थापित गर्ने अभिलाषा प्रकट गरेका छन् । त्यति मात्र नभई महत्त्वाकांक्षी रूपमा युआनलाई अन्तर्राष्ट्रिय वित्तीय संरचनामा अमेरिकी डलरसँग प्रतिस्पर्धा गराउने लक्ष्य लिएको पनि उनले भन्दै आएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख जर्नल ‘च्युसी’ मा हालै प्रकाशित सीका भाषणका अंशहरूले यस लक्ष्यलाई थप स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय व्यापार, लगानी र विनिमय बजारहरूमा व्यापक रूपमा प्रयोग हुने तथा सञ्चित मुद्राको दर्जा प्राप्त गर्न सक्ने गरी चीनले एक शक्तिशाली मुद्रा निर्माण गर्न आवश्यक रहेको सीले बताएका छन् ।
यस घोषणाले युआनको अन्तर्राष्ट्रियकरण गर्ने लामो समयदेखिको चिनियाँ नीतिलाई प्रतिबिम्बित गरेको छ । यो डलरको परम्परागत प्रभुत्व रहेका क्षेत्रहरूमा युआनलाई अगाडि बढाउने प्रयास हो भनी फाइनान्सियल टाइम्समा जो लिही र चङ लङले लेखेका छन् ।
तर, सीले विश्वव्यापी सञ्चित मुद्रा भन्नाले ठ्याक्कै के भन्न खोजेका हुन् ? र आजको विश्वव्यापी वित्तीय प्रणालीको संरचनालाई हेर्दा युआनले यथार्थपरक रूपमा यो भूमिका प्राप्त गर्न सक्छ त ?
यी प्रश्नहरूको जवाफ दिन हामीले चीनको रणनीतिक उत्प्रेरणा, विश्वव्यापी सञ्चित मुद्राका लागि आवश्यक संरचनागत आवश्यकता, युआनले अहिले हासिल गरेको सामर्थ्य र ब्रिक्स सहयोगको व्यापक भूराजनीतिक सन्दर्भको अध्ययन गर्नुपर्ने हुन्छ।
चीनका लागि युआनलाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फको प्रयासका आर्थिक र भूराजनीतिक दुवै तर्कहरू विद्यमान छन् । आर्थिक रूपमा चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । अहिलेको घना रूपमा अन्तःसम्बन्धित र बहुध्रुवीय विश्व व्यवस्थामा एकल मुद्रा (अमेरिकी डलर) माथिको अत्यधिक निर्भरतालाई प्रणालीगत जोखिमको रूपमा हेरिएको छ ।
डलरमाथिको विश्वव्यापी अतिनिर्भरताले अर्थतन्त्रहरूलाई विनिमयदरको अस्थिरता, मौद्रिक नीतिको प्रभाव र प्रतिबन्ध तथा व्यापार युद्धमा अमेरिकाले उपयोग गर्ने भूराजनीतिक दबाबको जोखिम बढाउने काम गरिरहेको बिसनेज स्ट्यान्डर्डमा वसुधा मुखर्जी लेख्छिन्।
भूराजनीतिक दृष्टिकोणबाट हेर्दा विश्वव्यापी सञ्चितिमा ठूलो भूमिका खेल्ने युआनले चीनको आर्थिक प्रभाव र स्वायत्ततालाई बलियो बनाउनेछ ।
वर्तमान प्रणालीमा डलरको प्रभुत्वले अमेरिकालाई अर्थशास्त्रीहरूले भन्ने गरेको अत्यधिक विशेषाधिकार प्रदान गरेको छ । त्यसको बलमा अमेरिकाले सजिलै ऋण लिन, विश्वव्यापी वित्तीय अवस्थाहरूलाई प्रभाव पार्न र आर्थिक प्रतिबन्धहरूलाई विदेशनीतिको उपकरणका रूपमा उपयोग गर्न सक्षम बनाउँछ ।
सिद्धान्ततः बलियो युआनले अमेरिकी प्रभावलाई सीमित गर्न सक्छ र थप बहुध्रुवीय मौद्रिक व्यवस्थालाई समर्थन गर्न सक्छ भनी सेमाफोर वेबसाइटमा जे.डी. कापेलाउतोले लखेका छन् ।
चीनलाई विश्वसनीय मौद्रिक सुशासन भएको र संसारभरि व्यापक रूपमा विश्वास गरिएको स्वीकृत मुद्रासहितको आर्थिक शक्तिकेन्द्र बनाउने सीको आकांक्षा देखिन्छ । युआन सञ्चित मुद्रा बन्नका लागि यी पूर्वशर्तहरू हुन् । सीले बलियो केन्द्रीय बैंक, प्रतिस्पर्धी वित्तीय संस्थाहरू र केवल प्रतिक्रिया जनाउने मात्र नभई विश्वव्यापी मूल्य निर्धारण संयन्त्रलाई प्रभाव पार्न सक्षम अन्तर्राष्ट्रिय वित्तीय केन्द्रहरूको आवश्यकतालाई जोड दिएको चाइना स्ट्राटेजीमा प्रकाशित सामग्रीमा उल्लेख गरिएको छ ।
युआनको सम्भाव्यताको मूल्यांकन गर्नुअघि सञ्चित मुद्रा के हो भनेर परिभाषित गर्नु आवश्यक छ । विश्वव्यापी सञ्चित मुद्रा भन्नाले त्यस्तो मुद्रालाई जनाउँछ जुन विश्वभरका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिको हिस्साको रूपमा राख्छन् । त्यही मुद्रामार्फत सीमापार विनिमय गर्ने, ऋण जारी गर्ने र वित्तीय बजारहरूमा व्यापक रूपमा प्रयोग गर्ने काम राष्ट्रहरूले गर्छन्।
गहिरो र तरल वित्तीय बजार, विश्वव्यापी व्यापारमा व्यापक स्वीकृति र बिलबीजक (इन्भोइसिङ) तथा अन्तर्राष्ट्रिय सम्झौताहरूमा व्यापक उपयोगका कारण दोस्रो विश्वयुद्धदेखि नै अमेरिकी डलरले यो भूमिका निर्वाह गर्दै आएको छ ।
कुनै पनि मुद्रालाई विश्वव्यापी सञ्चितिको रूपमा काम गर्न धेरै किसिमका शर्तहरू पालन गर्नुपर्ने हुन्छ । सुरक्षित सम्पत्तिहरूको विस्तृत दायरा (जस्तै सरकारी ऋणपत्र) सहितको गहिरो र तरल वित्तीय बजार, पूर्ण रूपमा विनिमययोग्य र खुला पुँजी बजार जसले प्रतिबन्धमुक्त पहुँच र विनिमयको अनुमति दिन्छ, स्पष्ट सुशासन र बजार पारदर्शिता सहित कानुनी र संस्थागत विश्वास तथा वस्तुहरूको बिलबीजक र अन्तर्राष्ट्रिय ऋण सहित व्यापार र वित्तमा व्यापक स्वीकृति ती शर्तहरू हुन् ।
युआनले यीमध्ये कतिपय क्षेत्रमा प्रगति गरेको छ तर महत्त्वपूर्ण अन्तरहरू कायम छन् । सन् २०२५ को तेस्रो त्रैमासिकसम्म विश्वव्यापी विदेशी मुद्रा सञ्चितिमा युआनको हिस्सा लगभग १.९३ प्रतिशत थियो जुन डलर (लगभग ५७ प्रतिशत) र युरो (करिब २० प्रतिशत) भन्दा धेरै पछाडि छ । डलरको अनिश्चिताबाट आत्तिएका विभिन्न मुलुकका केन्द्रीय बैंकले त्यसको साटो युआन भन्दा पनि सुनको सञ्चितिमा जोड दिएको द गार्डिय पत्रिकाका प्रमुख आर्थिक संवाददाता रिचर्ड पार्टिङटनले लेखेका छन् ।
