
काठमाडौं । न्यू वैदेही खाद्य उद्योगले एकै वर्षमा साढे १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब २९ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००९ मा स्थापना भएको यस कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ ।
कम्पनीका अनुसार गत आवमा वस्तुको मूल्य बढ्दा व्यापार बढेको देखिएको हो । कम्पनीले गत आवमा ५.३५ प्रतिशत नाफा कमाएको छ भने सन् २०२४ मा ६.०६ प्रतिशत नाफा कमाएको थियो ।
कम्पनीले धानलाई ग्रेडिङ, सर्टिङ र पोलिसिङ गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग वार्षिक २ लाख ३० हजार ४ सय मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता छ ।
जवेन्द्र साहको लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८५ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७७ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले धान विशेषगरी स्वदेशी किसानहरूबाट खरिद गर्ने गरेको छ । कम्पनीले गत आवमा ७२ प्रतिशत धान स्वदेशी किसानबाट खरिद गरेको थियो भने बाँकी २८ प्रतिशत भारतबाट आयात गरेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया