आन्दोलनबाट आएको हो, हाम्रो कुरा सुन्नुस् भन्दै अर्थमन्त्रीलाई पदभार ग्रहणमै झपार्ने को हुन् ?

8.6k
Shares

काठमाडौं । सोमबार अर्थमन्त्री रामेश्वर खनाल शीतल निवासमा सपथ लिएर पदभार ग्रहणका लागि सिंहदरबार पुगे ।

नवनियुक्त अर्थमन्त्री खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन दिने क्रममा एक सर्वसाधारणले उनीमाथि आक्रोश पोखे । अर्थमन्त्रीलाई हप्किदप्की पार्ने व्यक्ति हुन्प र्वतका शालिकराम पौडेल ।

उनले अर्थमन्त्रीले आफ्नो मन्तव्य राखेर कर्मचारीलाई निर्देशन दिइरहँदा बीचमा रोक्दै ‘तपाईंको बोल्नुपर्ने कुरा सकियो अब मेरो कुरा सुन्नुस्’ भने।

७ वटा जिल्लालाई मात्र बजेट दिइएको र आफ्नो गाउँलाई बजेट नभएको भन्दै उनले आक्रोश पोखे । ‘७ वटा जिल्लालाई मात्रै तोकेर बजेट बनाइएको छ । हाम्रा गाउँकालाई बजेट छैन, यो देशमा ७७ जिल्ला छ थाहा छ नि ?’ भन्दै मन्त्री खनाललाई उनले झपारे ।

मन्त्री खनाल नजिकैबाट बोलेका पौडेललाई रोक्ने प्रयास गर्दा गर्दै उनी बोलिरहे । उनले आफू आन्दोलनबाट आएकोले आफ्ना कुरा सुन्न भन्दै मन्त्रीलाई सुन्न दबाब दिए । मन्त्री खनालले छेउमै रहेका सचिव घनश्याम उपाध्यायलाई ‘को हो’ भन्दै आफूलाई प्रश्न गर्नेको पहिचान गर्न खोजे ।

मन्त्रीले एकछिन एकछिन भन्दै गर्दा पौडेल कुर्लिए । ‘हामीले पनि आन्दोलन गरेका हौँ । तपाईँ त्यसै मन्त्री भएको हो र ? कुरा सुन्नुस् यहाँ,’ भन्दै उनी आक्रोशित हुँदै गए ।

मन्त्री खनाले एकछिनपछि तपाईंको कुरा सुन्छु भने, तर पौडेल रोकिएनन् । त्यसपछि मन्त्री खनालले हात मिलाउँदै ‘हुन्छ, हजुर शुभ नाम के पर्यो ?’ भनेर सोधे । जवाफमा पर्वतबाट आको शालिकराम पौडेल भने ।

त्यति भनिरहँदा पनि पौडेल रोकिएनन् । ‘एक छिन मन्त्री भएर हुन्छ, काम गर्न कति सजिलो छ र ?’ भन्दै प्रश्न गरे । त्यसपछि उनलाई प्रहरीले तानेर छेउतिर लगे ।