सवा तीन अर्बको टेरामक्सको मुद्दामा विशेषले के गर्यो आदेश ?


काठमाडौं । पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहितका १६ जना मुछिएको एक भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्य आदेश जारी गरेको छ । दूरसञ्चार प्राधिकरणले ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा हालेको मुद्दामा मगलबार अन्य आदेश जारी भएको हो ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको थियो। सुनुवाइ सकिएसँगै आदेश विस्तृत विवरण विशेष अदालतले तयार गर्दै गरेको जानकारी दिएको छ ।

टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समिति र कर्मचारी १६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दाका प्रतिवादीमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, तत्कालीन निर्देशक विजयकुमार राय छन । प्राधिकरणकै उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोट र अच्युतानन्द मिश्र पनि प्रतिवादि छन्।

प्राधिकरणका निर्देशकहरू सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र सन्दीप अधिकारी, परामर्शदाता कम्पनी भ्यानराइज सोल्युसन्सका सीईओ जमल अनोन्ती, सोही कम्पनीका स्थानीय एजेन्ट कनेक्सन ट्रेड प्रालि काठमाडौं तथा त्यसका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेल पनि प्रतिवादी छन्।

अख्तियारले उनीहरूसँग ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरेको छ। आयोगका अनुसार टेरामक्स प्रणाली खरिदका क्रममा योग्यता नपुग्ने प्रस्तावदातालाई मिल्ने गरी गलत प्रतिवेदन तयार पारिएको सर्वोच्च अदालतको आदेशअनुसारको कानुनी व्यवस्था पालना नगरिएको र त्यसबाट राज्यको सम्पत्तिमा गम्भीर हानीनोक्सानी पुर्‍याइएको अभियोग लगाइएको छ।