यूएईमा युनिभर्सिटी डिग्री भन्दै ठगी, सिटी हबविरुद्ध सीआईबीमा उजुरी


सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने बहानामा एक शैक्षिक परामर्शदाताले लाखौं रुपैयाँ ठगी गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको छ ।

काठमाडौंको डिल्लीबजारस्थित ‘सिटी हब एजुकेशन नेटवर्क प्रालि’ का सञ्चालक सुवास सिलवाल क्षेत्रीले भ्रममा पारेर १५ लाख रुपैयाँ ठगी गरेको र विद्यार्थीको भविष्य अन्योलमा पारेको भन्दै पीडितका बुवा राजु भण्डारी क्षेत्रीले जाहेरी दर्ता गराएका हुन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीया रोजा भण्डारी क्षेत्री स्नातक तहको अध्ययनका लागि उपयुक्त देशको खोजीमा रहँदा सामाजिक सञ्जालमा उक्त कन्सल्टेन्सीको आकर्षक विज्ञापन देखेपछि सम्पर्कमा पुगेकी थिइन् ।

कन्सल्टेन्सीका सञ्चालक सिलवालले युएईको शारजाहस्थित ‘नेस्ट एकेडेमी अफ म्यानेजमेन्ट एजुकेशन’ मा ‘एटीएचई डिप्लोमा इन बिजनेस एन्ड म्यानेजमेन्ट’ अध्ययन गर्दा भविष्यमा बेलायत, अष्ट्रेलिया र अमेरिकामा सजिलै क्रेडिट ट्रान्सफर हुने र अध्ययनकै क्रममा कलेजले आकर्षक रोजगारीको व्यवस्था गरिदिने लोभ देखाएका थिए ।

कन्सल्टेन्सीले उक्त कलेज युएई सरकारबाट पूर्ण मान्यता प्राप्त रहेको र त्यहाँको शिक्षा विश्वस्तरीय रहेको भन्दै पीडित परिवारलाई पूर्ण विश्वासमा पारेको जाहेरीमा उल्लेख छ ।

सञ्चालकको प्रलोभनमा परी पीडित परिवारले कलेज शुल्क बापत ५ हजार ७ सय ४५ अमेरिकी डलर नेशनल बैंक अफ रास अल खेमाको खातामा स्विफ्टमार्फत पठाएका थिए । त्यसका अतिरिक्त कन्सल्टेन्सी सेवा शुल्क बापत ५० हजार र हवाई टिकटको ५० हजार बुझाइएको थियो । प्रक्रिया पूरा भएपछि गत २०८० कात्तिक २१ मा रोजा युएई प्रस्थान गरेकी थिइन् । तर, युएई पुगेपछि मात्रै कन्सल्टेन्सीले देखाएको सपना र वास्तविकतामा आकाश-जमिनको फरक पाइयो ।

युएई पुगेपछि पीडित विद्यार्थीलाई कन्सल्टेन्सीले प्रतिवद्धता गरे अनुसारको सुरक्षित होस्टेलको साटो एउटा साँघुरो ‘बेडस्पेस’ मा बस्न बाध्य पारिएको थियो । विज्ञापनमा देखाइए जस्तो कलेजको कुनै व्यवस्थित भौतिक पूर्वाधार र शैक्षिक वातावरण नभएको मात्र होइन, कलेजले कुनै पनि रोजगारी उपलब्ध नगराएको र विद्यार्थी भिसामा काम गर्न प्रतिबन्ध भएकाले रोजा गम्भीर आर्थिक र मानसिक संकटमा परिन् ।

उक्त कलेज युएईको उच्च शिक्षा मन्त्रालय अन्तर्गतको ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’ (सीएए) बाट मान्यता प्राप्त नभएको तथ्य फेला परेको उजुरीमा उल्लेख गरिएको छ ।

युएईको ‘नलेज एण्ड ह्युमन डेभलपमेन्ट अथोरिटी’ (केएचडीए) को वेबसाइटमा उक्त संस्था केवल एउटा तालिम केन्द्रको रूपमा मात्र दर्ता रहेको तर उच्च शिक्षाका लागि अनुमति नभएको पाइएको छ ।

कन्सल्टेन्सीले तालिम केन्द्रलाई उच्च शिक्षा प्रदायक संस्था भन्दै झुक्याएर भर्ना गराएको र नक्कली डिग्रीको प्रलोभन देखाएको पाइएको हो ।

