
एजेन्सी । विश्वव्यापी आर्थिक अनिश्चितताका बीच चीनका राष्ट्रपति सी चिनपिङले बलियो मुद्रा निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले चिनियाँ युआनलाई विश्वव्यापी रिजर्भ मुद्रा बनाउने लक्ष्य राखेको बताएका छन् । सीले युआनलाई अन्तर्राष्ट्रिय व्यापार, लगानी र वैदेशिक मुद्रा बजारमा व्यापक रूपमा उपयोग गरिने आशा व्यक्त गरेका छन् ।
सीले आफ्नो यो भिजन दुई वर्षको एक भाषणमार्फत प्रस्तुत गरेका हुन् । शनिबार सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको अग्रणी सैद्धान्तिक पत्रिका च्युसीमा भाषणको पाठ प्रकाशित भएको थियो ।
चाखलाग्दो कुरा त के छ भने सीले यो भाषण सन् २०२४ मा प्रादेशिक र मन्त्री स्तरका अधिकारीहरूको अगाडि दिएका थिए । त्यसक्रममा उनले चीनलाई विश्वव्यापी वित्तीय शक्ति बनाउने आफ्नो महत्त्वाकांक्षा साझा गरेका थिए ।
राष्ट्रिय लक्ष्यहरूलाई उजागर गर्न सीका पुराना भाषणका अंशहरू प्रायः पुनः प्रकाशित गरिन्छन् । यी अंशहरू विश्वव्यापी आर्थिक अनिश्चितता र अमेरिकी डलरको विश्वसनीयतामाथि उठिरहेका प्रश्नहरूका बीच साझा गरिएका थिए ।
सन् २०२५ मा युआन डलरको तुलनामा बलियो भएको छ । तर, चिनियाँ मुद्रा अझै पनि यसको दीर्घकालीन उचित मूल्यभन्दा तल रहेको अन्तर्राष्ट्रिय लगानी बैंकहरू तर्क गर्छन् ।
चीनका राष्ट्रपतिको भाषणका अंशहरू साताको अन्त्यमा प्रकाशित भएका थिए र उनले वित्तीय शक्ति बन्नका लागि आवश्यक विशेषताहरूको रूपरेखा दिएका थिए । जस्तै, बलियो आर्थिक आधार, विश्वमा अग्रणी आर्थिक र प्राविधिक शक्ति र व्यापक रूपमा उपयोग हुने र विश्वसनीय मुद्रा ।
वित्तीय शक्तिका लागि प्रभावकारी मौद्रिक नीति र म्याक्रोप्रुडेन्सियल व्यवस्थापन लागू गर्न सक्ने केन्द्रीय बैंक, विश्वव्यापी रूपमा प्रतिस्पर्धी वित्तीय संस्था र अन्तर्राष्ट्रिय पुँजी आकर्षित गर्न सक्ने र विश्वव्यापी मूल्य निर्धारणमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय केन्द्रहरू आवश्यक पर्ने आफ्नो भाषणमा सीले थपे ।
उनले यसका लागि स्वस्थ नियमन, मजबुत कानुनी ढाँचाका साथै वित्तीय पेशेवरहरूको स्थिर जनशक्ति हुनुपर्नेमा जोड दिए । चिनियाँ अर्थतन्त्र बैंकिङ सम्पत्ति, वैदेशिक मुद्रा सञ्चिति र पुँजी बजारको आकारका आधारमा विश्वकै ठूलामध्ये पर्ने भए पनि समग्रमा यो ठूलो तर बलियो छैन भनी सीले उल्लेख गरे । तसर्थ, उनले चीनलाई विश्वव्यापी वित्तीय शक्ति बनाउनु एउटा दीर्घकालीन कार्य हुने विश्वास व्यक्त गरे ।
पछिल्लो एक दशक वा सोभन्दा बढी समयदेखि बेइजिङले युआनको अन्तर्राष्ट्रियकरणमा जोड दिँदै आएको छ र चीनको अन्तर्राष्ट्रिय व्यापार भुक्तानीमा यो मुद्राको प्रयोग बढेको छ । तर, देशको व्यापक विश्वव्यापी प्रभाव भने अझै सीमित छ ।
चीनको क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टमले दैनिक औसत करिब ७०० अर्ब युआन बराबरको कारोबार हुने गरेकोमा ध्यान दिनु महत्त्वपूर्ण छ । यो डलरमा आधारित क्लियरिङ हाउस इन्टरबैंक पेमेन्ट सिस्टम’ (चिप्स) मार्फत हुने दैनिक करिब २० खर्ब डलरको तुलनामा निकै कम हो । अन्तर्राष्ट्रिय बजारमा युआनमा आधारित ऋण जारी गर्ने कार्य पनि सीमित छ जसले विश्वव्यापी बजारको मात्र ०.८ प्रतिशत हिस्सा ओगटेको छ ।
यसका बावजुद अमेरिकासँगको व्यापारिक तनावका बीच पनि युआन सामान्यतया स्थिर रहेको छ । यस स्थिरतालाई अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा देखिएको भारी गिरावटको विपरीत मानिएको छ । त्यसबाट बेइजिङले भन्सार शुल्कको प्रभाव कम गर्न कमजोर युआनलाई स्वीकार गरेको भन्ने आशंकालाई बल पुर्याएको थियो ।








प्रतिक्रिया