एआईका कारण अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने


एजेन्सी । अमेजनले १६ हजार कर्मचारी कटौती गर्दैछ ।

एआई (कृत्रिम बौद्धिकता) को वर्चस्वको लडाइँमा आफ्नो स्थिति सुधार्न संघर्ष गरिरहेको यस कम्पनीको तीन महिनाभित्र यो दोस्रो ठूलो कटौती हो ।

बुधबार एक ब्लग पोस्टमा कम्पनीले निर्णय प्रक्रियाको गति बढाउन प्रशासनिक ढिलासुस्ती (रेड टेप) कम गर्नुपर्ने बताएको छ ।

‘हामीले तहहरू घटाएर, अपनत्व बढाएर र कर्मचारीतन्त्र हटाएर आफ्नो संगठनलाई बलियो बनाउन काम गरिरहेका छौं,’ अमेजनकी जनविभागकी वरिष्ठ उपाध्यक्ष बेथ गालेटीले भनिन् ।

अक्टोबरको अन्त्यतिर अमेजनले १४ हजार कर्पोरेट कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो, जुन सीईओ एन्डी ज्यासीको विश्वकै सबैभन्दा ठूलो स्टार्टअप जस्तै सञ्चालन गर्ने दृष्टिकोण र निर्देशनअनुरूप थियो । उनी कम्पनीलाई चुस्त राख्न चाहन्छन् ताकि एआईले प्रविधि क्षेत्रमा उथलपुथल ल्याइरहँदा कम्पनीले छिटो अनुकूलन र परिवर्तन गर्न सकोस् ।

गालेटीले ब्लग पोस्टमा उल्लेख गरेअनुसार, कटौतीको यो लहर नियमित प्रक्रिया बन्ने छैन, यद्यपि ज्यासीले एआईका कारण अमेजनले कर्मचारीको संख्या घटाउन जारी राख्ने भविष्यवाणी गरेका थिए । यसको साटो, अमेजनले अपनत्व, गति, र ग्राहकहरूका लागि आविष्कार गर्ने क्षमताको मूल्यांकन गरिरहेको छ र उपयुक्तता अनुसार समायोजन गरिरहेको छ, गालेटीले भनिन् ।

यद्यपि, अमेजनले रणनीतिक क्षेत्र र कार्यहरू जुन हाम्रो भविष्यका लागि महत्वपूर्ण छन् त्यस्ता ठाउँहरूमा भने नयाँ भर्ना लिने उनले थपिन् ।

अमेरिकी समान रोजगार अवसर आयोगमा दर्ता गरिएको सन् २०२४ को सर्वेक्षण अनुसार, अमेजनमा ३ लाख ५० हजारभन्दा बढी कर्पोरेट कर्मचारीहरू छन् । त्यसैले दुवैपटकको कटौती मिलाउँदा कम्पनीको कुल अफिस कर्मचारीको करिब ९ प्रतिशत हुन आउँछ ।

कम्पनीमा बुधबारदेखि कर्मचारी कटौती सुरु हुनेछ । अधिकांश कर्मचारीहरूलाई आन्तरिक रूपमा नयाँ भूमिका खोज्नका लागि ९० दिनको समय दिइनेछ जबकि अमेजनमा पुनः नियुक्त नहुनेहरूलाई बिदाइ रकम (सेभेरेन्स पे) र थप सुविधाहरू दिइने कम्पनीले जनाएको छ ।

खबरहरूका अनुसार, कर्मचारी कटौतीको जानकारी मंगलबार राति एक आन्तरिक इमेलमार्फत दिइएको थियो । उक्त मेमो झुक्किएर पठाइएको देखिन्छ किनभने त्यसमा बुधबार बिहानसम्म प्रकाशित नभएको ब्लग पोस्टको सन्दर्भ उल्लेख गरिएको थियो ।

ज्यासीले अमेजनमा एआईको प्रभावबारे खुलेर बोल्दै आएका छन् । सन् २०२५ मा उनले कर्मचारीहरूलाई एउटा ब्लग पोस्ट लेख्दै प्रविधिबाट प्राप्त हुने कार्यदक्षताले कम्पनीलाई आफ्नो कार्यबल घटाउन अनुमति दिने बताएका थिए ।

‘हामीले थप जेनेरेटिभ एआई र एजेन्टहरू ल्याएपछि त्यसले हाम्रो काम गर्ने तरिका परिवर्तन गर्नेछ । आज भइरहेका केही कामहरू गर्न हामीलाई कम मानिस चाहिन्छ र अन्य प्रकारका कामहरू गर्न धेरै मानिस चाहिन्छ,’ उनले स्पष्ट रूपमा स्वीकार गरे ।

ज्यासीले यस मामिलामा अमेजन मात्र एक्लो नभएको बताए । उनले हरेक कम्पनी र क्षेत्रमा अर्बौं एआई एजेन्टहरू सेवामा लगाइने कल्पना गरे ।

‘यीमध्ये धेरै एजेन्टहरू बन्न बाँकी छन्, तर ढुक्क हुनुहोस्, तिनीहरू आउँदैछन् र निकै छिटो आउँदैछन्,’ ज्यासीले भने ।
एआईले ह्वाइट कलर (बौद्धिक/कार्यालय) जागिरहरू खोस्दैछ भन्ने चिन्ताका बावजुद यो व्यापक रूपमा भइरहेको छ भन्ने डर बढाइचढाइ गरिएको भेनगार्डको एक रिपोर्टले देखाएको छ ।

वास्तवमा, एआई अटोमेशनको बढी प्रभाव पर्ने जागिरहरू कोभिड महामारीपूर्वको तुलनामा झन् छिटो बढिरहेको लगानी व्यवस्थापन कम्पनीले हालै जनाएको छ ।

यी निष्कर्षहरूले आफ्नो करियरमा एआईले अवरोध पुर्याउला भनेर चिन्तित कामदारहरूका लागि सबै कुरा ठीक छ भन्ने संकेत भने गर्दैनन् । केही कम्पनीहरूले हालै रिपोर्ट गरेअनुसार उनीहरूले केही पदहरू खारेज गर्दैछन् किनभने एआईले प्रवेश स्तरका कामदारहरूको कार्यलाई स्वचालित गर्न सक्छ वा वर्तमान कामदारहरूलाई थप दक्ष बनाउन सक्छ ।

यद्यपि, कम्तीमा अहिलेसम्म यो प्रविधिले व्यापक क्षति पुर्याइरहेको कुनै प्रमाण छैन ।