एआर पहाडीका कारण रोकियो वायुसेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रिया

1.2k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक (कार्यकारी) नियुक्ति प्रक्रिया निगमकै पूर्वकर्मचारी अच्युतराज(एआर) पहाडीले रोकेका छन् ।

पहाडीले आफूले पनि आवेदन दिन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनका कारण निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया रोकिएको हो ।

युवराज अधिकारीको कार्यकाल कात्तिक ८ गतेबाट सकिएपछि निगम नेतृत्वविहीन भएको छ । निगममा सरकारले अध्यक्ष वा महाप्रबन्धक कार्यकारी नियुक्त गर्ने व्यवस्था छ । सोही अनुसार निगममा महाप्रवन्धक नियुक्त गर्न २७ कात्तिकमा पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वको एक समितिले निगममा महाप्रबन्धक नियुक्त गर्न आवदेन माग गरेको छ । निगममा महाप्रबन्धक हुन १६ जनाले आवेदन दिएका छन् ।

आवदेन दिएका १६ जनाकै निवेदनलाई पर्यटन मन्त्रालयमा सिलबन्दी गरेर राखिएको छ । निगमको महाप्रबन्धक छनोट समितिका एक सदस्य कुलबहादुर लिम्बुका अनुसार मुद्दा परेकोले केही गर्न नमिल्ने भएको छ । अदालतमा मुद्दा परेको विषयको टुंगो नलागेसम्म प्रक्रिया अगाडि बढाउन नमिल्ने भएकोले सिलबन्दी गरेर राखिएको लिम्बुले क्लिकमान्डुलाई बताए ।

निगमका पूर्वकर्मचारी पहाडीले मंसिर ७ मा सर्वाेच्च अदालतमा महाप्रबन्धक छनोट समितिले बनाएको कार्यविधिले विज्ञलाई उमेरहद लगाएर रोकेको भन्दै रिट निवेदन दिएका छन् । उनको रिटमाथि मंसिर ९ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासबाट भएको प्रारम्भिक सुनुवाइबाटै १५ दिनको समय दिएर दुबै पक्षलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

अन्तरिम आदेशका विषयमा मंसिर १४ मा तोकिएको पेसीमा पालो आएन । अदालतले पर्यटन मन्त्रालयलाई कारण देखाऊ आदेश जारी गरेकोले पनि निगमका महाप्रबन्धकको मुद्दामा अवको पेसीसम्म पर्खनुपर्ने हुन्छ ।

नेपाल वायुसेवा निगमका पूर्वकर्मचारी अच्चुतराज पहाडीले पर्यटन सचिव हरिप्रसाद मैनाली नेतृत्वको वायुसेवा निगममा महाप्रबन्धक छनोट गर्न बनेको समितिले वायुसेवा निगम ऐन २०१९ विपरीत कार्यविधि बनाएर विज्ञलाई छेक्ने गरी उमेरहद राखेको भन्दै रिट हालेका हुन् ।

पहाडीले निगमको कार्यकारी प्रमुख नियुक्त गर्दा विज्ञ व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा ३० वर्षे व्यक्तिले आवेदन दिनुपर्ने र ६५ वर्ष ननाघेको भनेर सीमा तोकिदिएको भन्दै यसलाई खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

वायुसेवा निगमका महाप्रबन्धक छनोट समितिले कात्तिक २७ मा १५ दिनको समय दिएर माग गरेको दरखास्तमा ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । यो व्यवस्था वायुसेवा निगम ऐन २०१९ तथा यस अघि वायुसेवा निगमको संरचनागत सुधारसम्बन्धी कुलबहादुर लिम्बु नेतृत्वको एक समितिले दिएको प्रतिवेदन विपरीत भएको दाबी गरिएको छ ।

लिम्बुको प्रतिवेदनले निगमको संरचनागत सुधार गर्न कार्यकारी प्रमुख लागि योग्यता तथा अनुभव तोक्दा उमेरहद ४० वर्ष ननाघेको राख्न र माथिल्लो सीमाको बारेमा उल्लेख नगरी सुझाव दिएको थियो । निगम ऐनले पनि कार्यकारी प्रमुख नियुक्तिको लागि कुनै उमेरहद नतोकेको दाबी रिट निवेदन पहाडीको छ ।

