इलोन मस्कको स्टारलिंक भूउपग्रहलाई ध्वस्त पार्न रुसले हतियार बनाएको दाबी


एजेन्सी । रुसले अमेरिकी अर्बपति इलोन मस्कको स्टारलिंक भूउपग्रह समूहलाई लक्षित गरी विनाशकारी श्रापनेल (टुक्राहरू) को कक्षीय बादलहरू प्रयोग गर्ने नयाँ भूउपग्रहनिरोधी हतियार विकास गरिरहेको पश्चिमी सैन्य गठबन्धन नेटोका दुई सदस्य राष्ट्रका गुप्तचर निकायहरूले आशंका गरेका छन् ।

युक्रेनलाई युद्धको मैदानमा मद्दत गरिरहेको पश्चिमी अन्तरिक्ष वर्चस्वलाई रोक्नु त्यसको उद्देश्य भएको उनीहरूको भनाइ छ ।

दी एसोसिएटेड प्रेसले प्राप्त गरेका गुप्तचर रिपोर्टहरूका अनुसार, जोन–इफेक्ट भनिने यस हतियारले स्टारलिंकको कक्षमा लाखौंको संख्यामा उच्च घनत्व भएका साना गोलाहरू (पेलेट्स) भर्ने प्रयास गर्नेछ । त्यसले सम्भावित रूपमा एकैपटक धेरैवटा भूउपग्रहहरूलाई निष्क्रिय पार्न सक्छ । तर, यसले अन्य कक्षीय प्रणालीहरूमा पनि विनाशकारी क्षति पुर्याउने जोखिम निम्त्याउँछ ।

यस्तो हतियारले रुस र उसको सहयोगी चीन लगायत सञ्चार, रक्षा र अन्य महत्त्वपूर्ण आवश्यकताका लागि हजारौं कक्षीय भूउपग्रहहरूमा निर्भर रहने कम्पनी र देशहरूका लागि अन्तरिक्षमा अनियन्त्रित अराजकता नमच्चाई काम गर्न सक्छ भन्नेमा ती रिपोर्टहरू नहेरेका विश्लेषकहरूले शंका व्यक्त गरेका छन् ।

आफ्नै अन्तरिक्ष प्रणालीहरूमा आउन सक्ने जोखिम लगायत यस्ता गम्भीर परिणामहरूले मस्कोलाई त्यस्तो हतियार तैनाथ गर्न वा प्रयोग गर्नबाट रोक्न सक्ने विश्लेषकहरूले बताएका छन् ।

‘म यसलाई पत्याउदिनँ । साँच्चै, मलाई यो पत्यार लाग्दैन,’ कोलोराडोस्थित गैरसरकारी संस्था सिक्योर वर्ल्ड फाउन्डेशनमा एन्टी–स्याटेलाइट प्रणालीको वार्षिक अध्ययनको नेतृत्व गर्ने अन्तरिक्ष सुरक्षाविद् भिक्टोरिया सामसनले भनिन्, ‘साँच्चै भन्नुपर्दा उनीहरूले त्यस्तो केही गरे भने म धेरै अचम्ममा पर्नेछु ।’

तर, क्यानडेली सेनाको स्पेस डिभिजनका कमान्डर ब्रिगेडियर जनरल क्रिस्टोफर हर्नरले रुसले अन्तरिक्षमा आधारित अन्धाधुन्ध आणविक हतियारको खोजी गरिरहेको भन्ने अमेरिकाको अघिल्लो आरोपलाई ध्यानमा राख्दै रुसको यस्तो कामलाई नकार्न नसकिने बताएका छन् ।

उनले भने, ‘मलाई त्यस प्रकारको प्रणालीको बारेमा जानकारी दिइएको छ भन्न त सक्दिनँ । तर, यो असम्भव भने छैन । आणविक हतियार प्रणाली सम्बन्धी रिपोर्टहरू सही छन् र उनीहरू त्यो विकास गर्न एवं त्यही बाटोमा जान तयार छन् भने त्यसभन्दा थोरै कम तर उत्तिकै हानिकारक केही कुरा उनीहरूको विकासको दायराभित्र हुनु मेरा लागि अचम्मको कुरा हुनेछैन ।’

रुस सरकार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले टिप्पणी माग्दा पठाइएका सन्देशहरूको जवाफ दिएनन् ।

रुसले यसअघि अन्तरिक्षमा हतियार तैनाथ गर्न रोक्नका लागि संयुक्त राष्ट्रसंघको प्रयासको आह्वान गरेको छ र राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको आणविक अन्तरिक्ष हतियार तैनाथ गर्ने कुनै मनसाय नरहेको बताएका छन् ।

संलग्न निकायहरूको पहिचान नखुलाउने सर्तमा एपीलाई यी गुप्तचर रिपोर्टहरू देखाइएको थियो र समाचार संस्थाले ती निष्कर्षहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

