ट्रम्पले गरे पाँचवटा मुलुकहरूको सी५ समूह बनाउने प्रस्ताव

371
Shares

एजेन्सी । अमरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संसारका पाँचवटा शक्तिशाली मुलुकहरू समेटिएको सी५ समूह बनाउने प्रस्ताव गरेको डिफेन्स वान नामक समाचार वेबसाइटले जनाएको छ ।

केही महिनाअघि ट्रम्पले धनी मुलुकहरूको समूह जी८ बाट रुसलाई निष्काशन गरी जी७ बनाउनु ठूलो भूल भएको बताउँदै चर्चा बटुलेका थिए । उनले चीनलाई पनि समावेश गरेर जी९ बनाउनुपर्ने सुझाव समेत दिएका थिए ।

डिफेन्स वानका अनुसार, गत साता सार्वजनिक भएको ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिको लामो संस्करण पनि छ ।

त्यसमा प्रमुख शक्तिराष्ट्रहरूको एउटा नयाँ निकाय खडा गर्ने प्रस्ताव गरिएको छ । जी७ को जस्तो सदस्य राष्ट्रहरू धनी र लोकतान्त्रिक शासन प्रणाली भएको हुनुपर्ने बाध्यात्मक मापदण्डहरूबाट यो नयाँ समूह मुक्त हुनेछ ।

सुरक्षा रणनीतिले अमेरिका, चीन, रुस, भारत र जापान सम्मिलित कोर ५ वा सी५ को प्रस्ताव गरेको छ । यी १० करोडभन्दा बढी जनसंख्या भएका देशहरू हुन् ।

जी७ ले जस्तै यसले पनि विशिष्ट विषयवस्तुहरूमा केन्द्रित रहेर नियमित शिखर सम्मेलनहरू गर्नेछ ।

मध्यपूर्वको सुरक्षा र विशेष गरी इजरायल र साउदी अरबबीचको सम्बन्ध सामान्यीकरण गर्नु सी५ को प्रस्तावित एजेन्डाको पहिलो विषय रहेको छ ।