
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा बढेको छ ।
सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दा वाणिज्य बैंकको नाफा समग्रमा बढेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा २७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवको यही अवधिमा वाणिज्य बैंकहरुको नाफा ११.५१ प्रतिशतले बढेर ३० अर्ब ५९ करोड ४० लाख रुपैयाँ पुगेको छ । २० मध्ये ११ वाणिज्य बैंकको नाफामा वृद्धि हुँदा ९ बैंकको नाफा भने घटेको छ ।
निष्क्रिय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्थामा वृद्धि हुँदा पनि वाणिज्य बैंकहरुको नाफा बढेको हो । धेरैजसो बैंकको खुद ब्याज आम्दानीसँगै फि तथा कमिसन आम्दानीमा पनि वृद्धि हुँदा बैंकहरुको नाफा समग्रमा बढेको हो । गत आवको दोस्रो त्रैमाससम्म २४ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएकोमा बैंकहरुले चालु आवको दोस्रो त्रैमासमा २८ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएका छन् । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा १६.५४ प्रतिशतले बढी हो ।
कर्जा नोक्सानी व्यवस्थामा वृद्धि हुँदा पनि नाफा ११.५१ प्रतिशतले बढेको छ । नबिल, ग्लोबल आईएमई, कुमारी, एभरेष्ट, प्राइम कमर्सियल लगायतका बैंकले नाफा बढाउँदा लक्ष्मी सनराइज बैंकले भने नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ।
पुससम्म सबैभन्दा धेरै ४ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको लक्ष्मी सनराइज बैंकले २७ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

गत असार मसान्तमा कर्जा असुलीमा सुधार भई ४.२५ प्रतिशतमा झरेको बैंकको निष्क्रिय कर्जा पुस मसान्तमा आउँदा ५.५० प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निष्क्रिय कर्जा केही घटेको देखिएपनि गत असारको तुलनामा पुसमा आउँदा बढेको छ । बैंकको निष्क्रिय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्थामा ठुलो रकम छुट्याउनु परेको छ । जसले गर्दा बैंकले दोस्रो त्रैमासमा नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढ्दा नबिल, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक लगायतको निष्क्रिय कर्जा भने घटेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा निक्षेपमा लगानी गर्दा कुल निष्क्रिय कर्जा ५ प्रतिशत हुनुपर्ने व्यवस्थालाई बढाएर ८ प्रतिशत पुर्याएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा केही बैंकको निष्क्रिय कर्जा घटेपनि केही बैंकको भने ८ प्रतिशतको नजिक पुगेको छ ।
दोस्रो त्रैमासमा सबैभन्दा धेरै निष्क्रिय कर्जा हिमालयन बैंकको छ । गत आवको दोस्रो त्रैमासमा ४.९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा बढेर चालु आवको दोस्रो त्रैमासमा ७.९६ प्रतिशत पुगेको छ । त्यस्तै प्रभु बैंकको निष्क्रिय कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको हो । एनआईसी एशिया बैंकको पनि निष्क्रिय कर्जा ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ ।
नेपाल एसबिआई बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशतबाट घटेर २.४६ प्रतिशतमा झरेको छ । त्यस्तै सिद्धार्थ बैंकको निष्क्रिय कर्जा १.०५ प्रतिशत बिन्दुले घटेर ३.४५ प्रतिशतमा झरेको हो । नबिल बैंकको निष्क्रिय कर्जा ०.६८ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशतमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ०.६० प्रतिशत बिन्दुले घटेर ४.३६ प्रतिशतमा झरेको छ । त्यस्तै माछापुच्छ्रे बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत बिन्दुले घटेर ४.२५ प्रतिशत हुँदा कृषि विकास बैंकको ०.२५ प्रतिशत बिन्दुले घटेर ४.६५ प्रतिशत र कुमारी बैंकको निष्क्रिय कर्जा ०.०४ प्रतिशत बिन्दुले घटेर ६.९२ प्रतिशतमा झरेको हो ।

