
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्व प्रथम महिला किम केओन हीलाई राजनीतिक लाभको बदलामा युनिफिकेसन चर्चका पदाधिकारीहरूबाट शनेलका झोला र हीराको पेन्डेन्ट स्वीकार गरेकोमा दोषी ठहर गर्दै एक वर्ष आठ महिनाको जेल सजाय सुनाएको छ ।
अदालतले सन् २०२५ मा पदच्युत भएका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किमलाई सेयर मूल्यमा चलखेल गरेको र राजनीतिक चन्दा ऐन उल्लंघन गरेको आरोपमा भने सफाइ दिएको छ ।
सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, अभियोजनकर्ताहरूले निर्दोष ठहर गर्ने अन्य दुईवटा फैसलाहरूका विरुद्ध पुनरावेदन गर्नेछन् ।
पूर्व प्रथम महिलाले पनि यस फैसलाको पुनरावेदन गर्न सक्छिन् । यो फैसला सन् २०२४ मा युनले छोटो समयका लागि लगाएको सैनिक शासन र यो शक्तिशाली जोडी संलग्न रहेका अन्य काण्डहरूको अनुसन्धानपछिका शृंखलाबद्ध मुद्दाहरूका बीचमा आएको हो ।
प्रथम महिलाको पदमा राज्यका मामिलाहरूमा संलग्न हुने कुनै औपचारिक शक्ति नहुने भए पनि उनी देशको प्रतिनिधित्व गर्ने एक प्रतीकात्मक व्यक्तित्व भएको तीन सदस्यीय इजलासका मुख्य न्यायाधीशले भने ।
‘यस्तो पदमा रहेको व्यक्ति सधैं आदर्श पात्र नहुन सक्छ तर ती व्यक्ति जनताका लागि नराम्रो उदाहरण बन्नु हुँदैन,’ उनले फैसलामा भने ।
अदालतले उनलाई १ करोड २८ लाख वोन जरिवाना तिर्न र हीराको हार जफत गर्न आदेश दिएको छ । विशेष अभियोजकको नेतृत्वमा रहेको टोलीले अनुसन्धान गरिरहँदा किम अगस्टदेखि नै हिरासतमा छिन् ।
अदालतले किमलाई सेयर मूल्यमा चलखेल गरेको र राजनीतिक चन्दा ऐन उल्लंघन गरेको आरोपबाट सफाइ दिएको छ ।
किमले सबै आरोपहरू अस्वीकार गरेकी थिइन् । उनका वकिलले टोलीले फैसलाको समीक्षा गर्ने र घूसखोरीको कसुरविरुद्ध पुनरावेदन गर्ने वा नगर्ने निर्णय गर्ने बताए ।
गाढा रंगको सुट र मास्क लगाएकी किमलाई सुरक्षाकर्मीहरूले सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको इजलासमा लगेका थिए र फैसला सुनाउँदा उनी शान्त भएर बसेकी थिइन् ।
अदालत परिसर बाहिर अत्यधिक चिसोको सामना गरिरहेका युन र किमका समर्थकहरूले दुईवटा आरोपमा सफाइ पाएको फैसला सुनाइएपछि खुसी मनाए ।
युनिफिकेसन चर्चले ती उपहारहरू कुनै अपेक्षा बिना नै दिइएको जनाएको छ । यसका नेता हान हक–जा, जो आफैं पनि मुद्दा खेपिरहेकी छिन्, ले किमलाई घूस दिन निर्देशन दिएको कुरा अस्वीकार गरेकी छन् ।
सन् २०२२ मा उनका पति राष्ट्रपति निर्वाचित हुनुअघि नै किमको शैक्षिक योग्यता र सेयर मूल्यमा चलखेलमा उनको संलग्नताको आशंकालाई लिएर उनीमाथि कडा सार्वजनिक निगरानी बढिरहेको थियो ।
एक राजनीतिक दलाल र झाँक्री भनिने होली वाइनवाली व्यक्तिसँगको प्रथम महिलाको सम्बन्धले पनि सार्वजनिक आलोचना खेप्नुपरेको छ । त्यसमा ती दुईले पूर्व राष्ट्रपति दम्पतीलाई अनुचित प्रभाव पारेको हुनसक्ने आशंका गरिएको थियो ।
गत अप्रिलमा सत्ताबाट हटाइएका युनले डिसेम्बर २०२४ मा मार्शल ल (सैनिक शासन) लगाउने असफल प्रयास गरेपछि विद्रोह लगायतका आरोपमा आठवटा मुद्दाको सामना गरिरहेका छन् ।
मार्शल ल को घोषणापछि आफूलाई पक्राउ गर्ने प्रयासमा अवरोध पुर्याएकोमा यसै महिना उनलाई सुनाइएको पाँच वर्षको जेल सजायविरुद्ध उनले पुनरावेदन गरेका छन् ।
यसै महिनाको अर्को एउटा मुद्दामा अभियोजकहरूले विद्रोहको मुख्य योजनाकार भएको आरोपमा युनका लागि मृत्युदण्डको माग गरेका छन् । अदालतले यस मुद्दामा फेब्रुअरी १९ मा फैसला सुनाउनेछ ।
युनले मार्शल ल घोषणा गर्नु राष्ट्रपतिको रूपमा आफ्नो अधिकारभित्रको कुरा भएको र यो कदम विपक्षी दलहरूद्वारा सरकारलाई पुर्याइएको अवरोधप्रति सचेत गराउने उद्देश्यले चालिएको तर्क गरेका छन् ।
अभियोजनकर्ताहरूले उनीमाथि लागेका सबै आरोपहरूमा १५ वर्षको जेल सजाय र २.९ अर्ब वोन जरिवानाको माग गरेका थिए।








प्रतिक्रिया