गुजरा नगरपालिकाकी उपमेयरमाथि हातपात, गाडी तोडफोड


रौतहट । रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामाले आफूमाथि हातपात भएको आरोप लगाएकी छन् ।

नगरपालिका परिसरमै आफूमाथि हातपात हुनाका साथ उनी सवार गाडी (प्रदेश २–०३–००१ झ ००२१) तोडफोड भएको छ । उपमेयर लामाले मेयर सन्तलाल चौधरीको इसारामा वडा नम्बर १ का महिलाहरू र मेयरका आफन्तले आफूमाथि आक्रमण गरेको आरोप लगाएकी छन् ।

वडा नम्बर १ मा सहकारीमार्फत हुने मलखाद्य वितरणका लागि नयाँ डिलर दर्ता गर्ने विषयमा भएको विवादका कारण यो घटना भएको बताइएको छ ।

लामाले कानुनअनुसार मात्र काम गर्न निर्देशन दिएपछि मेयर पक्ष आक्रोशित भएको उनको दाबी छ ।

यता मेयर चौधरीले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै समयमा मल नपाउँदा किसानहरू आक्रोशित भएको र उपमेयर संयमित नहुँदा स्थिति बिग्रिएको बताएका छन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान गरिरहेको छ भने उपमेयर लामाले दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दिने तयारी गरेकी छन् ।