यस स्पष्ट अन्तरले एउटा मुख्य समस्यालाई उजागर गर्छ । त्यो के भने, व्यापारिक उपयोग र द्विपक्षीय सम्झौताहरूमा वृद्धि भए पनि युआन अझै पनि आधिकारिक सञ्चितिमा सानो हिस्सा मात्र ओगटेको मुद्रा हो । डलर जस्तो गरी यसले प्रणालीगत आधार अझै बनाइसकेको छैन ।
संरचनागत अवरोधका बावजुद चीनले युआनको विश्वव्यापी उपस्थिति विस्तार गर्न उल्लेख्य प्रगति भने गरेको छ । विशेषगरी, व्यापारिक भुक्तानी र वित्तीय पूर्वाधारमा युआनको प्रगति लोभलाग्दो रहेको चिनियाँहरू दाबी गर्छन् ।
चीनले आफ्ना व्यापारिक साझेदारहरूलाई युआनमा लेनदेन गर्न सक्रिय रूपमा प्रोत्साहित गरेको छ । ब्राजिल, रुस र पश्चिम एसियाका देशहरूसँग चीनले गरेका द्विपक्षीय सम्झौताहरूले व्यापारिक बिलबीजक र भुक्तानीहरू युआन र साझेदारका राष्ट्रिय मुद्राहरू लगायत गैरडलर मुद्राहरूमा गर्न सक्षम बनाएको चाइना डेलीमा लि कुन र वे हाओको सामग्रीमा उल्लेख गरिएको छ ।
ब्रिक्स देशहरू, विशेषगरी चीन र रुसले, डलरको साटो स्थानीय मुद्रा (जस्तै युआन र रुबल) मा गरिने सीमापार भुक्तानीको हिस्सा निकै बढाएको अनुसन्धानले देखाउँछ । केही रिपोर्टहरूका अनुसार, निश्चित द्विपक्षीय च्यानलहरूमा ९९.१ प्रतिशत भुक्तानी यी मुद्राहरूमा भइरहेको वाचर डट्गुरुमा विनोद डिसुजाले लेखेका छन् । तर, यस्ता तथ्यांकहरूले विशिष्ट क्षेत्रहरूमा महत्त्वपूर्ण परिवर्तन भइरहेको देखाए पनि तिनीहरू अझै विश्वव्यापी प्रभुत्वमा परिणत भएका छैनन् ।
भुक्तानी पूर्वाधार गैरडलर अन्तर्राष्ट्रियकरणको मुख्य कडी हो । चीनले क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टम (सीआईपीएस) सुरु गरेको छ जुन प्रभुत्वशाली स्विफ्ट सञ्जालको विकल्प हो । सीआईपीएसले आफ्नो सञ्जाल र प्रशोधन क्षमता विस्तार गरेको छ । त्यसले युआन–केन्द्रित भुक्तानी च्यानल प्रदान गर्छ र विश्वव्यापी वित्तमा यस मुद्राको उपयोगिता बढाउँछ ।
यसबाहेक चीनले डिजिटल मुद्रा प्रविधि ई–युआन वा डिजिटल युआनको खोजी गरिरहेको छ । त्यसले सीमापार लेनदेनलाई सहज बनाउन र डलरमा आधारित प्रणालीमाथिको निर्भरता कम गर्न सक्ने बेइजिङको दाबी छ ।
यी रणनीतिक पहलहरूका बावजुद निकट भविष्यमा डलरको पूर्ण प्रतिस्थापनलाई सम्भव नबनाउने महत्त्वपूर्ण संरचनागत सीमितताहरू विद्यमान छन् ।
