नेपाल वायुसेवा निगमका जहाज नियमित उडान गरिरहेका र कुनै पनि मर्मतमा नगएकोले गत वर्षकाे तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा यात्रु सेवा र आम्दानी दुबै बढेको छ । निगमले यो समयमा ३ लाख ३३ हजार यात्रुलाई देश विदेशका विभिन्न गन्तव्यवमा पुर्याउँदा यसले ८ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ ।

काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी ३८ प्रतिशतले बढेको छ । निगमले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ३ लाख ३३ हजार २३६ यात्रुलाई उडाएर ८ अर्ब ४१ करोड ३ लाख ६ हजार ८३७ रुपैयाँ आम्दानी गरेको छ ।
निगमले चालु आर्थिक वर्षको ६ महिनामा जहाज उडाएरै गरेको करिब साढे ८ अर्ब रुपैयाँको आम्दानी गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको तुलनामा ३८.०९ प्रतिशतले बढी हो ।
निगमले यो आम्दानी जहाज उडाएर मात्रै गरेको हो । यसले अन्तर्राष्ट्रिय उडानका सबै वायुसेवालाई भूमिस्थ (ग्राउण्ड ह्याण्डलिङ सेवा) समेत दिइरहेको छ । यस्तो सेवाबाट गर्ने करिब ५ अर्ब आम्दानी र यसले अरु स्रोताबाट पनि आम्दानी गर्छ ।
निगमले गत वर्षको पुससम्ममा २ लाख ५३ हजार यात्रुलाई उडाएर ६ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३२ करोड रुपैयाँले बढ्दा सबैभन्दा आकर्षक आम्दानीको स्रोत जापानको नारिता उडानमा देखिएको छ ।
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्का अनुसार यो वर्ष निगमका अन्तर्राष्ट्रिय उडानका चारवटै जहाज नियमित उडानमा छन् । गत वर्षको पहिलो ६ महिनामा वाइडबडी जहाज पालैपालो सिचेकमा गएको र लामो समय उडान गर्न नसकेको कारण यात्रुसेवा र आम्दानी घटेको थियो । यो वर्ष पनि वाइडबडीको इन्जिन मर्मतमा जाने भएपनि गत वर्षको जस्तो लामो समय नलाग्ने अनुमान गरिएकोले आम्दानी र यात्रु सेवा दुबै गत वर्षभन्दा बढ्ने बुझाइ पनि वायुसेवा निगमको छ ।
वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि भएका ४ वटा जहाजमध्ये २ वटा न्यारोबडी र २ वटा वाइडबी छन् । वाइडबडीले जापानको नारितासम्म उडान गर्छ ।
निगमका आन्तरिक उडानबाहेक ११ वटा अन्तर्राष्ट्रिय उडान गन्तव्यमा नारिता नै सबैभन्दा बढी आकर्षक गन्तव्य हो । यो गन्तव्यमा निगमले पछिल्लो ६ महिनामा ३५ हजार ७३२ यात्रु उडाएर २ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी निगमका अन्य गन्तव्यको तुलनामा सबैभन्दा बढी हो ।
निगमको यात्रु उडानबाट नारितापछि धेरै कमाउने गन्तव्यको सूचीमा कतारको दोहा पर्छ । यो गन्तव्यमा निगमले साउनदेखि पुससम्मको ६ महिनामा ६७ हजार ८८ यात्रुलाई सेवा दिएर १ अर्ब ७९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।
निगमले संयुक्त अरव इमिरेट्स (यूएई)को दुबाईमा पुससम्ममा ३५ हजार ७३२ यात्रुलाई उडाउँदा १ अर्ब २० करोड रुपैयाँ कमाएको तथ्यांकले देखाएको छ ।
निगमले दिल्लीमा ७१ हजार यात्रु उडाएर ६२ करोड, मलेसियामा २४ हजार यात्रु उडाएर ५५ करोड, बैंककमा १६ हार यात्रु उडाएर ४४ करोड रुपैयाँ कमाएको छ । यस्तै निगमले हङकङमा ९ हजार यात्रु उडाएर ३० करोड, भारतको मुम्मईमा १२ हजार यात्रुलाई सेवा दिँदा १५ करोड रुपैयाँ आम्दानी गरेको छ ।
भारतकै बैंग्लोरमा १६ हजारलाई सेवा दिँदा २१ करोड, साउदी अरेवियाको दमाममा १२ हजारलाई सेवा दिँदा ३५ करोड र चीनको ग्वान्जाओमा ४ हजार यात्रुलाई सेवा दिँदा निगमले ८ करोड ७१ लख रुपैयाँ आम्दानी गरेको पनि निगमले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
निगमले यस अघि २०८०/८१ को पहिलो ६ महिनामा ३ लाख २१ हजार ८६८ यात्रुलाई सेवा दिँदा ८ अर्ब ३ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।











प्रतिक्रिया