
काठमाडौं । पशुपति आर्यघाटमा जलाइरहेको शवबाट मासु निकालिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति घाटे (शव जलाउने गर्ने काम गर्ने) गणेश ढकाल रहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरीले शुक्रबार नै नियन्त्रणमा लिएर गौशाला प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरेको हो ।
काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव शुक्रबार अत्येष्टिका क्रममा मासु झिकेर जोगीजस्तो देखिने एक व्यक्तिलाई रहस्यमय रूपमा दिएको आरोप मृतकका आफन्त तथा मलामीहरूले लगाए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरे । तत्कालै प्रहरी घटनास्थल आइपुगेको थियो ।
तर ढकालले आफूले मासु नभएर हड्डी मात्र निकालेको दाबी गरेका छन् । प्रहरी स्रोतका अनुसार उनले चार सय रुपैयाँ दिएर जलाउँदै गरेको शवको सानो टुक्रा हड्डी आफूसँग मागेको र लैजाने व्यक्तिले पनि १ सय रुपैयाँ पाएको बयानका क्रममा बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दका अनुसार ढकालविरुद्ध मृतकका आफन्तले प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र अभद्र व्यवहारमा म्याद थप गरी बयान लिने तयारी छ । अनुसन्धानपछि कुन कानुनअनुसार कारबाही गर्ने भन्नेबारे कानुन व्यवसायी र सरकारी वकिलसँग सल्लाह गरिने उनले बताए।
यो घटना प्रहरीका लागि पनि नयाँ भएको बताइएको छ । यसअघि यस्तो घटना नआएको भन्दै प्रहरीले अनुसन्धान गरिहरेको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले घाटे र अघोरी बाबाबीचको साँठगाँठ हुनसक्ने आशंका रहेको जनाए । कतिपय अघोरी बाबाले मसान जगाउनका लागि मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने गर्ने बताइन्छ। जीवित मानवबाट यस्तो सामग्री संकलन गर्न नसक्दा शवबाट मासु वा हड्डी निकालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।








प्रतिक्रिया