विद्यार्थीका नवप्रवर्तनलाई बजार र लगानीसँग जोड्न प्रदर्शनी

0
Shares

काठमाडौं। विद्यार्थीहरूले विकास गरेका कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, साइबर सुरक्षा र सफ्टवेयर लगायतका ५५ भन्दा बढी अत्याधुनिक परियोजनाहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।

अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँग आबद्ध सिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ मा विद्यार्थीका नवप्रवर्द्धनात्मक सिर्जनाहरू प्रदर्शनमा राखिएका हुन् ।

असार ११ र १२ गतेसम्म सञ्चालन हुने यस टेक तथा बिजनेस कार्निभलमा करिब १७० विद्यार्थीका ५५ वटा परियोजना समावेश छन् ।

विद्यार्थीको डिजिटल रचनात्मकतालाई उद्योग, लगानीकर्ता र स्टार्टअपको अवसरसँग जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । प्रदर्शनीलाई कम्प्युटर भिजन, एआई, आइओटी, रोबोटिक्स, साइबर भिलेज र सफ्टवेयर गरी विभिन्न विधामा विभाजन गरिएको छ ।

प्रदर्शनीमा पुष्प वृष्टि गराउने एफपीभी ड्रोन, फुटबल खेल्ने र नाच्ने रोबोट, अनुहारको भाव बुझेर संगीत सिफारिस गर्ने एआई प्रणाली जस्ता आकर्षक परियोजना राखिएका छन् ।

अनलाइन ठगी नियन्त्रण गर्ने साइबर सुरक्षा संयन्त्र, स्मार्ट सिँचाइ प्रणाली, ग्यास लिक हुँदा सूचना दिने स्मार्ट होम सिस्टम र रिमोटबाट चल्ने ३६० डिग्री क्यामेरायुक्त गाडी पनि प्रदर्शनीको आकर्षण बनेका छन् । यी परियोजनाले प्रविधिलाई कृषि, पर्यटन र दैनिक जीवनसँग जोड्ने प्रयास गरेका छन् ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक अध्यक्ष लक्ष्मण केसीले यी परियोजनाहरूको व्यावसायिक सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो । यी परियोजनाहरू विद्यार्थीले स्क्र्याचबाट बनाएका हुन् र अब हामी यिनलाई उद्योग तथा लगानीकर्तासँग जोड्न केन्द्रित हुनेछौं।’

कलेजले आफ्नो बिजनेस इन्क्युबेसन सेन्टरमार्फत सम्भावना बोकेका परियोजनालाई स्टार्टअपका रूपमा अघि बढाउन सहयोग गर्ने योजना बनाएको छ ।

प्रदर्शनीमा प्लस टु सकेका ३४ विद्यार्थीले पनि ‘टेक्नोभर्सिटी प्याभिलियन’ मार्फत आफ्ना सिर्जना देखाएका छन् । मेन्टरसीपमा आधारित यस विधाका विजेतालाई एक लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ ।

प्रवेश निःशुल्क गरिएको यो कार्यक्रममा विद्यार्थी, उद्योगी र प्रविधि प्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलकी प्रिन्सिपल कल्पना गुरुङले इन्नोभिस्टालाई विद्यार्थीको सिर्जनशीलता र अवसर जोड्ने साझा मञ्चका रूपमा व्याख्या गरिन् ।

उनले भनिन्, ‘यो इभेन्ट हरेक वर्ष आयोजना गरिनेछ । उद्योगी र लगानीकर्तालाई आमन्त्रण गरेर विद्यार्थीलाई रोजगारी र स्टार्टअपको अवसरसँग जोड्ने हाम्रो लक्ष्य हो ।’

हाल १४ सय विद्यार्थी र ९० भन्दा बढी प्राध्यापक रहेको यस कलेजले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक स्तर र उद्यमशीलताका लागि तयार पार्दै आएको छ ।

Skip This