पहाडीले क्लिकमान्डुसँग भने ‘संस्था राम्रो बनाउन योग्यता र क्षमता भएका व्यक्ति छान्नुपर्नेमा विज्ञलाई उमेरहदले छेक्ने गरी कार्यविधि बनाएर आवदेन दिनबाट रोकिएको छ ।’ पहाडीले निगमको कार्यकारी प्रमुखको लागि आवेदन दिने रुची देखाएको भए पनि उनलाई उमेरहदले कारण बञ्चित गरिएको छ ।

पहाडी निगममा लामो समय काम गरेका र हवाई उड्डयन विज्ञका रुपमा काम गरिसकेका भए पनि ६५ वर्षे उमेरहदका कारण ६७ वर्षीय पहाडी महाप्रबन्धकको लागि आवेदन दिनबाट बञ्चित भएका हुन् ।

निगमले आफू अनुकुल कार्यविधि बनाउने र सीमित व्यक्तिलाई मात्रै नियुक्त गर्न यस्तो गर्ने गरेको दाबी उनको छ । यस अघि मदन खरेललाई नियुक्त गर्न ५५ वर्ष ननाघेको कार्यविधि बनाएको निगमले अहिले ६५ वर्ष नाघेको सुगतरत्नलाई नियुक्त गर्दा भने उमेरहद राखेको थिएन् ।

त्यसो त निगमले यस अघि एयरहोस्टेज नियुक्त गर्दा पनि फरक फरक हाइट र उमेर तय गर्ने गरेको विषयले पनि निगम सुधारको लागि विज्ञलाई उमेरहदले छेक्न नहुने तर्क पहाडीको छ ।

वायुसेवा निगमको रिक्त महाप्रबन्धकको लागि मागिएको १५ दिने आवेदनका अन्तिम दिन ११ मंसिरसम्ममा १६ जनाले आवेदन दिएका छन् । उनीहरुको आवदेन सिलबन्दी अवस्थामा छ ।

निगमको पदपूर्ति छनोट समितिले रिक्त महाप्रबन्धक पदको पदपूर्तिको लागि दरखास्त आह्वान सम्बन्धी सूचनाको १(ख) मा पैसठ्ठी वर्ष ननाघेको भनी उमेर हद तोकेको छ । यो सूचना संविधान, ऐन र कानुन सम्मत नरहेको र प्रचलित ऐन विपरीत रहेको दाबी गर्दै यो सूचना बदर गरी विपक्षी पदपूर्ति समितिका काम कारबाही तत्काल रोक्न रिट निवेदक पहाडीले माग गरेका छन् ।

पर्यटन मन्त्रालय सम्बध्द सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ३(क)सँग बाझिएको हुँदा बदर गरी अमान्य घोषित गर्न उक्त रिट निवेदनले माग गरेको छ ।

निगमको महाप्रबन्धक बन्न आवेदन दिनेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वकर्मचारी, वायुसेवा निगमका उच्च तहका कर्मचारी, हवाई उड्डयनका जानकार, इन्जिनियरदेखि हवाई क्षेत्रका लागि नयाँ अनुहारसम्मले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा हवाईक्षेत्रमा जानकार र विज्ञका रुपमा वायुसेवा निगमकै निर्देशकसम्म भएका व्यक्तिहरु छन् ।

निगमका मार्केटिङ विभागका निर्देशक टंकनिधि दाहाल, हवाई क्षेत्रका विज्ञ योगराज शर्मा कँडेल नेपाली सेनामा हवाई उडान विभागका काम गरिसकेका डा दीपकप्रकास बास्तोला, भिमबहादुर चन्द, निगमका पूर्व कर्मचारी चिरन्जीवि उपाध्यायले आवेदन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेसन म्यानेजर सन्तुष्ट कुमार बस्नेत, उड्डयन प्राधिकरणका पूर्व कर्मचारी रघुनाथ विडारी, हवाई व्यवस्थापनमा काम गरेका आशिष थापा, इन्जिनियर अभिनव कार्की, काठमाडौं र धनगढीमा हवाई संग्रहालय सञ्चालन गरिरहेका क्याप्टेन वेदप्रसाद उप्रेती, क्यानका पूर्व कर्मचारी विष्णुबाबु मिश्रसहितका व्यक्तिहरुले आवेदन दिएका छन् ।

