पानामा नहरमा चिनियाँ कम्पनीले काम गर्न नपाउने, अमेरिका खुशी


एजेन्सी । पानामाको सर्वोच्च अदालतले हङकङस्थित एक कम्पनीलाई पानामा नहरमा कन्टेनर बन्दरगाह सञ्चालन गर्न अनुमति दिने सम्झौताहरू रद्द गरिदिएको छ ।

यो फैसला अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शपथग्रहण भाषणमा एटलान्टिक र प्रशान्त महासागर जोड्ने मुख्य सामुद्रिक मार्ग पानामा नहर चीनले सञ्चालन गरिरहेको दाबी गरेको एक वर्षपछि आएको हो ।

निर्णय सार्वजनिक भएपछि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै खुशी व्यक्त गरेका छन् ।

सीके हचिन्सन होल्डिङले आफ्नो सहायक कम्पनी पानामा पोर्ट्स कम्पनीमार्फत सन् १९९० को दशकदेखि पाँचमध्ये दुईवटा बन्दरगाह सञ्चालन गर्दै आएको थियो । कम्पनीले यसअघि एउटा बृहत् सम्झौता अन्तर्गत ती बन्दरगाहहरूलाई अमेरिकी लगानीकर्ता कम्पनीको नेतृत्वमा रहेको समूहलाई बिक्री गर्न सहमति जनाएको थियो ।

अदालतले ती बन्दरगाह सञ्चालन गर्न दिने कानुनलाई असंंवैधानिक ठहर्याएको छ तर पीपीसीले भने यस फैसलाको कानुनी आधार नभएको बताएको छ ।

ट्रम्पले मध्य अमेरिकी नहर चीनको नियन्त्रणमा रहेको बारम्बार दाबी गर्दै आएका छन् ।

गत जनवरी महिनामा आफ्नो सम्बोधनका क्रममा उनले भने, ‘चीनले पानामा नहर सञ्चालन गरिरहेको छ र हामीले यो चीनलाई दिएका होइनौं । हामीले यो पानामालाई दिएका थियौं र हामी यसलाई फिर्ता लिँदैछौं ।’

त्यसपछिको महिना अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि नहरमा चीनको प्रभाव र नियन्त्रण रहेको भन्दै पानामालाई तुरुन्त परिवर्तन गर्न माग गरेका थिए ।

पानामाले यसअघि अमेरिकी सरकारको दाबीलाई अस्वीकार गरिसकेको छ र राष्ट्रपति होसे राउल मुलिनोले यो नहर आफ्नो देशकै हातमा छ र रहनेछ भनेका छन् ।

चीनले नहरमाथि नियन्त्रण राखेको कुनै सार्वजनिक प्रमाण छैन यद्यपि चिनियाँ कम्पनीहरूको त्यहाँ ठूलो उपस्थिति छ ।

हङकङका अर्बपति ली का–सिङद्वारा स्थापित सीके हचिन्सन चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनी होइन ।

तर, पछिल्ला वर्षहरूमा हङकङमाथि बेइजिङको कडा राजनीतिक नियन्त्रणले गर्दा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । यसका विश्वव्यापी सम्पत्तिहरू (जसमा बन्दरगाह र लजिस्टिक हबहरू समावेश छन्) अहिले चीनको बढ्दो प्रभावको चिन्तासँग जोडेर हेर्ने गरिन्छ ।

विश्वव्यापी व्यापारिक मार्गहरूमा अमेरिका र चीनबीचको प्रतिस्पर्धा र पश्चिमी गोलार्धमा अमेरिकी प्रभुत्व कायम राख्ने ट्रम्प प्रशासनको प्राथमिकताका बीच बिहीबारको यो फैसलालाई वाशिङटनको जितको रूपमा हेरिने सम्भावना छ ।

पानामाको सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा प्रकाशित विज्ञप्तिमा विस्तृत छलफलपछि बाल्बाओ र क्रिस्टोबल बन्दरगाहमा राज्य र पीपीसीबीचको सञ्चालन सम्झौतालाई आधार दिने कानुनहरू असंवैधानिक भएको फेला पारेको जनाएको छ ।

