
एजेन्सी । प्यालेटाइन सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धक छाड्नका लागि मध्यस्थहरूले दिएको नयाँ प्रस्तावलाई स्वीकृति जनाएको छ ।
प्यालेटाइन समूहको एक स्रोतले बीबीसीलाई यसबारे पुष्टि गरेको छ । इजिप्ट र कतारले तयार पारेको यो प्रस्ताव जुन महिनामा अमेरिकी दूत स्टीभ विट्कफले दिएका प्रस्तावकै रूपरेखामा आधारित छ ।
यस योजनाअनुसार सुरुवातमा ६० दिनको युद्धविराम लागू हुनेछ । त्यसपछि हमासले बाँकी रहेका ५० जना इजरायली बन्धकलाई दुई समूहमा छाड्नेछ । तीमध्ये २० जना मात्रै जीवित रहेको अनुमान गरिएको छ । त्यसपछि स्थायी युद्धविरामबारे वार्ता अघि बढ्नेछ ।
तर, इजरायलको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।
गत साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशले कुनै पनि सम्झौता त्यतिबेला मात्रै स्वीकार गर्ने बताएका थिए जब ‘सबै बन्धकलाई एकै पटक छोडिनेछ ।’
हमासले सहमति जनाएको समाचार सार्वजनिक भइरहेका बेला जारी एक भिडियोमा नेतन्याहुले प्रत्यक्ष रूपमा कुनै टिप्पणी गरेका छैनन् । उनले केवल यति भनेका छन् — ‘यसबाट तपाईँलाई एउटै बुझाइ हुन्छ, हमास निकै दबाबमा छ ।’








प्रतिक्रिया