
काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा नेपाली प्रिमियर लिग एनपीएलमा सट्टेबाजीको आरोपमा पक्राउ परेका ८ भारतीय क्रिकेट खेलाडी रहेको खुलेको छ ।
८ जना भारतीयहरू क्रिकेट सट्टेबाजीमा संलग्न हुँदै आएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरू रंगशाला परिसरमा बाजी लगाएर बस्ने गरेका थिए ।
‘उनीहरूले पाँच लाख नेपाली रुपैयाँसम्म बाजी लगाउने गरेका थिए । उनीहरू एनपीएल हेर्न भारतबाट आएका बेटिङ प्लेयर हुन्,’ सूचना अधिकारी आचार्यले भने, ‘रंगशालामा बसेर दर्शकहरूलाई आजको गेम यसले जित्छ भन्दै पैसा लगाउन प्रोत्साहन गर्थे ।’
पक्राउ परेका भारतीयहरूबाट १५ वटा मोबाइसमेत फेला परेको उनले जानकारी दिए ।
बेटाकुलर डट लाइभ नामक साइटबाट हारजित हुने गरी रकम लगानी गर्ने ८ जना भारतीयलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरू काठमाडौं महानगरपालिका २६ मा बसोबास गर्ने भारत आन्ध्र प्रदेश प्रकाशम पामुर गाउँका ३१ वर्षीय राजु यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सोख सोयब, ३० वर्षीय नभिन मड्डेला, कोइलमपटका ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरी टोलीले सट्टेबाजी गराउने दुई जनालाई पक्राउ गरेको थियो ।
खेलाडीलाई हारजीतको प्रलोभन देखाउने दिलप्रित सिंह र रेविका सिंह ठकुरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।
भारतबाटै खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सम्पर्क गरेर एनपीएल खेलिरहेका खेलाडीलाई स्पोन्सर मात्र गर्ने शर्तमा उनीहरू काठमाडौं आएका थिए ।
उनीहरूले सामाजिक सञ्जालबाट पाँच/सात जना खेलाडीहरूसँग कुराकानीसमेत गरेका थिए । खेलाडीसँग कुराकानी भएकैले उत्साहित भएर उनीहरू काठमाडौं आएको अनुसन्धानमा देखिको प्रहरीको भनाइ छ ।
थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।








प्रतिक्रिया