भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध ६ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आफ्नो पदीय मर्यादा विपरीत कार्य गरी स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगको अनुसन्धानका क्रममा इन्जिनियर आचार्यले सेवा प्रवेश गरेको मिति २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको अवधिमा उनको कुल वैधानिक आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ १८ पैसा मात्र देखिएको छ। तर, सोही अवधिमा उनको कुल व्यय (खर्च तथा लगानी) भने १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ १२ पैसा भेटिएको छ ।

आचार्यको कुल वैधानिक आयभन्दा खर्च र लगानी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बढी देखिएको र उक्त रकमको स्रोत नखुलेकाले सोही रकमलाई बिगो कायम गरी मुद्दा चलाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

अनुसन्धानका क्रममा आचार्यले अवैध रूपमा आर्जन गरेको रकमबाट श्रीमती लिली सुवेदीको नाममा जग्गा र अन्य सम्पत्तिहरू खरिद गरेको पाइएको छ । अख्तियारले अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमती सुवेदीलाई पनि प्रतिवादी बनाएको छ।

आचार्यले सार्वजनिक सेवामा रहँदा पदीय दुरुपयोग गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र उनले पेश गरेको सम्पत्ति विवरण वास्तविक अवस्थाभन्दा भिन्न रहेको आयोगको ठहर छ ।

आचार्यले जाँच अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, छोराछोरीको शैक्षिक खर्च, विभिन्न फर्म तथा कम्पनीहरूमा लगानी र बीमा शुल्क भुक्तानीमा ठूलो रकम खर्च गरेको देखिएको छ। आयोगले उनको पारिश्रमिक, भत्ता, जग्गा बिक्री र विभिन्न बचतको विश्लेषण गर्दा खर्च र लगानीसँग मेल नखाएको जनाएको छ ।

अख्तियारले आचार्यलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५, २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय र बिगो असुल गर्न माग गरेको छ। साथै, गैरकानुनी रूपमा आर्जन गरी श्रीमतीको नाममा राखिएको सम्पत्ति समेत जफत गर्न मागदाबी गरिएको छ।