चीनले पुँजी नियन्त्रण र सीमापार प्रवाहमा प्रतिबन्धहरू कायमै राखेकाले अन्य विश्वव्यापी मुद्राहरूको तुलनामा युआनको पूर्ण विनिमय योग्यता अझै पनि सीमित छ ।
सञ्चित मुद्राको दर्जा पाउन सामान्यतया खुला पुँजी बजार र विदेशी लगानीकर्ताहरूका लागि प्रतिबन्धमुक्त पहुँच आवश्यक हुन्छ । वित्तीय स्थिरता र पुँजी पलायनको चिन्ताका कारण चीनले यी शर्तहरू खुकुलो पार्न सावधानी अपनाएको छ ।
अमेरिकी वित्तीय बजारको गहिराइ र तरलता, विशेषगरी ट्रेजरी सिक्युरिटी (सरकारी ऋणपत्र), ले डलरलाई केन्द्रीय बैंकहरूका लागि असाधारण रूपमा आकर्षक बनाउँछ । अहिले अमेरिकी ट्रेजरीको स्तरमा तरल र सुरक्षित युआन–मूल्यका सम्पत्तिहरूको कुनै तुलनात्मक भण्डार नरहेको सौल इकोनोमिक डेलीमा वू स्युङ–हो लेख्छन् । चीनका सार्वभौम ऋणपत्रहरू पनि अन्तर्राष्ट्रिय स्तरमा व्यापक रूपमा राखिएको वा प्रयोग गरिएको छैन ।
विश्वव्यापी सञ्चित मुद्राहरूले आर्थिक आकारबाट मात्र नभई पारदर्शी कानुनी ढाँचा, लगानीकर्ताको सुरक्षा र अनुमानयोग्य नीतिबाट पनि लाभ उठाउँछन् । विधिको शासन र वित्तीय पारदर्शितामाथिको विश्वासले सञ्चित सम्पत्तिको मागलाई आधार दिन्छ । धेरै विश्वव्यापी लगानीकर्ताहरूले चीनको वित्तीय प्रणालीलाई कम खुला र कम अनुमानयोग्य रूपमा हेर्ने गरेका छन् जसले युआन एसेटप्रतिको आकर्षणलाई सीमित गर्छ ।
चीनको महत्त्वाकांक्षा डलरलाई प्रतिस्थापन गर्ने मात्र नभई रणनीतिक प्रतिरोधी शक्ति निर्माण गर्ने हो भनी कतिपय विश्लेषकहरू बताउँछन् । अमेरिकी प्रभावलाई रातारात पूर्ण रूपमा विस्थापित गर्ने भन्दा पनि सीमित गर्न सक्ने गरी युआनलाई अघि बढाउने चीनको आकांक्षा देखिन्छ । युआनलाई बहुध्रुवीय मौद्रिक प्रणालीमा महत्त्वपूर्ण विकल्प बनाउनु चीनको तत्काल लक्ष्य भएको बताइन्छ ।
विश्वव्यापी मुद्रा गतिशीलताको भविष्य बुझ्नका लागि अन्य प्रमुख उदीयमान शक्तिहरू, विशेषगरी ब्रिक्स प्लस गठबन्धन (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका र थप देशहरू) को भूमिका महत्त्वपूर्ण छ ।
धेरैजसो ब्रिक्स सदस्यहरूले डलरमाथिको निर्भरता कम गर्दै राष्ट्रिय मुद्राहरूमा व्यापार भुक्तानी बढाएका छन् । उदाहरणका लागि, चीन र ब्राजिलबीचको सम्झौताले डलरमा रूपान्तरण नगरी सिधै युआन र रियालमा व्यापार भुक्तानी गर्न सहज बनाएको छ ।
ब्रिक्स प्लस समूहमा स्थानीय मुद्रा लेनदेनको स्तर बढ्दै गएको तथ्यांकले देखाउँछ र ब्रिक्स पे प्लेटफर्मको विकास भइरहेको छ । यो स्विफ्टको उपयोग नगरी सिधै मुद्रा विनिमय गर्न सक्षम बनाउने पहल हो ।
