वायुसेवा निगमको आम्दानी १ अर्ब ८७ करोडले घट्यो, सिचेक लफडाको असर वासलातमा


वायुसेवा निगम नेतृत्वको असक्षमता र राजनीतिक नेतृत्वको हालीमुहालीका कारण राष्ट्रिय ध्वजाबाहक सुधार हुन सकेको छैन । निगमलाई सुधार गरेर वाह् भन्ने अवस्था बनाउनुभन्दा पनि यसलाई दोहन गरेर लाभ लिन पल्किएका राजनीतिक नेतृत्वदेखि कर्मचारीसम्मको हालीमुहालीले निगम देखाउने संस्था मात्रै बनेको छ भने उत्कृष्टता प्रदर्शनबाट बञ्चित हुँदै गइरहेको छ ।

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आम्दानी १ अर्ब ८७ करोड रुपैयाँले घटेको छ । निगमले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनासम्मको तथ्यांकअनुसार निगमको आम्दानी ६ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ७ अर्ब ९७ करोड रुपैयाँ थियो ।

निगमले गरेको यस्तो आम्दानी अन्तर्राष्ट्रिय उडानका यात्रु तथा कार्गो सेवाबाट मात्रै भएको आम्दानी हो । निगमले आन्तरिक उडानमा भने मासिक अधिकतम २ हजार जनासम्म मात्रै यात्रु उडान गरेकाे छ । यसबाट हुने आम्दानी एक डेढ करोड रुपैयाँमा मात्रै सिमित देखिन्छ ।

पछिल्लो समय निगमको आन्तरिक उडान ठप्प भएको, निगमसँग आन्तरिक उडानमा पर्याप्त जहाज नभएका कारण कुल आम्दानीमा न्यून हिस्सा मात्रै आन्तरिक उडानको छ । निगमले आन्तरिक उडानमा जहाज थप गर्न नसकेको र भएका २ वटा जहाजको पनि पर्याप्त उपयोग गर्न नसकेको कारण हाल यसको आन्तरिक उडान ठप्प छ ।

निगमको सबैभन्दा राम्रो आम्दानीको स्रोत नै अन्तर्राष्ट्रिय उडानबाट हो । अन्तर्राष्ट्रिय उडानमा कमाएको नाफाबाट निगम सञ्चालन हुनेदेखि आन्तरिक उडानमा सहुलियतसम्म दिने गरेको छ ।

आन्तरिक उडान गर्दै आएका जम्मा दुईवटा ट्वीअटर नामक साना जहाजमध्ये एउटा वर्षौंदेखि थन्किएको छ । यी जहाज मर्मतमा निगमले जोडबल गर्न सकेको छैन भने नियमित उडानमा रहेको अर्को एउटा जहाज पनि इन्जिनको आवर सकिएर बन्द भएको छ । निगमले मागेको प्रस्तावबाट नयाँ इन्जिन आउन नसक्दा यसको उडानमा असर गरेको हो ।

निगमले अन्तर्राष्ट्रिय उडान भने पछिल्लो ६ महिनामा २ लाख ५३ हजार यात्रुलाई सेवा दिएको छ । निगमले काठमाडौंबाट बाहिर लाने र भित्र्याएका यी यात्रुसँगै कार्गो उडान गर्दा कमाएको कुल आम्दानी ६ अर्ब रुपैयाँ मात्रै देखएको हो । यस्तो आम्दानी औसतमा मासिक एक अर्ब रुपैयाँ हुन आउँछ ।

तर, निगमले गत वर्षको पहिलो ६ महिनामा ३ लाख २ हजार यात्रुलाई उडाउँदा ७ अर्ब ९७ करोड रुपैयाँ यात्रु तथा कार्गो सेवाबाट आम्दानी गरेको थियो । यस्तो आम्दानी यो वर्ष भने २३ प्रतिशतले घट्न पुगेको छ ।

निगमले यो वर्ष साउनमा ३९ हजार यात्रु बोकेर ९४ करोड, भदौमा २८ हजार यात्रुबाट ६८ करोड, असोजमा ४४ हजार यात्रुबाट १ अर्ब ४२ करोड रुपैयाँ आम्दानी अन्तर्राष्ट्रिय उडानबाट गरेको छ । निगमले कात्तिकमा ४६ हजार यात्रु बोक्दा १ अर्ब ४५ करोड, मंसिरमा ५१ हजार यात्रुलाई सेवा दिँदा १ अर्ब ७३ करोड र पुसमा ४४ हजार यात्रु बोक्दा १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको निगमले सार्वजनिक गरेको पछिल्लो ६ महिनासम्मको तथ्यांकले देखाएको छ ।