जवाफमा पीपीसीले नयाँ फैसलामा कानुनी आधार नभएको र यसले पीपीसी र यसको सम्झौतालाई मात्र नभई बन्दरगाह गतिविधिमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा निर्भर हजारौं पानामानियाली परिवारहरूको हित र स्थिरतालाई पनि जोखिममा पार्ने बताएको छ ।

कम्पनीले आफ्नो विज्ञप्तिमा सन् १९९७ मा बन्दरगाह सञ्चालन सुरु गरेदेखि पूर्वाधार र प्रविधिमा १.८ अर्ब डलरभन्दा बढी लगानी गरेको थप जानकारी दिएको छ ।

राष्ट्रपति मुलिनोले फैसलाका बावजुद देशका बन्दरगाहहरू विना अवरोध सञ्चालन भइरहने बताए ।

डेनिस शिपिङ कम्पनी मर्स्कको सहायक कम्पनी एपीएम टर्मिनल्स पानामाले अस्थायी रूपमा बाल्बाओ र क्रिस्टोबल साइटहरूको व्यवस्थापन गर्नेछ । कम्पनीले बीबीसीलाई दिएको बयानमा क्षेत्रीय र विश्वव्यापी व्यापारका लागि आवश्यक सेवाहरूमा पर्न सक्ने कुनै पनि जोखिम कम गर्ने लक्ष्य राखेको जनाएको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता क्वो च्याकुनले आफ्नो देशले चिनियाँ कम्पनीहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै कदम चाल्ने बताए । हङकङ सरकारले पनि यस फैसलालाई कडाइका साथ अस्वीकार गरेको छ ।

पानामाको अदालतको यो निर्णयले २२.८ अर्ब डलरको सम्झौता अन्तर्गत विश्वभरका बन्दरगाहहरूमा आफ्नो हिस्सा अमेरिकी लगानीकर्ता कम्पनी ब्ल्याकरक र शिपिङ समूह एमएससीको नेतृत्वमा रहेको कन्सोर्टियमलाई बिक्री गर्ने सीके हचिन्सनको योजनालाई अवरोध पुर्याउन सक्छ ।

यो बिक्रीलाई सीके हचिन्सनले संवेदनशील स्थानहरूमा राजनीतिक जोखिम कम गर्न र मूल्यवान सम्पत्तिहरूबाट पैसा जुटाउने प्रयासका रूपमा हेरिएको थियो । ट्रम्पले यसअघि यी योजनाहरूको स्वागत गर्नुभएको थियो जसले मुख्य सम्पत्तिहरूलाई अमेरिकी स्वामित्वमा ल्याउने थियो जबकि चिनियाँ सरकारले यसको आलोचना गरेको थियो ।

अदालतको निर्णयप्रति बजारले तत्काल प्रतिक्रिया दियो । हङकङको कारोबारमा सीके हचिन्सनको सेयर ४.६ प्रतिशतले घट्यो जसले ह्याङ सेङ इन्डेक्सलाई २ प्रतिशतभन्दा बढीले तल झार्यो । यो बजारमा कम्पनीको महत्त्व र राजनीतिक जोखिमप्रति लगानीकर्ताहरूको बढ्दो चिन्ताको संकेत हो ।

आन्ध्र र प्रशान्त महासागरबीचको छोटो बाटोका रूपमा प्रत्येक वर्ष १४ हजारसम्म जहाजहरूले ८२ किलोमिटर लामो पानामा नहर प्रयोग गर्छन् ।

विश्वव्यापी समुद्री व्यापारको करिब ५ प्रतिशत हिस्सा ओगट्ने यो जलमार्ग पानामा सरकारको एजेन्सी पानामा नहर प्राधिकरणद्वारा सञ्चालन गरिन्छ ।

अक्टोबर २०२३ देखि सेप्टेम्बर २०२४ सम्म नहरबाट पार हुने कार्गोको परिमाणमा २१.४ प्रतिशत हिस्सा चीनको थियो जसले यसलाई अमेरिकापछिको दोस्रो ठूलो प्रयोगकर्ता बनाएको छ ।

Skip This