
काठमाडौं । दशैं आउन १५ दिन मात्रै बाँकी रहँदा पनि सरकारले लामो दूरीमा गुड्ने यात्रुवाहक सवारी साधनको हकमा अग्रिम टिकट बुकिङ खोलेको छैन ।
अन्य वर्षहरुमा कम्तिमा एक महिना अगावै यो सुविधा राज्यले खुला गरे पनि यो वर्ष भने गृहकार्यसमेत सुरु भएको छैन । यातायात व्यवसायीहरुले अनुसार यो वर्ष अग्रिम टिकट बुकिङ सुविधा खोल्ने विषयमा हालसम्म राज्यबाट औपचारिक रुपमा कुनै गृहकार्य सुरु नभएको औल्याएका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी समयमा अझै ठूलो परिमाणमा मनसुन सक्रिय हुने अवस्था सिर्जना भएको जानकारी दिए ।
आगामी दिनमा थप सक्रिय हुने मनसुनको प्रत्यक्ष प्रभाव देशभरको सडक खण्डमा पर्ने भएकाले यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउन आइपर्ने समस्याको जिम्मेवारी कसले र कसरी लिने विषयमा औपचारिक रुपमा राज्यले चासो नदेखाएकाले हालसम्म अग्रिम टिकट बुकिङ सुविधा नखुलेको सिटौलाको भनाइ छ ।
अहिले नै मनसुनी वर्षाका कारण देशभरका प्रमुख सडक खण्डसहित पुल र ग्रामिण क्षेत्रका सडक र पुल क्षतिग्रस्त अवस्थामा पुगेका छन् । उपत्यकाबाट बाहिरिने र जिल्लासम्म पुग्ने कुनै पनि सडक सुरक्षित छैनन ।
‘मनसुनी वर्षाका कारण दैनिक रुपमा ५ देखि ३० राजमार्ग र अन्य सडक खण्डहरु पहिरो गएर र सडक भाँसिएर अवरुद्ध भइरहेको अवस्था छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भने,‘यस्तो अवस्थामा चाडवाड केन्द्रित अग्रिम टिकट बुकिङ सुविधा खोल्दा आगामी दिनमा थप परिमाणमा सक्रिय हुन लागेको मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिमको जिम्मेवारी कस्ले लिने विषयमा टुङगो लाग्न आवश्यक छ ।’
यो विषयमा टुङगो नलाग्दासम्म अग्रिम टिकट बुकिङ सुविधा खोल्न नमिल्ने सिटौलाको भनाइ छ । उनका अनुसार वर्षात समयमा सवारी साधन गुड्दा गुड्दै गरेको अवस्थामा माथिबाट पहिरो जाने र सडक मुनिको जमिन भाँसिने समस्याका कारण यातायात व्यवसायीलाई जोखिम थपिएको छ ।
‘सरकारले आउन सक्ने भवितव्य जोखिमको विषयमा आवश्यक गृहकार्य र समाधानका उपायको बारेमा तयारी वेगर अग्रिम टिकट बुकिङ सुविधा खोल्ने तयारी गर्दैछ,’ सिटौलाले भने,‘यस्तो अवस्थामा यात्रुलाई उपत्यकाबाट गन्तव्यसम्म सुरक्षित रुपमा पुर्याउने जिम्मेवारी यातायात व्यवसायीको काँधमा राखेर राज्य आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
काठमाडौंबाट बाहिरिने कुनै सडक खण्ड अहिले सुरक्षित नभएको उनको भनाइ छ । यात्रुलाई उपत्यकाबाट गन्तव्यसम्म सुरक्षित रुपमा वातावरण नबनेसम्म अग्रिम टिकट काट्ने सुविधा खुलाउन नमिल्ने उनले जानकारी दिए ।
दशै मनाउन घटस्थापनापछि उपत्यकामा बसोबास गर्दै आएका सर्वसाधारण उपत्यका छाड्न सुरु गर्छन् । चाडवाडको समयमा घटस्थापनादेखि अष्टमीसम्म उपत्यकाबाट दैनिक करिब साढे ५ हजारको संख्यामा ठूला साना सबारी साधन बाहिरिने गर्छ । यो वेला करिब २० देखि २२ लाख सर्वसाधारण चाडवाड बनाउन गृह जिल्ला फर्कने गरेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका सूचना अधिकारी गणेशमान सिं राईले अग्रिम टिकट बुकिङ सुविधा खोल्ने विषयमा हालसम्म औपचारिक रुपमा छलफल नभएको बताए । राईले यसै साता यो विषयमा यातायात व्यवसायीसँग औपचारिक रुपमा बैठक बसेर समय तोकेर अग्रिम टिकट बुकिङ सुविधा खोलिने जानकारी दिए ।
‘अहिलेसम्म यो विषयमा औपचारिक रुपमा छलफल भएको छैन,’ राईले भने,‘यो साता यातायात व्यवसायीसँग छलफल गरी अग्रिम टिकट बुकिङ सुविधा खोल्ने तयारीमा छौं ।’
वर्षातको समयमा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन निक्कै कठिन कार्य भएको बताउँदै सिटौंलाले यस्तो समयमा यातायात व्यवसायीको खर्च पनि अत्यधिक बढ्ने जानकारी दिए । क्षतिग्रस्त सडकका कारण सवारी साधनको पार्टपूर्जा निक्कै विग्रने समस्याका कारण खर्च निक्कै बढ्ने गरेको उनको भनाइ छ ।
अग्रिम टिकट बुकिङ सुविधा नखुलेका कारण सरकारले यात्रु भाडादर र सवारी साधनको टिकटमा यात्रुहरुलाई ठगिन नदिन चाडवाडको समयमा विभिन्न स्थामा सञ्चालनमा ल्याउने यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छैन ।