ब्रिक्स देशहरूको विविध राष्ट्रिय स्वार्थ र वित्तीय प्रणालीहरू छन् । युआनलाई एक मात्र सञ्चित मुद्राको रूपमा अपनाउन समूहभित्र कुनै एकीकृत सहमति छैन । त्यसको साटो उनीहरू डलरको प्रयोग घटाउने र बृहत्तर मुद्रा स्वायत्तताको व्यापक लक्ष्य पछ्याउँदैछन् भनी ईबीसी फाइनान्सियल ग्रुपले प्रकाशन गरेको सामग्रीमा उल्लेख गरिएको छ ।
धेरै देशहरू कुनै एकल बाह्य मुद्रामा निर्भर हुनुको साटो आफ्नै मुद्रामा व्यापार भुक्तानी गर्न चाहन्छन् । उदाहरणका लागि, भारतले युआन लगायत कुनै पनि बाह्य मुद्रामाथिको अत्यधिक निर्भरताप्रति सचेत रहँदै द्विपक्षीय व्यापारका लागि भारतीय रुपैयाँको उपयोगमा जोड दिँदै आएको छ । त्यसैगरी, अन्य ब्रिक्स प्लस अर्थतन्त्रहरूले कुनै पनि एकल उदीयमान मुद्रालाई प्रभुत्वशाली स्थान नदिई व्यापार र सञ्चिति विविधीकरणलाई सम्भव बनाउने बहुलवादी वा मिश्रित व्यवस्थालाई प्राथमिकता दिन सक्छन् ।
ब्रिक्सले डलरको निर्भरता कम गर्न त सक्छ तर युआनको प्रभुत्व रहेको एकल ब्रिक्स मुद्रा वा विश्वव्यापी सञ्चितिलाई ब्रिक्सका सदस्य राष्ट्रहरूले स्वीकार नगर्ने र अमेरिकाले त्यसको आर्थिक प्रतिरोध गर्नसक्ने देखिन्छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिक्स प्लसलाई गैरडलरीकरणतर्फ अघि बढेमा चर्को भन्सार शुल्क लगायतका आर्थिक दण्ड दिने चेतावनी दिइसकेको छन् ।
अहिले उपलब्ध सामग्रीहरूको अध्ययन गर्दा युआनले निकट वा मध्यम अवधिमा विश्वको प्रभुत्वशाली सञ्चित मुद्राको रूपमा अमेरिकी डलरलाई विस्थापन गर्ने सम्भावना छैन । विश्वव्यापी सञ्चिति, बजार र वित्तीय पूर्वाधारमा डलरको हिस्सा युआनको तुलनामा अझै पनि अत्यधिक विशाल छ । पुँजी नियन्त्रण, सीमित सम्पत्ति तरलता र संस्थागत विश्वास जस्ता संरचनागत कारकतत्त्वहरूले युआनको द्रुत वृद्धिको विपक्षमा काम गरिरहेका छन् ।
तर, सी चिनपिङको आकांक्षामा आधारहीन भने छैन । युआनले आफ्नो भूमिकालाई उल्लेखनीय रूपमा विस्तार गर्न सक्छ । त्यो थप विविधीकृत बहुध्रुवीय अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीको हिस्सा बन्न सक्छ । यस उदीयमान संरचनामा डलर र युरोसँगै युआन प्रमुख क्षेत्रीय वा रणनीतिक सञ्चिति मुद्रा बन्न सक्छ ।
निकट भविष्यमा विश्वव्यापी वित्त पूर्ण रूपमा कुनै एउटा नयाँ सञ्चित मुद्राको वरिपरि घुम्ने सम्भावना कम छ । अन्तर्राष्ट्रिय कारोबारमा डलरको विस्थापन भन्दा पनि प्रत्येक मुद्राको आफ्नै प्रभावक्षेत्र बन्ने देखिन्छ ।










प्रतिक्रिया