निष्क्रिय कर्जा बढेसँगै अधिकांश बैंकको कर्जा नोक्सानी व्यवस्थामा पनि वृद्धि भएको छ । दोस्रो त्रैमासमा लक्ष्मी सनराइजपछि धेरै कर्जा नोक्सानी व्यवस्था गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एशिया बैंक छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ७४.५९ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनआईसी एशिया बैंकको ३.११ प्रतिशतले बढेर २ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
ग्लोबल आईएमई बैंकले कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ८.९१ प्रतिशतले बढेर २ अर्ब ४० करोड १ लाख रुपैयाँ पुग्दा सिटिजन्स बैंकको ३२.२९ प्रतिशतले बढेर १ अर्ब ८३ करोड २८ लाख रुपैयाँ छ । कृषि विकास बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ९०.०२ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनएमबि बैंकको कर्जा नोक्सानी व्यवस्थाको रकम ३५० प्रतिशतले बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ र कुमारी बैंकको भने ५३.९४ प्रतिशतले घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँमा झरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४७ करोड ३८ लाख, प्रभु बैंकले १ अर्ब ४५ करोड ५६ लाख, सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड २६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब १५ करोड ४५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ७ करोड ९० लाख रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ३ करोड ९२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको छ । नबिल बैंकले ४ करोड ८८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेको छ । यस्तै गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ८ लाख रुपैयाँ प्रोभिजन राइटब्याक गरेकोमा चालु आर्थिक वर्षको यही अवधिमा ४.६४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको छ ।
प्रोभिजन फिर्ताले नबिल बैंक नाफामा अगाडि
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले त्रिशूली जलविद्युत आयोजनाको काउन्टर ग्यारेन्टीको रकम चीनमा मुद्दा जितेर ल्याएको थियो । १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिसकेको १ अर्ब रुपैयाँभन्दा बढी रकम आउँदा बैंकले कर्जा नोक्सानी व्यवस्थाबाट करिब ५ करोड रुपैयाँ रिभर्स गरेको छ । जसले गर्दा बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको हो ।

कर्जा नोक्सानी व्यवस्थाको रकम केही बढेपनि ग्लोबल आईएमई बैंकको नाफा ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा सुधारिएको वित्तीय विवरण कुमारी बैंकको देखिएको छ । बैंकको नाफा ८८६.६२ प्रतिशतले बढेर २ अर्ब ७२ करोड १ लाख रुपैयाँ पुगेको छ । यस्तै एभरेष्ट बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यस्तै प्राइम कमर्सियल बैंकको नाफा ९.२७ प्रतिशतले बढेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२.०४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै एनएमबि बैंकको नाफा भने १७.७१ प्रतिशतले घटेर १ अर्ब ६४ करोड ८६ लाखमा झरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३.०५ प्रतिशतले घटेर १ अर्ब ६१ करोड ३० लाख रुपैयाँमा झरेको छ ।
सिद्धार्थ बैंकको नाफा १५०.२३ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ र नेपाल बैंकको नाफा १८३.०६ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
लक्ष्मी सनराइज बैंकले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा एनआईसी एशियाको नाफा १३.५१ प्रतिशतले घटेर १३ करोड १२ लाख रुपैयाँ मात्रै छ । सिटिजन्स बैंकको नाफा ४५.७७ प्रतिशतले घटेको छ । कृषि विकास बैंकको नाफा २६.१२ प्रतिशतले घट्दा प्रभु बैंकको २४.०७ प्रतिशतले घटेको छ । हिमालयन बैंकको नाफा १४.८९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १६.२९ प्रतिशतले घटेको छ । अर्बभन्दा कम नाफा हुनेमा नोक्सानीमा रहेको लक्ष्मी सनराइजसँगै एनआईसी एशिया, सिटिजन्स र कृषि विकास बैंक मात्रै छन् ।
गत भदौ २३ र २४ को जेन जी आन्दोलनपछि केही बैंकको वित्तीय विवरणमा थप दबाब देखिएको छ । प्रथम त्रैमासमा धेरैजसो बैंकहरुले ब्याज उठाउन नसकेकोमा दोस्रो त्रैमासमा भने केही सुधार भएको देखिन्छ । तर, गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरुको ब्याज असुली र निष्क्रिय कर्जामा जुन सुधार देखिएको थियो, त्यस्तो अवस्था भने देखिँदैन । केही बैंकको सम्पत्तिको गुणस्तर थप बिग्रँदै गएको बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणले देखाउँछ ।








प्रतिक्रिया