१२ अर्ब ८४ करोड लगानीमा मनाङमा हाइड्रो बन्दै, कुमारीसहित ५ बैंकको लगानी

3k
Shares

काठमाडौं । मनाङमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

मनाङस्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो ।

आयोजनाको प्रवद्र्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ।

नेपाल विद्युत प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजना कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तिय व्यवस्थापन टुंगिएसँगै सोमबार हस्ताक्षर भएको छ ।

कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोको मुख्य लगानी हुने गरि मनाङमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता भएको हो ।

सोमबार आयोजित कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंगाएका हुन् ।

नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ ।

आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँधस्थलबाट नार्पा भूमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि नासोँ गाउँपालिकामा रहको विद्युत गृहमा पानी पठाइ बिजुली उत्पादन गरिने छ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ ।

कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुँजी ३ अर्ब २१ करोड रहेको छ, जसमध्य सिंगटी हाइड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।