सञ्चार माध्यमहरूमा युएईमा नक्कली शिक्षण संस्थाहरूमार्फत नेपाली विद्यार्थीहरू ठगिएको समाचार सार्वजनिक भएपछि परिवारले आफूहरू योजनाबद्ध ठगीमा परेको यकिन गरेका हुन् ।

कलेज शुल्क, कन्सल्टेन्सी शुल्क, हवाई टिकट र युएईमा हालसम्मको कष्टकर बसोबास खर्च समेत गरी कुल १५ लाख रुपैयाँ प्रत्यक्ष आर्थिक क्षति भएको भन्दै बुवा राजु भण्डारीले माघ ११ गते सीआईबीमा जाहेरी दिएका हुन् । जाहेरीमा अभियुक्त सुवास सिलवाल क्षेत्रीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र ठगी गरिएको रकम क्षतिपूर्ति सहित भराउन माग गरिएको छ ।

हजारौं ठगिए

युएई पुगेका हजारौं नेपाली विद्यार्थी शैक्षिक ठगीमा परेको हुन् । नेपालका झण्डै डेढ दर्जन शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) हरूले ठूला विश्वविद्यालयको प्रलोभन देखाएर युएईको ‘फ्री जोन’ मा रहेका सामान्य तालिम केन्द्रहरूमा पठाउँदा विद्यार्थीहरूको अर्बौं रुपैयाँ जोखिममा परेको हो ।

कन्सल्टेन्सीहरूले सामाजिक सञ्जालमा आकर्षक विज्ञापन गर्दै युएईमा सस्तोमा उच्च शिक्षा र अध्ययनकै क्रममा आकर्षक रोजगारी पाइने दाबी गर्छन् । विद्यार्थीलाई बेलायत वा अमेरिकाका कलेजहरूको सम्बन्धन प्राप्त भएको र भविष्यमा ती देशमा सहजै ‘क्रेडिट ट्रान्सफर’ हुने आश्वासन दिइन्छ । तर, युएई पुगेपछि विद्यार्थीहरूले विश्वविद्यालय भनिएका संस्थाहरू केवल ‘फ्री जोन’ मा भाडाका केही कोठाहरूमा सञ्चालित सामान्य तालिम केन्द्र मात्र भएको पाउँछन् ।

युएईको नियम अनुसार यस्ता तालिम केन्द्रहरूले उच्च शिक्षाको डिग्री प्रदान गर्ने अधिकार राख्दैनन् । १० देखि २० लाख रुपैयाँसम्म खर्चेर पुगेका विद्यार्थीहरूले पढाइको अन्त्यमा कुनै आधिकारिक प्रमाणपत्र नपाएपछि मात्र आफू ठगिएको थाहा पाउने गरेका छन् ।

यस विषयमा उजुरी परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर छानबिन गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालय र पीडित विद्यार्थीको उजुरीका आधारमा ती शंकास्पद संस्थाहरूका लागि वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्का गर्ने र ठगीमा संलग्न कन्सल्टेन्सी र व्यक्तिहरूमाथि कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको छ ।

१८ कन्सल्टेन्सी निगरानीमा

पीडित विद्यार्थीहरूले दिएको सूचना र मन्त्रालयको प्रारम्भिक अध्ययन अनुसार ठगी मा १८ वटा कन्सल्टेन्सीहरू सक्रिय देखिएका छन् । जसमा सिटी हब एजुकेसन नेटवर्क, अक्सब्रिज इन्टरनेसनल, प्रो एभिएसन, एजुपोर्ट, शिव ह्युम, मेरिट्स इन्टरनेसनल लगायतका संस्थाहरू रहेका छन् । यी कन्सल्टेन्सीहरूले युएईका ‘ब्रिटिस युनिभर्सिटी कलेज’ र ‘सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिज’ जस्ता संस्थाहरूमा विद्यार्थी पठाउने गरेका छन्, जो केवल तालिम केन्द्रका रूपमा मात्र दर्ता छन् ।

युएईमा हाल अलपत्र परेका विद्यार्थीहरूमध्ये कतिपय भिसा नवीकरणका नाममा थप ठगिने गरेका छन् भने कतिपय गुजाराका लागि न्यून ज्यालामा क्याफेटेरिया वा अन्य सामान्य काम गर्न बाध्य छन् ।