
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका कर्मचारी र केही ट्राफिक प्रहरीहरूमाथि छापा मार्दै मोबाइल फोनहरू जफत गरेको छ।
अख्तियारले यातायात व्यवस्था कार्यालय चाबहिलका नवौं तहका कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीबाट २५ थान मोबाइल फोन नियन्त्रणमा लिएको हो।
यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जना ट्राफिक प्रहरीको मोबाइल फोन पनि जफत गरिएको छ।
त्यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाबाट ९ थान मोबाइल फोन बरामद गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले लिखित परीक्षा दिई अनुत्तीर्ण भएको मितिले तोकिएको तीन महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिकासमेत नियन्त्रणमा लिएको छ।
चाबहिलस्थित यातायात कार्यालयका प्रमुखसहित कर्मचारी, ट्राफिक प्रहरी र सम्बन्धित व्यक्तिहरूको मिलेमतोमा ५ हजारदेखि १० हजार रुपैयाँ असुली गरी लाइसेन्सको लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराइएको आशंकापछि अख्तियारले अनुसन्धानका क्रममा मोबाइल फोनहरू जफत गरेको हो।








प्रतिक्रिया