यी हुन् वर्षामा दैनिक अवरुद्ध भइरहने देशभरका प्रमुख सडक खण्डहरु
सानो वर्षा हुँदा पनि काठमाडौंबाट बाहिरिने प्रमुख सडक खण्ड नागढुङगा–नारायणघाट, विपी राजमार्ग, काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी, ग्वार्को –लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार, हेटौडा–बागमती–टिकाभैरव–भैसेपाटी–एकान्तकुना सडक अवरुद्ध भइरहने सडक खण्डमा पर्छन ।
यस्तै पुष्पलाल(मध्य पहाडी) राजमार्गको विभिन्न खण्ड, तानसेन–रिडी–कोरला, तौलिहवा–गोरुसिङगे –सन्धिखर्क, छिन्छु–कुदु–जाजरकोट–दुनै–धौ–तिन्जे –मरिम, पूर्व–पश्चिम राजमार्गको विभिन्न खण्ड, कोइलाबास –लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउ–थवाङ–लुकुम, मदन भण्डारीको विभिन्न खण्ड, बर्तुङ–तानसेन–रिडी–वामीटक्सार, अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसिकोट, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा, धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिंकर र सामाखुशी–टोखा–गुर्जे –विदुर सडक खण्ड पनि सानो वर्षामै अवरुद्ध भइरहने सडक खण्डमा पर्छन ।
त्यसैगरी डुम्रे–बेशीसहर–चामे, भेडेटार–रबि–राँके, कक्रहवा–रुद्रपुर, सालझण्डी–सन्धीखर्क–देवीस्थान, वुर्तिवाङ–ढोरपाटन, बेलिहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा, मलेखु–धादिङ–सल्यानटार, ठोरी–भरतपुर–मुग्लिङ, आवुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिबास –रोइला भञ्ज्याङ, सिर्सिया-पथलैया, हेटौडा-भैंसे=पालुङ=नौविसे-काठमाडौ, भालुवाङ- लिवाङ- रोल्पा- माडीचौर- दारबोट, खोड्पे-चैनपुर-बझाङ, नौविसे-मुग्लिन-पोखरा, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुट्टा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङा, चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक र सुर्खेत–तल्लो डुङेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक खण्ड पनि सानो वर्षामा सडक भाँसिएर र माथिबाट पहिरो गएर दैनिक रुपमै अवरुद्ध हुने गरेको सडक विभागले जनाएको छ ।
कतिपय स्थानमा पुरानो सडक खण्डलाई भत्काएर चौडा पार्ने कामसमेत भइरहेकाले त्यस्ता सडक खण्डमा सवारी साधन गुडाउन वर्षातको समयमा निक्कै समस्या आएको यातायात व्यवसायीको भनाइ छ ।
नारायणगढ–बुटवल, कमला–कञ्चनपुर, काँकडभिट्टा–लौकही, नारायणघाट–पथलैया, बुटवल–गोरुसिङगे, कमला–ढल्केवर–पथलैया लगायतका सडक खण्ड सरकारले अहिले फराकिलो गरिरहेको छ ।
सडक विभागका उपनिर्देशक प्रभात झाले चाडवाडको समयमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउन अति जोखिमयुक्त सडक खण्डलाई पहिचान गरी विभिन्न स्थानमा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन तैनाथी अवस्थामा सानोदेखि ठूलो उपकरणसम्म राखिएको जानकारी दिए ।
‘यस्तै सडकमा भएका खाल्डाखुल्डी, स सानो पुल पुलेसालाई मर्मत सम्भार गरी सबारी साधनलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने गरी विभागले कार्ययोजना तयार पारेर कार्यान्वयनमा ल्याइसकेको छ,’ उनले भने ।
देशभर अढाई अर्बको अढाई सय नयाँ ठूला बस भित्रिँदै
अन्य वर्षको चाडवाडजस्तै यो वर्षको चाडवाडको समयमा यात्रुहरुले नयाँ ठूलो बसमा यात्रा गर्न पाउने भएका छन् ।
देशभरका लामो दूरीमा विभिन्न जिल्लाबाट काठमाडौंसम्म र काठमाडौदेखि जिल्लासम्म यस्ता नयाँ बस सञ्चालनमा आउन लागेको हो ।
सिटौंलाका अनुसार यो वर्षको दशैंमा अढाई अर्ब रुपैयाँभन्दा बढी लगानीमा दुई सय ५० बटा ठूला बसहरु धमाधम निर्माण भइरहेका छन् । ति बसहरु आगामी दशैंको समयमा सडकमा सञ्चालनमा आउनेछन् ।
उनका अनुसार सुविधाअनुसार अहिले ट्रेन्डमा रहेका अग्लो उचाई भएको, एसी, वाईफाई, स्लिपर, गद्दावाल फोल्डिङ सिटलगायतका सुविधा भएको लक्जरी बसहरु दशैंको समयमा बजारमा आउन लागेका छन् ।
यस्ता सुविधा भएको एउटा बसको न्युनतम मुल्य एक करोडदेखि डेढ करोड रुपैयाँसम्म पर्छ । बिराटनगर, नेपालगञ्ज, कोहलपुर, महेन्द्रनगर, बुटवल, भैरहवा, बीरगञ्ज, धनगढी, झापा, जनकपुर, सुर्खेत, धरान, सर्लाही, महोत्तरी, सिराहालगायतका व्यवसायीहरुले नयाँ बस निर्माण गराइरहेका छन् ।







प्रतिक्रिया