एनपीएलबाट ६० करोड कमाउने योजनासहित भारतबाट काठमाडौं आएका थिए ‘सट्टेबाज’

1.3k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गर्‍यो ।

कार्यालयको टोलीले मंगलबार भारतको हरियाणा रानीमहल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडी घर भइ भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरीलाई नियन्त्रणमा लियो ।

उनीहरूलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो । सिंह र ठकुरी एनपीएल खेलिरहेका खेलाडीहरूसँग कुराकानी भएकै समयमा स्पोन्सर गर्ने शर्तमा भारतबाट काठमाडौं आएका थिए।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले भारतबाटै खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सम्पर्क गरेर एनपीएल खेलिरहेका खेलाडीलाई स्पोन्सर मात्र गर्ने शर्तमा उनीहरू काठमाडौं आएको बताए ।

खेलाडीहरूको सामाजिक सञ्जाल सार्वजनिक हुने भएकाले एनपीएलमा खेल्ने खेलाडीहरूको नाम पत्ता लगाएर उनीहरूले सम्पर्क गर्दै म्यासेज गरेका थिए । उनीहरूले सामाजिक सञ्जालबाट पाँच/सात जना खेलाडीहरूसँग कुराकानीसमेत गरेका थिए । खेलाडीसँग कुराकानी भएकैले उत्साहित भएर उनीहरू काठमाडौं आएको अनुसन्धानमा देखिको प्रहरीको भनाइ छ ।

स्पोन्सर गर्ने भन्दा एनपीएलमा सहभागी खेलाडीहरूले कुराकानीलाई केही समयका लागि चासोका साथ अगाडि बढाएका थिए । बिस्तारै दोहोरो कुराकानी बढ्न थालेपछि उक्त संवाद म्याच फिक्सिङसम्म पुगेर टुंगिएको थियो ।

खेलाडीसँग कुरा गर्ने महिला र पुरुष केही दिन अघि मात्र काठमाडौं आएका थिए । युवतीले खेलाडीलाई भेट्ने प्रस्ताव गरेको र केहीसँग भेटसमेत भएको प्रहरीको भनाइ छ ।

समाजिक सञ्जालमार्फत उनीहरूको कुराकानी स्पोसन्सरको विषयमा मात्र भएको थियो ।

स्पोन्सर भन्नसाथ खेलाडी आफूमाथि लगानी हुन लागेको भनेर मख्ख थिए । एनपीएलमा सहभागी खेलाडीको प्रश्न थियो, ‘कस्तो स्पोन्सर हो ?’ खेलाडीलाई उनीहरूले रन आउट भएमा एक करोड पाउने प्रस्ताव गरेका थिए ।

प्रस्तावकको कुरापछि ती खेलाडीले आफ्ना टिमसँग कुरा राखेका थिए । यस्तो प्रस्ताव आएपछि उनीहरूले प्रहरीलाई सूचना दिएका थिए । प्रहरीको टोलीले उनीहरूको ठेगाना पत्ता लगाएर नियन्त्रणमा लिएको थियो ।

बर्दियाकी युवती भने भारतमा सट्टेबाजको काम गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू भने एनपीएलमा सहभागी खेलाडीलाई १ करोड लगानी गरेर ५०-६० करोड कमाउने योजनामा नेपाल आएको अनुसन्धानबाट खुलेको कार्यालयका सूचना अधिकारी आचार्यले बताए ।

‘आजको खेलमा कुन खेलाडीलाई आउट गराउने वा कसले कति रन प्राप्त गर्छ भनेर बाजी राख्ने योजनामा रहेर करोडौं कमाउने योजनामा काठमाडौं भित्रिएका थिए,’ आचार्यले भने । अहिलेसम्मको अनुसन्धानमा उनीहरू २ जनामात्र रहेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।