निगमले वर्ष भने हरेक महिना ४५ देखि ६० हजारसम्म यात्रु बोक्दा मासिक आम्दानी १ अर्बदेखि डेढ अर्ब रुपैयाँसम्म गरेको थियो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडलका अनुसार यो वर्ष निगमको एकएक वटा वाइडबडी र न्यारोबडी पालैपालो सिचेकका लागि इटली गएको र करीब ३ महिना एउटै जहाज थन्किएको थियो । निगमले दशैं तिहार तथा चाडबाडको मुखमा कमाउने बेलामा जहाज सिचेकसहितको मर्मतमा गएर बसेको कारण उडान हुन नसक्दा यात्रु सेवा र आम्दानी दुबै घट्न पुगेको प्रवक्ता पौडेलले स्वीकार गरे ।

पौडेलले क्लिकमान्डुसँग भने ‘एउटा जहाज ८० दिनमा सिचेकबाट फर्कंदा अर्कोले पनि सोही समय लगाएकोले पछिल्लो ६ महिनामा निगमको चारवटा अन्तर्राष्ट्रिय उडानका जहाजमध्ये पूर्ण क्षमतामा उपयोग नै हुन नपाएकोले आम्दानी घट्नु स्वाभाविक हो ।’

एक महिनालाई मर्मतमा गएको जहाज ८० दिन थन्कनुले ब्यालेन्ससिटमा असर

निगमको एक महिनालाई भनेर पठाएको जहाज पालोपालो ८० दिन भन्दा लामो समय सिचेकका नाममा इटलीमा गएर बस्नुले पनि निगमको ब्यालेन्ससीट बिग्रएको निगमकै प्रवक्ता पौडेलले स्वीकार गरेका छन् । उनका अनुसार आम्दानी घट्नुको प्रमुख कारण नै वायुसेवा निगमले दिने यात्रु सेवामा कमी आउनु हो । निगमले अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा यात्रु सेवा नै ४८ हजार कम भएको छ ।

निगमको जहाज चालु आर्थिक वर्षको ६ महिनामा वाइडबडी पालैपालो सिचेकमा गएको र त्यो बेला अन्तर्राष्ट्रिय उडानका चारवटा जहाजमध्ये सबै सँगै उडान गर्न नपाउँदा यात्रु क्षमता र आम्दानी दुबै घट्न पुगेको निगमका प्रवक्ता पौडेलले बताए ।

उनकाअनुसार जहाज उडाएर लाभ लिनुपर्ने बेला थन्काए राख्नुपरेको कारण गत वर्षकोभन्दा यात्रु सेवा र आम्दानी घट्न पुगेको हो । जसका कारण गत वर्षकाे पुससम्मकाे तुलनामा याे वर्ष उल्लेख्य रुपमा आम्दानी घटेकाे हो ।

निगमको एउटा वाइडबडी सम्पूर्ण मर्मत (सिचेक)को लागि १२ भदौ (अगस्ट २८) मा इटली पठाएको थियो । उक्त जहाज ८३ दिनपछि (३ मंसिर)मा मात्रै काठमाडौं फर्किएको थियो । निगमको ए३३०-२०० सिरिजको ९एन एएलजेड (मकालु) नामक उक्त वाइडबडी जहाज झन्डै तीन महिनासम्म मर्मतमा गएर बसेकोले यसको असर निगमको अर्थवार्षिक ब्यालेन्ससीटमा परेको हो ।

यसअघि निगमको एउटा न्यारोबडी ए३३०-२०० सिरिजको ९एन एएलजेड जहाज पनि २७ कात्तिक (१२ नोभेम्बर)मा मात्रै मर्मतबाट फर्किएको थियो । उक्त जहाज पनि असार ८ मा मर्मतमा गएर ८० दिनपछि मात्रै फर्किएको थियो ।

निगमको जहाज उडाएर लाभ दिनसक्ने न्यारोबडी र वाइडबडी जहाज पालैपालो साढे दुई महिनाभन्दा बढी समय थन्कनुको प्रत्यक्ष असर आम्दानीमा परेको वायुसेवा निगममा परेको हो ।

निगम नेतृत्वले गरेको कमजोरीका कारण एकातिर यात्रुसेवाबाट बञ्चित हुनुपर्यो भने अर्कोतिर आम्दानीसँगै निगमको शाखा पनि घटेको हो । निगमका कर्मचारी नेतृत्वको अक्षमताले जहाज उड्नेभन्दा थन्कने समय बढी भइरहेको बताउँछन् । निगमका एक कर्मचारीको अनुसार अहिलेको नेतृत्व पर्यटनमन्त्रीसँग लपक्कै भएको छ ।

हालका पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डेले पनि निगमभित्रको समस्या समाधान गर्ने, निगमको सुधारमा आवश्यक पहल गर्ने भन्दा पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भनेअनुसार मात्रै काम गर्ने र पद जोगाउन मात्रै काम गर्ने गरेका कारण निगमको शाख विगतका वर्षको तुलनमा घट्दै गएको आरोप पनि ती कर्मचारीको छ ।

निगमले सुधार गर्न नचाहेको र भएकै जहाजलाई पनि पूर्णक्षमतामा उपयोग गर्न नसक्दा ऋणको भारी मात्रै बढेको तर आम्दानीको स्रोत भने खुम्चिदै गएको देखिएको छ ।