लिबियामा गद्दाफीका छोराको कसले लियो ज्यान ?


एजेन्सी । लिबियाका पूर्व राष्ट्रपति मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको जिन्तान शहरस्थित घरमा हत्या भएको छ । उनको राजनीतिक टोलीका प्रमुखले मंगलबार यसबारे जानकारी दिएका हुन् । उनी ५३ वर्षका थिए ।

सैफ अल–इस्लाम गद्दाफीलाई कुनै समय उनका पिताको उत्तराधिकारीका रूपमा हेरिन्थ्यो । उनका पितालाई सन् २०११ को अरब स्प्रिङ आन्दोलनको उत्कर्षमा शासनसत्ता ढलेपछि मृत्युदण्ड दिइएको थियो ।

हालका वर्षमा सैफ अल–इस्लाम लिबियाको राजनीतिमा फर्कने प्रयास गरिरहेका थिए ।

चारजना नकाबधारी आक्रमणकारीहरूले सैफ अल–इस्लाम गद्दाफीको निवासमा प्रवेश गरी सुरक्षा क्यामेराका तारहरू काटेका थिए । उनलाई धोखाधडीपूर्ण र कायरतापूर्ण आक्रमणमा गोली हानी हत्या गरेको उनका राजनीतिक सल्लाहकार अब्दुल्लाह ओथमानले सामाजिक सञ्जालमा प्रकाशित एक विज्ञप्तिमा भनेका छन् ।

लिबियाली अधिकारीहरूले यसबारे कुनै आधिकारिक पुष्टि गरेका छैनन् । मानवताविरुद्धको अपराधको अभियोगमा लामो समयदेखि सैफ अल–इस्लाम गद्दाफीलाई पक्राउ गर्न खोजिरहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट पनि तुरुन्तै कुनै टिप्पणी आएको छैन ।

सन् १९७२ जुन २५ मा लिबियाको राजधानी त्रिपोलीमा जन्मिएका सैफ अल–इस्लाम गद्दाफी मुअम्मर गद्दाफीका दोस्रो छोरा थिए । गद्दाफीले सन् १९६९ देखि २०११ मा सत्ताच्युत र मृत्यु नहुन्जेलसम्म लिबियामा शासन गरेका थिए ।

सन् २०११ फेब्रुअरी २१ मा लिबियाभरि विरोध प्रदर्शन फैलिएपछि सैफ अल–इस्लाम गद्दाफीले टेलिभिजनमार्फत सम्बोधन गर्दै विद्रोह जारी रहे गृहयुद्ध, अराजकता र गरिबी निम्तने चेतावनी दिएका थिए । यस भाषणले उनको सुधारवादी छविलाई पूर्ण रूपमा तोड्यो र उनलाई प्रदर्शनकारीहरूमाथि शासनको हिंसात्मक दमनको पक्षमा सार्वजनिक रूपमा उभ्यायो ।

जुन २०११ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले विद्रोह दबाउने क्रममा गरिएको मानवताविरुद्धको अपराधका लागि सैफ अल–इस्लाम गद्दाफी र उनका पिता दुवैका विरुद्ध पक्राउपुर्जी जारी गरेको थियो ।

त्रिपोलीको पतनपछि सैफ अल–इस्लाम गद्दाफी केही महिनासम्म पक्राउ पर्नबाट जोगिएका थिए । तर, नोभेम्बर २०११ मा पश्चिमी लिबियाको जिन्तान सहरमा एक सशस्त्र विद्रोही समूह (मिलिसिया) द्वारा उनी पक्राउ परे ।

उनी जुन २०१७ सम्म त्यहाँ हिरासतमा रहे । त्यो वर्ष उक्त सशस्त्र समूहले लिबियाको प्रतिनिधिसभाद्वारा पारित विवादित आममाफी कानुनअन्तर्गत उनलाई रिहा गरिएको घोषणा गरेको थियो ।

नोभेम्बर २०२१ मा उनी पुनः राजनीतिक मञ्चमा देखा परे र लिबियाको लामो समयदेखि रोकिएको राष्ट्रपतीय चुनावमा उम्मेदवारका रूपमा दर्ता भए ।

उनको उम्मेदवारीले तीव्र विभाजन ल्यायो । समर्थकहरूले उनलाई स्थिरताको प्रतीकका रूपमा चित्रण गरे भने विरोधीहरूले उनलाई अधिनायकवादी शासन र नसुल्झिएका युद्ध अपराधहरूको सम्झनाका रूपमा भर्त्सना गरे । पछि राजनीतिक गतिरोध र सुरक्षा चिन्ताका कारण चुनाव अनिश्चितकालका लागि स्थगित गरियो ।

आफ्नो मृत्युअघि सैफ अल–इस्लाम गद्दाफीले कुनै दिन राजनीतिक जीवनमा फर्कने आकांक्षा राखेका थिए र हालैका महिनाहरूमा मेलमिलापको प्रस्ताव तयार गर्न थालेका थिए ।

उनी निर्वाचनमा कडा प्रतिस्पर्धीका रूपमा उभिने सम्भावना रहेकाले सफाया गरिएको हुन सक्ने आशंका गरिएको छ ।

मंगलबारको विज्ञप्तिमा सैफ अल–इस्लाम गद्दाफीको टोलीले लिबियाली न्यायपालिका, अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र मानवअधिकार संगठनहरूलाई दोषीहरूको पहिचान र कारबाहीका लागि स्वतन्त्र र पारदर्शी अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।

Skip This