दीपेन्द्रको ठगीधन्धा: फर्जी कारोबार गर्न मिति नै नभएको साढे ३ अर्बको चेक कोल्याटरल प्रयोग

1.1k
Shares

काठमाडौं । सेयर बजारमा झुटो कारोबार गरी मूल्य प्रभावित गरेको अभियोगमा पक्राउ परेका दीपेन्द्र अग्रवालले मिति नै उल्लेख नभएको ३ अर्ब ५० करोड रूपैयाँको चेक ‘कोल्याटरलमा’ प्रदान गरेको पाइएको छ।

नेपाल धितोपत्र बोर्डको अनुसन्धानले तयार पारेको ‘दीपेन्द्र अग्रवालले धितोपत्र बजारलाई प्रभावित पारे/नपारेको सम्बन्धी प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८२’ का अनुसार उनले पटकपटक गरी मिति नभएको र चेक नम्बर स्पष्ट नभएका ३ अर्ब ५० करोड रूपैयाँको चेक ब्रोकरलाई दिएको र ब्रोकरले पनि सोही चेकका आधारमा कारोबार लिमिट दिएको खुलेको हो ।

सेयर मूल्य घटबढ गराउन र झुटो विवरण देखाउन १५ जना लगानीकर्ताको नामबाट आफैं कारोबार गर्ने गरेका अग्रवालले ज्योति अग्रवाललको नामबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको मिति नभएको चेक प्रदान गरेको भेटिएको हो । ज्योति दीपेन्द्रकी दिदी हुन् ।

‘ज्योति अग्रवालले सेयर कारोबार गर्न दिने गरेको खरिद आदेश तथा कारोबार रकमको आधारमा निजले कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हातेमालो फाइनान्सियल सर्भिसेस प्रालिले निजलाई के कसरी कारोबार सीमा दिएको छ भनी एकीन गर्न बोर्डको अध्ययन समितिले हेरेको थियो ।

सो क्रममा सन् २०२५ मार्च ११ मा हातेमालो फाइनान्सियल सिर्भिसेससँग ज्योति अग्रवाललाई कारोबार सीमा प्रदान गर्दा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम लिनुपर्ने अग्रीम रकमको प्रमाण माग गर्दा ज्योति अग्रवालले खिचेको विवरणको ३ अर्ब ५० करोडको मिति उल्लेख नगरेको चेक प्रदान गरेको भेटिएको छ ।

अग्रवालले ग्लोबल आईएमई बैंक लिमिटेडको खाता नम्बर ०१५०७०१०००३६१७ को चेक नम्बर ००८०४३७६२९, ००८०४३७६२८ र ००८०४३७६२६ बाट मिति नभएको तीन ८०/८० करोडको चेक प्रदान गरेका थिए । साथै, सोही खाताको ००८०४३७६२७ नम्बरको मिति नभएको चेकबाट अग्रवालले ३० करोड प्रदान गरेको अध्ययन रिपोर्टमा उल्लेख छ ।

यसका अलावा अग्रवालले, सोही खाताको चेक नम्बर स्पष्ट उल्लेख नभएको एक चेकबाट ८० करोड प्रदान गरेका थिए । ‘यसरी धितोपत्र दलाल व्यवसायी हातेमालो फाइनान्सियल सर्भिसेस प्रालिले ज्योति अग्रवाललाई कारोबार सीमा दिदा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम लिनुपर्ने अग्रीम रकम नलिई केवल मिति उल्लेख नभएको चेकको आधारमा कारोबार सीमा दिएको देखिन्छ,’ बोर्डले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘यहि ढंगमा झुठो कारोबार गर्ने वातावरण प्रदान गरेको देखिन्छ ।’

दीपेन्द्र अग्रवालले उजुरीमा उल्लेखितमा प्रस्तुत गरिएका व्यक्तिहरुलाई धितोपत्र दलाल व्यवसायी सिप्ला सेक्युरिटिज (प्रा)लिले दिनुपर्ने र लिनुपर्ने रकम धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को विनियम १६ बमोजिम लिनुपर्ने रकम नलिएको, सोही विनियमावलीको विनियम १७ बमोजिम दिनुपर्ने रकम नदिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

धितोपत्र दलाल व्यवसायीहरु सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सिर्भिसेसले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २६ को उपनियम (३) बमोजिम ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले ऐन, ऐन अन्तर्गत बनेको नियम र जारी गरिएको निर्देशन तथा धितोपत्र बजारको बिनियममा व्यवस्था भए बमोजिम धितोपत्र कारोवार गर्नु पर्नेछ’ भन्ने व्यवस्था विपरित कारोवार गरेको देखिएको बोर्डको निष्कर्ष छ ।