रुपन्देही ३ को उपचुनावमा बालेनका दुई सल्लाहकार अर्याल र गिरी उठ्दै

4.3k
Shares

काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका दुई सल्लाहकार उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

मेयर शाहका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याल र खाद्य सल्लाहकार रहेका सन्तोष गिरी दुवैले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । गिरीले यसअघि नै उम्मेदवारीको घोषणा गरिसकेका छन् भने अर्यालले समय र परिस्थितिअनुसार अन्तिम निर्णय गर्ने तयारी गरेका छन् ।

गुल्मीमा जन्मिएर पछि बुटवल सरेका र हाल ललितपुरमा बस्दै आएका अर्याल महानगरविरुद्धका कानुनी मुद्दामा बालेनलाई कानुनी तथा रणनीतिक सल्लाह दिँदै आएका छन् ।

सार्वजनिक सम्पत्ति संरक्षणमा लामो समयदेखि सक्रिय रहेका अर्याल हाल भेटघाट र रुपन्देहीका मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थानीय बासिन्दा गिरी मेयर शाहको खाद्य सल्लाहकारका रूपमा काम गरिसकेका व्यक्ति हुन्। दुवै उम्मेदवारले कुनै पनि राजनीतिक दलको समर्थनबिना स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

रुपन्देही–३ बाट निर्वाचित सांसद राप्रपाका दीपक बोहराको गत १९ चैतमा निधन भएपछि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको हो । बोहरा चुनावअघि नै पोस्ट–कोभिड संक्रमणका कारण बिरामी परेका थिए।

यो क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत दलहरूले पनि उम्मेदवार तयारी गरिरहेका छन् ।

उपचुनावका लागि रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । रास्वपाबाट उम्मेदवार बन्न सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।