प्राधिकरणलाई एशियन लाइफको जवाफ- ‘स्वार्थ बाझिने विषय थाहा नहुँदा सेयर किन्ने निर्णय’

सिटी होटलको सेयर खरिद नगर्ने निर्णय

497
Shares

काठमाडौं । कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद विषयमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नियामक नेपाल बिमा प्राधिकरणलाई गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ ।

आफ्नो कम्पनीमा सबैभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका शक्तिकुमार गोल्यान नै सञ्चालक समिति अध्यक्ष रहेको सिटी होटलको सेयर खरिद गर्ने निर्णय एशियन लाइफले गरेको थियो ।

तर, नियामक प्राधिकरणले बिमा ऐन, २०७९ को दफा ६७ मा उल्लेखित ‘साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने’ व्यवस्था देखाउँदै सिटी होटलको सेयर खरिद गर्ने एशियनको निर्णयमा रोक लगाएको थियो ।

एशियनको उक्त निर्णयपछि नियामक बिमा प्राधिकरणले स्वार्थ बाझिनेगरी सेयर खरिद गर्ने निर्णय किन गरेको भन्दै सात दिनको समयसीमा दिएर जवाफ माग गरेको थियो ।

जवाफमा एशियन लाइफले सेयर खरिद गर्न स्वार्थ बाझिन्छ भन्ने विषयमा जानकार नहुँदा उक्त निर्णय लिएको जवाफ प्राधिकरणलाई दिएको छ ।

‘संस्थागत लगानीकर्ता दुबैतर्फ जुधेको र स्वार्थ बाझिने स्थिति रहेको भन्ने विषय थाहा नहुँदा सिटी होटलको सेयर खरिद गर्ने निर्णयमा हामी पुगेका हौं भन्ने जवाफ एशियन लाइफले दिएको छ,’ प्राधिकरण उच्च स्रोतले भन्यो, ‘तर, यो थाहा नभएको भन्ने जवाफ गैर–जिम्मेवारीपूर्ण छ । यस्तो हुँदै हुँदैन ।’

स्रोतका अनुसार प्राधिकरणले स्पष्टिकरण सोध्नसाथ एशियन लाइफको सञ्चालक समितिको बैठक बसेर सेयर खरिद गर्ने कदमबाट भने पछि हट्ने निर्णय कम्पनीले गरिसकेको छ ।

प्राधिकरणले चासो देखाउन साथ एशियन लाइफले सिटी होटलको सेयर खरिद नगर्ने निर्णय गर्दै त्यसको जानकारी प्रभु क्यापिटल लिमिटेडलाई समेत गराइसकेको छ ।

‘प्राधिकरणलाई जवाफ पठाउँदा स्वार्थ बाझिने कुरा थाहा नभएर सेयर खरिद भएको र थाहा पाउनसाथ उक्त कदमबाट पछि हट्ने निर्णय भएको कुरा उल्लेख गरिएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘एशियन लाइफले सेयर खरिद गर्ने निर्णयबाट पछि हटेको सूचना/जानकारीसहितको जवाफ हामीलाई पठाएको छ ।’ स्रोतका अनुसार अब नियामक प्राधिकरणले एशियन लाइफलाई थप के गर्ने भन्ने निर्णय गर्नेछ ।

बिमा ऐन, २०७९ को दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्था छ । यसमा ‘बिमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बिमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न हुँदैन,’ भनिएको छ ।

यसका अलावा, यो ऐन प्रारम्भ हुनु अघि बिमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बिमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ति जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको छ महिनाभित्र त्यस्तो व्यवसाय वा सम्पत्तिबाट आफ्नो व्यवसाय वा सम्पत्ति अलग गर्नु पर्नेछ,’ समेत लेखिएको छ ।

तर, एशियन लाइफले भने यस व्यवस्थाबिपरीत सिटी होटलको सेयर किन्ने निर्णय गर्दै बोलकबोल गरेको थियो । एशियन लाइफको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार शक्तिकुमार गोल्यानको स्वामित्वमा १८ लाख ०३ हजार ७४३ कित्ता अर्थात् ५.३१ प्रतिशत संस्थापक सेयर छ । गोल्यान एशियन लाइफमा सबैभन्दा बढी संस्थापक सेयर स्वामित्व भएका व्यक्ति हुन् ।

तर, उक्त एशियन लाइफ कम्पनीले सोही गोल्यानको प्रमुख स्वामित्वमा रहेको सिटी होटलकै सेयर खरिद गर्ने निर्णय गरेको थियो । अर्थात्, सिटी होटल(ह्यात सेन्ट्रिक) को सञ्चालक समितिको अध्यक्षमा शक्तिकुमार गोल्यान नै छन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार सिटी होटल लिमिटेडमा गोल्यान स्वामित्वमा ४८ करोड ७८ लाख ६४ हजार कित्ता सेयर छ ।

यसरी, गोल्यान एशियन लाइफको संस्थापक सेयर होल्डर रहेको र सिटी होटलको सञ्चालक तथा ठूला सेयरधनी भएकाले एशियनले सिटीको सेयर खरिद गर्नु कानून विपरीत थियो । यद्यपि, एशियन लाइफले ३०६ रुपैयाँका दरले १० लाख कित्ता र २७६ रुपैयाँका दरमा ९ लाख कित्ता गरी सिटी होटलको कुल १९ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको थियो ।

सिटी होटलले १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयरहरु बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । जसमा संस्थापक समूह/कर्मचारी समूहतर्फको लकईनमा रहेको/सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको समेत गरी जम्मा २१ लाख ५० हजार ४१८ कित्ता सेयरहरुका लागि आवेदन नपरेको भन्दै बोलकबोलमार्फत् बिक्री गर्न अर्को सूचना जारी भएको थियो ।

होटलले बोलकबोल प्रकृयाद्वारा बिक्री गर्न कात्तिक २३ गतेदेखि ३० गतेभित्र आवेदन माग गरिएकोमा सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरुलाई मंसिर ५ गते शुक्रबार बिहान ९ बजे प्रभु क्यापिटल लिमिटेडमा खुलाएको थियो । यही क्रममा एशियन लाइफले बोककबोलमार्फत लिलाम गरिएकोमध्ये १९ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको थियो । जुन निर्णयमा बिमा प्राधिकरण हस्तक्षप गरेपछि एशियन लाइफ उक्त कदमबाट पछि हटेको हो ।