अमेरिकी स्पेस फोर्सले इमेल गरिएका प्रश्नहरूको जवाफ दिएन । फ्रान्सेली सेनाको स्पेस कमान्डले एपीलाई दिएको एक विज्ञप्तिमा यसबारे टिप्पणी गर्न नसकिने बताए तापनि ‘हामी तपाईंलाई यो जानकारी दिन सक्छौं कि रुसले हालैका वर्षहरूमा अन्तरिक्षमा गैरजिम्मेवार, खतरनाक र शत्रुतापूर्ण कार्यहरू बढाउँदै लगेको छ’ भनेको छ ।

रुसले विशेषगरी स्टारलिंकलाई गम्भीर खतराको रूपमा हेरेको रिपोर्टहरूले देखाउँछन् । रुसको पूर्ण स्तरको आक्रमणविरुद्ध युक्रेनको अस्तित्वका लागि हजारौं लो–अर्बिट (तल्लो कक्ष) का भूउपग्रहहरू महत्त्वपूर्ण साबित भएका छन् जुन आक्रमण अहिले चौथो वर्षमा प्रवेश गरेको छ ।

स्टारलिंकको उच्च गतिको इन्टरनेट सेवा युक्रेनी सेनाले युद्धको मैदानमा सञ्चार, हतियारको लक्ष्य निर्धारण र अन्य भूमिकाका लागि प्रयोग गरिरहेका छन् भने रुसी आक्रमणले सञ्चार प्रभावित भएका क्षेत्रका सर्वसाधारण र सरकारी अधिकारीहरूले पनि यसको प्रयोग गरिरहेका छन् ।

रुसी अधिकारीहरूले युक्रेनी सेनालाई सेवा दिने व्यावसायिक भूउपग्रहहरू वैध लक्ष्य हुन सक्ने भन्दै बारम्बार चेतावनी दिँदै आएका छन् । यसै महिना रुसले जमिनमा आधारित नयाँ मिसाइल प्रणाली एस–५०० तैनाथ गरेको बताएको छ जुन तल्लो कक्षका लक्ष्यहरूमा प्रहार गर्न सक्षम छ ।

सन् २०२१ मा रुसले शीतयुद्धकालीन एउटा काम नलाग्ने भूउपग्रह नष्ट गर्न परीक्षण गरेको मिसाइलको विपरीत अहिले विकास भइरहेको नयाँ हतियारले एकैसाथ धेरै स्टारलिंकहरूलाई लक्षित गर्नेछ । साना भूउपग्रहहरूको नयाँ समूहबाट साना गोलाहरू छोडिने सम्भावना रहेको गुप्तचर रिपोर्टहरूले बताएका छन् ।

क्यानडाका हर्नरले साना गोलाहरूको बादल स्टारलिंकलाई मात्र प्रहार गर्ने गरी कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा बुझ्न गाह्रो भएको र त्यस्तो आक्रमणबाट निस्कने फोहोर छिट्टै नियन्त्रण बाहिर जानसक्ने बताए ।

‘तपार्इंले साना छर्राहरूले भरिएको बक्स विस्फोट गराउनुभयो भने,’ उनले भने, ‘त्यसो गर्दा यसले सम्पूर्ण कक्षीय क्षेत्रलाई घेर्नेछ र प्रत्येक स्टारलिंक भूउपग्रहका साथै त्यही क्षेत्रमा रहेका अन्य सबै भूउपग्रहहरूलाई नष्ट गर्नेछ । यो पक्ष अत्यन्तै चिन्ताजनक रहेको मलाई लाग्छ ।’

एपीले देखेका रिपोर्टहरूमा रुसले कहिलेसम्ममा यस्तो प्रणाली तैनाथ गर्न सक्षम हुन सक्छ भन्ने कुरा उल्लेख गरिएको छैन । यसको परीक्षण भयो वा भएन वा अनुसन्धान कति अगाडि बढ्यो भन्ने विवरण पनि दिइएको छैन ।

रिपोर्टहरू र एपीले नदेखेका अन्य सम्बन्धित गुप्तचर जानकारीहरूबारे जानकार एक अधिकारीका अनुसार, यो प्रणाली सक्रिय रूपमा विकासको क्रममा छ र यसको सम्भावित तैनाथीको समयबारे जानकारी साझा गर्न निकै संवेदनशील छ । ती अधिकारीले सार्वजनिक नभएका रिपोर्टहरूबारे छलफल गर्नका लागि नाम नखुलाउने सर्तमा कुरा गरेका थिए ।

रुसको यस्तो अनुसन्धान प्रयोगात्मक मात्र हुन सक्ने सामसनले बताइन् । उनले भनिन्, ‘केही वैज्ञानिकहरूले यस्तो कुरा बनाउन सक्छन् भन्नेमा मलाई शंका छैन… किनभने यो एउटा चाखलाग्दो विचार प्रयोग हो र उनीहरूलाई लाग्न सक्छ कि सायद कुनै समयमा हामीले यसका लागि सरकारबाट पैसा पाउन सक्छौं ।’

