म्यान्मारमा ठगीधन्दा गर्ने ११ जनालाई चीनले दियो मृत्युदण्ड


एजेन्सी । चीनले कुख्यात मिङ परिवारसँग सम्बन्धित आपराधिक गिरोहका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ ।

उनीहरूले म्यानमारमा माफिया शैलीका ठगी केन्द्रहरू चलाउँथे र भाग्न खोज्ने कामदारहरूको हत्या गर्थे ।

मिङ परिवार उत्तरी म्यानमारका चार परिवार भनिने समूहमध्ये एक थियो । ती आपराधिक गिरोहहरूले इन्टरनेट ठगी, वेश्यावृत्ति र लागूऔषध उत्पादन गर्ने सयौं कम्पाउन्डहरू चलाएको आरोप लगाइएको छ । तिनका सदस्यहरू स्थानीय सरकार र म्यानमारको सत्तारूढ जुन्टासँग आबद्ध मिलिसियामा प्रमुख पदहरूमा थिए ।

मृत्युदण्ड दिइएका ११ जनालाई हत्या, अवैध थुना र ठगी लगायतका अपराधमा दोषी ठहर गरिएपछि सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइएको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।


सिन्ह्वाका अनुसार, दुईजना प्रतिवादीहरूले पुनरावेदन गरेका थिए र यो मुद्दा चीनको सर्वोच्च अदालत (सुप्रिम पिपुल्स कोर्ट) सम्म पुगेको थियो । उक्त अदालतले सुरुको फैसलालाई नै सदर गरेको थियो ।

मिङ जुचाङको नेतृत्वमा रहेको यो आपराधिक परिवार लामो समयदेखि चीन–म्यानमार सिमानामा रहेको स्वायत्त क्षेत्र कोकाङको क्राउचिङ टाइगर भिल्ला भनिने कुख्यात कम्पाउन्डमा कार्यरत थियो । चिनियाँ सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार, आफ्नो चरमोत्कर्षमा यो समूहसँग ठगी र अन्य अपराध गर्नका लागि १० हजार मानिस कार्यरत थिए ।

कोकाङको राजधानी लाउकाङ म्यानमारका कानुनविहीन क्षेत्रहरूमा जरो गाडेको अर्बौं डलरको ठगी उद्योगको केन्द्र थियो, जहाँ बेचबिखन गरिएका कामदारहरूलाई अत्याधुनिक अनलाइन योजनाहरू मार्फत अपरिचित व्यक्तिहरूलाई ठग्न प्रयोग गरिन्थ्यो ।

बेचबिखनमा परेका ठगी केन्द्रका कामदारका आफन्तहरूको वर्षौंदेखिको गुनासो र बढ्दो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासोपछि बेइजिङले सन् २०२३ मा यी कम्पाउन्डहरूमाथि कडा कारबाही सुरु गरेको थियो ।

त्उही वर्षको नोभेम्बरमा चीनले यस परिवारका सदस्यहरूका विरुद्ध ठगी, हत्या र मानव बेचबिखनको आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेको थियो र उनीहरूलाई समात्नका लागि १४ हजारदेखि ७० हजार डलरसम्मको पुरस्कार घोषणा गरेको थियो ।

म्यानमारको राज्य संसद्को सदस्यका रूपमा समेत काम गरिसकेका परिवारका प्रमुख मिङ जुचाङले पछि हिरासतमा छँदै आत्महत्या गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले त्यसबेला रिपोर्ट गरेका थिए ।

जुन्टासँग आबद्ध कोकाङ सीमा सुरक्षा बलका नेता रहेका उनका छोरा मिङ ग्वोपिङ र उनकी नातिनी मिङ झेनझेन मृत्युदण्ड दिइएकाहरूमा परेको सिन्ह्वाले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार, मृत्युदण्ड दिइनुअघि उनीहरूले आफ्ना नजिकका आफन्तहरूसँग भेटेका थिए ।

सिन्ह्वाका अनुसार, मिङ परिवारको गिरोहले अर्को गिरोहका नेता वू होङमिङ (जसलाई पनि मृत्युदण्ड दिइएको छ) सँग मिलेर ठगी केन्द्रका कामदारहरूलाई जानाजानी मार्न, घाइते बनाउन र अवैध रूपमा थुन्न षड्यन्त्र गरेको थियो । त्यसको परिणामस्वरूप १४ चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

अक्टोबर २०२३ को एउटा घटनामा यस समूहका सदस्यहरूले एउटा ठगी कम्पाउन्डमा मानिसहरूमाथि गोली चलाउँदा चारजनाको मृत्यु भएको थियो । सो गोलीकाण्डको रिपोर्टिङ गर्ने क्रममा सीसीटीभीले जनाएअनुसार प्रहरीले छापा मार्ने योजना बनाइरहेको सुइँको पाएपछि यस समूहले सशस्त्र सुरक्षा घेरामा कामदारहरूलाई साइबर ठगी पार्कबाट स्थानान्तरण गरिरहेको थियो ।

अमेरिकी संसदद्वारा स्थापित युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पीसका अनुसार, दक्षिणपूर्वी एसियाका ठगी गिरोहहरूले वर्षमा ४३ अर्ब डलरभन्दा बढी रकम चोरी गर्छन् ।

म्यानमारमा ठगी कम्पाउन्डहरूलाई भ्रष्टाचार र कानुनविहीनताले संरक्षण दिएको छ । लामो समयदेखि देशको सीमाक्षेत्रमा त्यो स्थिति व्याप्त छ । आपराधिक गिरोह र उनीहरूलाई आश्रय दिने सशस्त्र समूहहरूले आफ्नो व्यवसाय विस्तार गर्न झण्डै पाँच वर्षको विनाशकारी गृहयुद्धको पनि फाइदा उठाएका छन् ।

बिहीबार मृत्युदण्डको बारेमा सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले जुवा र ठगीको प्रकोपलाई निर्मूल पार्न प्रयासहरूलाई बेइजिङले तीव्र बनाइरहने बताए ।