हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकको दाबी, ईश्वरको अस्तित्व गणितले प्रमाणित गर्छ

791
Shares

एजेन्सी । एउटा गणितीय सूत्र ईश्वरको अस्तित्वको अन्तिम प्रमाण हुन सक्ने अमेरिकाको हार्वर्ड विश्वविद्यालयका एस्ट्रोफिजिसिस्ट (खगोल भौतिकशास्त्री) डा विली सुनले दाबी गरेका छन् ।

टकर कार्लसन नेटवर्कमा उपस्थित हुँदै यी प्रसिद्ध वैज्ञानिकले ब्रह्माण्डका रहस्यहरू ताराहरूमा मात्र नभई गणितकै संरचनाभित्र लेखिएको हुन सक्ने बताए ।

डा सुनको सिद्धान्तको केन्द्रमा फाइन–ट्युनिङ तर्क रहेको छ । त्यसको अर्थ, ब्रह्माण्डका भौतिक नियमहरू जीवनलाई सघाउन सन्तुलन मिलाएर बसेका छन् र यो संयोग मात्र हुन सक्दैन ।

क्याम्ब्रिज विश्वविद्यालयका गणितज्ञ पल डिराकले सबैभन्दा पहिले प्रस्ताव गरेको यस सूत्रले केही कस्मिक कन्स्ट्यान्टहरू (ब्रह्माण्डका स्थिरांकहरू) कसरी आश्चर्यजनक सटीकताका साथ मिलेका छन् भन्ने कुरालाई उजागर गर्छ । यो यस्तो घटना हो जसले दशकौंदेखि वैज्ञानिकहरूलाई अलमलमा पारेको छ ।

डा सुनले सन् १९६३ मा डिराकले भनेका शब्दहरूलाई दोहोर्याए । ब्रह्माण्डका भौतिक नियमहरूको पूर्ण सन्तुलन कुनै उच्च बौद्धिकताको काम मात्र हुन सक्ने डिराकले अनुमान गरेका थिए । ‘भगवान् धेरै उच्च कोटीका गणितज्ञ हुन् भनी परिस्थितिलाई व्याख्या गर्न सकिन्छ,’ डिराकले लेखेका थिए । यही भावनालाई डा सुनले जोशका साथ पुनर्जीवित गरेका हुन् ।

इतिहास हेर्दा धेरै वैज्ञानिकहरू विज्ञानलाई धर्मसँग जोड्न हिचकिचाउने भए पनि गणित र ब्रह्माण्डबीचको तालमेलले नियोजित डिजाइनतर्फ संकेत गरेको सुन तर्क गर्छन् । ‘भगवानले हामीलाई यो प्रकाश दिनुभएको छ ताकि हामी त्यस प्रकाशलाई पछ्याउन सकौं र सकेसम्म राम्रो गर्न सकौं,’ उनले भने ।

उनले ब्रह्माण्डलाई सञ्चालन गर्ने समीकरणहरू नै ईश्वरीय सृष्टिकर्ताको औंलाका छापहरू हुन सक्ने सुझाव दिए ।

स्वाभाविक रूपमा यस दाबीले वैज्ञानिक र धार्मिक दुवै क्षेत्रमा तातो बहस सिर्जना गरेको छ । फाइन–ट्युनिङ तर्कमा अझै ठोस प्रमाणको अभाव रहेको आलोचकहरू तर्क गर्छन् । आस्तिकहरूले डा सुनको सिद्धान्तलाई विज्ञान र आध्यात्मिकताबीचको दुर्लभ मिलनविन्दुका रूपमा स्वागत गरेका छन् ।

डा सुनको सूत्र आस्था र विज्ञानबीचको लामो समयदेखि खोजी गरिएको पुल बन्छ वा बन्दैन भन्ने कुरा हेर्न बाँकी नै छ । तर, एउटा कुरा स्पष्ट छ । ब्रह्माण्डबारे उत्तरहरूको अनन्त खोजीमा गणितले नै ईश्वरीय रहस्य खोल्ने साँचो बोकेको हुन सक्छ ।

त्यसोभए के भगवान् अंकहरूमा लुकिरहनुभएको छ ? वा ब्रह्माण्ड केवल एक लौकिक संयोग मात्र हो ? यो बहस चलिरहनेछ ।