
एजेन्सी । मंगलबार स्विजरल्याण्डमा भइरहेको विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) मा सहभागी हुन गइरहेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको विमान उडान गरेको केही समयमै अमेरिका फर्कन बाध्य भएको छ ।
सामान्य विद्युतीय समस्या भएकाले विमान फर्किएको ह्वाइट हाउसले जनाएको छ ।
चालकदलले समस्या पहिचान गरेपछि एयर फोर्स वानलाई मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा फिर्ता पठाइएको थियो । राष्ट्रपतिसँगै यात्रा गरिरहेका पत्रकारहरूलाई ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिइन् ।
राष्ट्रपति र उनीसँगै रहेका अन्य व्यक्तिहरू अर्को विमानमा चढेर स्विटजरल्यान्डको यात्रा पुनः सुरु गर्ने अपेक्षा गरिएको लेभिटले बताइन् । ह्वाइट हाउसले पछि दिएको जानकारी अनुसार, एयर फोर्स वान राति ११ः०७ बजे एन्ड्रुजमा अवतरण गरेको थियो ।
प्रेस सचिवले कतारबाट एयर फोर्स वानको रूपमा प्रयोग गर्न विमान स्वीकार गर्ने ट्रम्पको सम्झौताको बारेमा ठट्टा गर्दै विद्युतीय समस्यालाई मध्यनजर गर्दा नयाँ जेट धेरै राम्रो सुनिएको पत्रकारहरूलाई बताइन् ।
यस प्राविधिक समस्याले गर्दा स्विटजरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चमा बुधबारका लागि तय गरिएको ट्रम्पको बहुप्रतीक्षित सम्बोधन ढिलो हुने सम्भावना छ । ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने दबाबमूलक अभियान चलाएपछि युरोपेली सहयोगी राष्ट्रहरूसँगको सम्बन्ध चिसिएको बेला यो सम्बोधन हुन लागेको हो ।








प्रतिक्रिया