
काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो चारवटा सवारी साधन एकआपसमा ठोक्किएर भीषण दुर्घटना भएको छ ।
केशरमहल र जमलतर्फ वारपार गरिरहेका दुई वटा भ्यान र दुई वटा दुई पांग्रे सवारी साधन आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा केशरमहलबाट जमलतर्फ जाँदै गरेको कुरियर भ्यान, विपरित दिशाबाट आउँदै गरेको ५३८१ नम्बरको स्कुल भ्यान, बागमती प्रदेश ३९६७ नम्बरको विद्युतीय स्कुटर र बा.३५ प ९१४४ नम्बरको मोटरसाइकल परेका छन् ।
दुर्घटनाका क्रममा बा.३५ प ९१४४ नम्बरको मोटरसाइकलमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
दुर्घटनामा परी घाइते भएका ४ जना मध्ये एक जना महिलालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ भने अन्य ३ जनाको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया