एनपीएलमा सट्टेबाजी: अहिलेसम्म २ करोडको बेटिङ, १० जना पक्राउ


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको छ ।

काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै २ करोडभन्दा बढीको कारोबार भएको बताएको हो । प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ जानकारी दिए ।

अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेका प्रहरी उपरीक्षक भट्टराईले बताए ।

उनले स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको बताए ।

भट्टराईले भने, ‘एनपीएल चलिरहेको अवस्थामा अनलाइन बेटिङमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा, अगुवाइमा र हामीले हाम्रो साथमा २ समूहका १० जनालाई पक्राउ गरी अनुसन्धान भइराखेको अवस्था छ । वालेटहरुमा करिब २ करोड ५ लाखको ट्रान्ज्याक्सन भएको देखिन्छ ।’

नेपाल प्रहरीले अनलाइन जुवा र डिजिटल माध्यमबाट हुने आर्थिक अपराधहरूलाई नियन्त्रणमा ल्याउन थप अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ ।