
काठमाडौं । रक्षामन्त्री मानवीर राईले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको काम लक्षित समयावधिमा सक्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयको आर्थिक गत आर्थिक वर्षको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री राईले उक्त आयोजनालाई समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका हुन् ।
उनले आर्थिक वर्ष २०८१/८२ मा द्रुतमार्गको प्रगति अघिल्लो वर्षको लक्ष्यको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको उल्लख गरे ।
उनकाअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा आयोजनाको समष्टिगत प्रगति ४२.१३ प्रतिशत रहेको छ ।
काठमाडौं–तराई–मधेश दु्रतमार्ग निर्माणका लागि २०८३ साल चैत्र मसान्तसम्मको समयावधि तोकिएको छ ।
मन्त्री राईले रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले गरिरहेका निर्माण कार्यको प्रगति सन्तोषजनक रहेको समेत दाबी गरे ।
‘आर्थिक वर्ष २०८१/८२ मा काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजनाको प्रगति अघिल्लो वर्षको लक्ष्यको तुलनामा ६७ प्रतिशत हाँसिल भई गत असारसम्मको समष्टिगत प्रगति ४२.१३ प्रतिशत हासिल भएको देखिन्छ । यसबाट दु्रतमार्गको निर्माण कार्यलाई लक्षित समय अवधिमा अर्थात २०८३ चैत्र मसान्तसम्ममा सम्पन्न गर्न चालु आर्थिक वर्षमा थप मेहेनत गर्नुपर्ने छ,’ उनले भने, ‘यसप्रति सम्बन्धीत आयोजना प्रमुख, कार्यक्रम सञ्चालक, सञ्चालन गर्ने निकायका प्रमुखहरु तथा अन्य समन्वयकारी निकायहरुको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । यस मन्त्रालयअन्तर्गत नेपाली सेनामार्फत निर्माण भइरहेको विभिन्न सडक, करिडोरको प्रगति राम्रो देखिएको छ । यसमा खट्ने सबैलाई धन्यावाद व्यक्त गर्दछु ।’
उनले कतिपय निर्माण आयोजनाहरुमा विनियोजित बजेटको सिमितताले नेपाली सेनालाई आयोजना सम्पन्न गर्न लामो समय लाग्ने देखिएको बताए । सेनाद्वारा सञ्चालित अन्य विकास निर्माणका कार्यहरुमा लक्ष्यअनुसार प्रगति देखिएको समेत उहाँले बताउनु भयो । विपद्पछिको प्रतिकार्य, राहत र उद्धारमा खेलेको भुमिका प्रशंसनीय रहेको समेत बताए ।








प्रतिक्रिया