अमेरिकाले पक्राउ गर्दा निकोलस मदुरोले लगाएको टय्राकसुट अनलाइन शपिङमा हारालुछ बिक्री


एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिएको केही घण्टाभित्रै तस्बिर सार्वजनिक हुँदा सबैको ध्यान उनले लगाएको कपडामा केन्द्रित भयो ।

व्यापक रूपमा साझा गरिएका पहिलो तस्बिरमा मदुरो खैरो रङको नाइकी टय्राकसुटमा देखिएका थिए । इन्टरनेटमा यो तस्बिर तुरुन्तै भाइरल भयो ।

सरकारहरूले प्रतिक्रिया दिइरहँदा र विश्लेषकहरूले बहस गरिरहँदा सामाजिक सञ्जाल भने मदुरोको पोशाकमा केन्द्रित भयो । र त्यसको केही समयपछि नै अनलाइन शपिङमा त्यो ट्रयाकसुट सबै बिक्री भएर सकियो ।

मदुरोको तस्बिर सार्वजनिक भएलगत्तै नाइकी टेक फ्लिसको खोज इन्टरनेटमा ह्वात्तै बढ्यो । स्क्रिनसटहरू विभिन्न प्लेटफर्ममा फैलिए । अनलाइन बिक्रेताहरूसँग स्टक नै बाँकी रहेन । जुन कुरा एउटा सानो जानकारी मात्र हुनुपर्ने थियो, त्यो मुख्य समाचार बन्यो । एउटै तस्बिरले कुराकानीको विषयलाई भूराजनीतिबाट फेशनतर्फ मोडिदियो ।

रिपोर्टहरूका अनुसार, मदुरोलाई बिहान सबेरै सुतिरहेको अवस्थामा छापा मारेर नियन्त्रणमा लिइएको थियो । सुरुमा उनलाई सत्दाखेरी लगाउने लुगामा देखियो । तर, बाहिर आएको तस्बिरमा उनलाई नियन्त्रणमा लिइएको र एउटा सफा खैरो ट्रयाकसुट लगाएको अवस्थामा देखियो ।

नाइकी कम्पनीले ट्रय्राकसुटको प्रवर्धनका लागि केही पनि गरेको थिएन । तैपनि, यो ब्रान्ड चर्चाको केन्द्रमा आयो । बिक्री आफैं भयो । मिमहरूले यसलाई बढावा दिए । जोकहरूले विज्ञापनको काम गरे । र मानिसहरूको उत्सुकताले बाँकी काम पूरा गरिदियो ।

यसमा एउटा व्यंग्य पनि थियो । मदुरोले आफ्नो छवि अमेरिकाविरोधी र पश्चिमी पुँजीवाद विरुद्धको लडाइँमा बनाएका थिए । तर, उनको पक्राउलाई परिभाषित गर्ने तस्बिरमा उनी विश्वप्रसिद्ध अमेरिकी खेलकुद ब्रान्डको लुगामा देखिए । आलोचकहरूका लागि यो प्रतीकात्मक अर्थ प्रस्ट थियो । अरूका लागि भने यो चर्चा गर्न लायक एउटा अनौठो कुरा मात्र थियो ।

फेशनले सधैं राजनीतिक छविलाई आकार दिएको छ । त्यो ट्रयाकसूट एउटा यस्तो माध्यम बन्यो जसले कुनै भाषण वा वक्तव्यले भन्दा छिटो त्यस क्षणको व्याख्या गरिदियो ।

पक्राउप्रति आधिकारिक प्रतिक्रियाहरू आउँदै गर्दा मदुरोको ट्रयाकसुटको चर्चा उत्कर्षमा पुगिसकेको थियो । स्क्रिनसटहरू फैलिसकेका थिए । स्टक सकिइसकेको थियो । र चर्चाको चक्र अगाडि बढिसकेको थियो ।

लुगा कहिल्यै पनि मुख्य कुरा थिएन । हाम्रो प्रतिक्रिया मुख्य थियो । समाचारको भीडभाड भएको संसारमा मानिसहरूले त्यस्ता कुरा समात्छन् जुन मानवीय र सरल लाग्छन् । ट्रयाकसुटले त्यही काम गर्छ । यसले होहल्लालाई चिरेर अगाडि बढ्छ । यसले शक्तिलाई सामान्य स्वरूपमा बदलिदिन्छ ।