छनोट समितिले आवदेकहरुमध्येबाट तोकिएको शर्त पालना गरेहरुलाईलाई सर्ट लिष्ट गर्ने र कार्यपत्र प्रस्तुतीसहित अन्तरवार्ताको प्रक्रिया पूरा गरेर उपयुक्तमध्ये तीन जनाको नाम सिफारिश गर्नुपर्ने छ । यो समितिले सिफारिस गरेकामध्येबाट एक जनालाई सरकारले निगमको आगामी ४ वर्षका लागि कार्यकारी प्रमुख अर्थात महाप्रवन्धक पदमा नियुक्त गर्ने छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भने महाप्रवन्धक नियुक्ति प्रकृयमै रहेको बताए । उनले भने ‘छनोट समिति बनाउँदा हरिप्रसाद मैनाली पर्यटन सचिव थिए भने अहिले मुकन्दप्रसाद निरौला आउनुभएको छ । नयाँ सचिव आएपनि जहाँ पुगेको छ प्रक्रिया त्यहीँबाट सुरु हुने भएकोले निगमको महाप्रवन्धक नियुक्तिमा ढिलाइ नहुने र सकेसम्म छिटो गरिने छ ’

को हुन् पहाडी ?

नेपाल वायुसेवा निगमको दशौं तहबाट अवकास प्राप्त कर्मचारी हुन् अच्युतराज पहाडी । निगमको मार्केटिङ, इन्जिनियरिङ्ग, एयरक्राफ्ट इन्जिनियरिङ्ग, फ्लाइट इन्जिनियरिङ्ग विभागमा काम गरेका निगमका पूर्वकर्मचारी हुन् ।

हवाई नीति सम्बन्धी विज्ञता, हवाई अडिट, फाइनान्स, अर्थ सम्बन्धी विशेष अनुभव रहेको दाबी पहाडीले गरेका छन् । पहाडीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नाकोत्तरको उपाधि हासिल गरेका छन् ।

उनले २०३५ असार ०२ गते नेपाल वायु सेवा निगमको मेकानिक पदमबाट जागिरे जीवनको सेवा सुरू गरेका थिए। उनी २०४७ असोज २५ मा टेक्निकल अफिसर, २०६३ मंसिर ३ मा नवौ तहमा पदोन्नति, २०७३ जेठ ५ गते दशौ तह बढुवा भएका थिए । उनले २०७३ माघ ४ मा नेपाल वायुसेवा निगमको दशौ तह (नेपाल सरकारको सहसचिव सरह) को पदबाट अवकाश पाएका थिए ।

उनले निमगको महाप्रबन्धक पदमा नियुक्त हुनको लागि आवश्यक पर्ने शैक्षिक योग्यता सहित, नागरिक उड्डन, पर्यटन, व्यवस्थापन, अर्थशास्त्र सम्बन्धी व्यवसायिक, पर्यटन सम्बन्धी होटल व्यवस्थापन, ट्राभल्स टुर्स अपरेशन र नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण समेतका निकायको सञ्चालक समितिको सञ्चालक एवं सदस्य पदमा रहेर काम गरेको र सम्बन्धित क्षेत्रमा विज्ञ भएको दाबी गरेका छन् ।

उनले हवाई उड्यन सम्बन्धित विभिन्न निकायहरूको उच्च तहको नीति निर्माणको अनुभव, लेखा समितिमा हवाई विज्ञको हैसियतमा काम गरेका दाबी गरेका छन् ।

उनले निगममा हवाई क्षेत्र सुधारको लागि काम गरेको, सम्पूर्ण एयरलाइन्सको अडिट गर्ने तथा हेलिकप्टरको समेत क्वालिटी प्रमुखको रूपमा काम गरेको अनुभव भएकोले पनि सरकारले ६५ वर्षे उमेरहद लगाएर आफूलाई निगमको महाप्रवन्धकमा आवेदन दिनबाट रोक्न नहुने माग गरेका छन् ।