सामसनले यो नयाँ रुसी खतराको कुरा अन्तर्राष्ट्रिय प्रतिक्रिया उत्पन्न गर्ने प्रयास पनि हुन सक्ने सुझाव दिइन् । उनले भनिन्, ‘धेरैजसो यस्ता विचारहरूलाई अगाडि सार्ने मानिसहरूले अमेरिकाले पनि त्यस्तै केही बनाओस् भन्ने चाहना राखेका हुन्छन् वा… काउन्टर–स्पेस क्षमताहरूमा बढी खर्च गर्न वा रुसप्रति अझ कडा दृष्टिकोण अपनाउन यसलाई आधार बनाउन खोज्छन् ।’

‘म यो मामिलामा पनि यही भइरहेको भनिरहेकी छैन,’ सामसनले थपिन्, ‘तर, मानिसहरूले यस्ता पागल जस्ता लाग्ने तर्कहरू लिएर प्रयोग गर्ने गरेको कुरा जगजाहेर छ ।’

गुप्तचर रिपोर्टहरूका अनुसार ती गोलाहरू केही मिलिमिटर मात्र साना हुनेछन् । तिनीहरू अन्तरिक्षका वस्तुहरू स्क्यान गर्ने जमिन र अन्तरिक्षमा आधारित प्रणालीहरूको नजरबाट बच्नेछन् । त्यसले गर्दा कुनै पनि आक्रमणका लागि मस्कोलाई दोषी ठहर्याउन गाह्रो हुन सक्छ ।

वाशिङटन डीसीस्थित सुरक्षा र नीति थिंकट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजमा अन्तरिक्ष सुरक्षा र हतियारका विशेषज्ञ क्लेटन स्वोपले ‘ती गोलाहरू ट्य्राक गर्न सकिएन भने त्यसले कुरालाई जटिल बनाउँछ’ भने । तर, मानिसहरूले यसलाई पत्ता लगाएरै छाड्ने उनको भनाइ छ । उनले भने, ‘भूउपग्रहहरू क्षति भएर काम गर्न छाड्न थाले भने अनुमान लगाउन गाह्रो हुने छैन ।’

ती साना गोलाहरूले ठ्याक्कै कति विनाश गर्न सक्छन् भन्ने कुरा स्पष्ट छैन । नोभेम्बर महिनामा एउटा सानो फोहोरको टुक्रा चिनियाँ अन्तरिक्ष यानलाई क्षति पुर्याउन पर्याप्त थियो । त्यसले तीनजना अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा फिर्ता ल्याउन लागेको थियो ।

‘धेरैजसो क्षति सम्भवतः सोलार प्यानलहरूमा हुनेछ किनभने ती भूउपग्रहका सबैभन्दा कमजोर भाग हुन्,’ स्वोपले भने, ‘तर, भूउपग्रहलाई क्षति पुर्याउन र सम्भवतः यसलाई अफलाइन (निष्क्रिय) बनाउन त्यति नै पर्याप्त हुनेछ ।’

त्यस्तो आक्रमणपछि समयसँगै ती गोला र फोहोरका टुक्राहरू पृथ्वीतिर खस्नेछन् । तल झर्ने क्रममा अन्य कक्षीय प्रणालीहरूलाई क्षति पुर्याउन सक्ने विश्लेषकहरू बताउँछन् ।

स्टारलिंकको कक्ष पृथ्वीबाट करिब ५५० किलोमिटर माथि छ । चीनको थ्याँगोङ अन्तरिक्ष स्टेशन र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अझ तल्लो कक्षमा सञ्चालित छन् । त्यसैले दुवैले जोखिमको सामना गर्नुपने स्वोप बताउँछन् ।

त्यस्तो हतियारले उत्पन्न गर्न सक्ने अन्तरिक्ष अराजकताले मस्कोलाई वास्तवमै यसको प्रयोग नगरीकनै आफ्ना विरोधीहरूलाई धम्की दिन सक्षम बनाउन सक्ने स्वोपले बताए । उनले भने, ‘यो निश्चित रूपमा डरको हतियार जस्तो लाग्छ जसले कुनै प्रकारको अवरोध वा त्यस्तै केही खोजिरहेको छ ।’

सामसनले यस्तो अन्धाधुन्ध आक्रमण गर्ने पेलेट–हतियारका बेफाइदाहरूले रुसलाई त्यस्तो बाटो नहिँड्न प्रेरित गर्न सक्ने बताइन् । उनले भनिन्, ‘उनीहरूले एक अन्तरिक्ष शक्ति बन्नका लागि ठूलो समय, पैसा र जनशक्ति लगानी गरेका छन् । त्यस्तो हतियार प्रयोग गर्दा उनीहरूका लागि पनि अन्तरिक्ष प्रभावकारी रूपमा बन्द हुनेछ । उनीहरू त्यति धेरै कुरा त्याग्न तयार हुनेछन् जस्तो मलाई लाग्दैन ।’