महिलाका लागि पर्यटकीय सवारी चालक तालिम सुरु

56
Shares

काठमाडौं । महिलाका लागि सवारी चालक तालिम सुरु गरिएको छ । पर्यटकहरूको सवारी साधन चलाउने दक्षता अभिवृद्धि गर्ने उद्देश्यले बिहीबारदेखि काठमाडौंको बुढानीलकण्ठमा यो तालिम सुरु भएको हो ।

पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउन र महिलालाई पनि पर्यटकीय सवारी चालक बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक केबी शाहले बताए । नेपालको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा दिन महिलाहरूको योगदान महत्वपूर्ण हुनेमा आफूहरू आशावादी रहेको उनले उल्लेख गरे ।

तालिम उद्घाटन गर्दै संयोजक शाहले भने, ‘महिलाहरूलाई सवारी चालक तालिम दिन यो कार्यक्रम सुरु गरेका छौँ । यसमा देशका विभिन्न भागबाट ३८ जना महिला सहभागी हुन आएका छन् । उनीहरूलाई भोलिका दिनमा पर्यटकीय गाडी चलाउने रोजगारीको ग्यारेन्टीसहित तालिम दिइँदैछ ।’

उनले दिगो पर्यटन परियोजनाले पर्यटकीय गतिविधि विस्तार गर्ने क्रममा पश्चिममा अपि र साइपाल, मध्यमा मनास्लु र पूर्वमा कञ्चनजङ्घा क्षेत्रमा नयाँ ट्रेकिङ रुटहरू समेत विस्तार गरेको जानकारी दिए । पर्यटन क्षेत्रमा आवश्यक पर्ने होटल, रेष्टुरेन्ट र ड्राइभिङ जस्ता क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न र त्यसमा महिला सहभागिता बढाउन यो तालिम चलाइएको उनले बताए । तालिमपछि महिलाहरूले लाइसेन्स प्राप्त गरी पर्यटकलाई गुणस्तरीय सेवा दिने विश्वास उनले व्यक्त गरे ।

यसैबीच, तालिममा सहभागी प्रशिक्षार्थीहरूले यसबाट आफूहरू दक्ष बन्ने भन्दै खुसी व्यक्त गरेका छन् । भक्तपुरकी सहभागी जुनु शाहले आफूलाई चालक र सहचालक क्षेत्रमा रुचि भएको बताइन् । उनले भनिन्, ‘मैले धेरै पटक लाइसेन्स लिन प्रयास गरे पनि सफल हुन सकेकी थिइनँ । यस पटक आफूलाई दक्ष बनाउँछु भनेर आएकी छु । तालिममा सहभागी हुन पाउँदा खुसी लागेको छ ।’

परियोजनाले नेपाल पर्यटक यातायात व्यवसायी संघसँगको सहकार्यमा यो तालिम सञ्चालन गरेको हो । ३० दिनसम्म चल्ने यस तालिममा देशभरका ३८ जना महिला सहभागी छन् । पर्यटन क्षेत्रको सेवालाई गुणस्तरीय बनाउन महिलाको दक्षता अभिवृद्धि गर्न यो तालिमले ठूलो सहयोग पुग्ने विश्वास दिगो पर्यटन परियोजनाले लिएको छ ।

Skip This