
काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालमा रहेको विवाद पुनः सतहमा आएको छ । यसअघि गत भदौमा विशेष साधारणसभा बोलाउँदा सतहमा आएको विवाद हाल पुनः ४९ औं वार्षिक साधारणसभा बोलाएसँगै बल्झिएको हो । केही दिन अघि मात्रै नाडाले पुस ९ गते गर्नेगरी आफ्नो ४९ औँ वार्षिक साधारणसभा बोलाएको थियो ।
तर, नाडालाई महासंघमा रुपान्तरण गर्ने प्रस्ताव पेश गर्ने गरी साधारणसभाको मिति तय गरिएपछि असन्तुष्ट पक्ष जिल्ला प्रशासन काठमाडौं पुग्यो । त्यससँगै हाल नाडाले गर्ने भनेको साधारण सभा फेरि अन्यौलमा परेको छ ।
‘साधारण सभाको लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धि कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडालाई नै महासंघमा लैजाने भनि गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धि कार्य नगर्नु÷नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई पत्र लेख्दै भनेको छ ।

नाडाको असन्तुष्ट पक्षले साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन नगरी साधारणसभा बोलाएको र महासंघमा लैजाने निर्णय पनि अवैधानिक भएको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए । यसअघि महासंघमा परिणत गर्ने गरी नाडाले बोलाएको विषेश साधारणसभा पनि जिल्ला प्रशासन काठमाडौंको पत्रपछि रोकिएको थियो ।
नाडामा महत्वपूर्ण निर्णय गर्नु अगाडि एजेन्डा राख्नुपर्नेमा एजेन्डा नै नराखी महासंघमा रुपान्तरण हुने निर्णय गरिएको र प्रक्रिया वैधानिक नभएको भन्दै गत भदौमा बोलाइएको विशेष साधारणसभा रोक्न निवर्तमान अध्यक्षसहित ९ कार्यसमिति सदस्य प्रशासन कार्यालय पुगेका थिए ।
सो समयमा निवर्तमान अध्यक्ष ध्रुब थापासहित वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकार श्रेष्ठ, कार्यसमितित सदस्यहरु सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदिपमान प्रधान, सोहन श्रेष्ठ र सौरभ थापाले अध्यक्ष करण चौधरीले गैरकानूनी तरिकाले साधारणसभा बोलाएको र संस्थालाई ‘प्रालि’ जसरी चलाएको आरोप लगएका थिए ।










प्रतिक्रिया