दुग्धजन्य वस्तुमा आयात प्रतिस्थापन जरुरी: चन्द्र ढकाल

42
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तु विदेशबाट आयात भइरहेकाले त्यसलाई प्रतिस्थापन गर्दै स्वदेशमै उत्पादन बढाउन आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा नेपाल डेरी एशोसिएशनले आयोजना गरेको ‘खिर प्रवर्द्धन कार्यक्रम’मा बोल्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रमा कतिपय डेरी उत्पादनहरू आयात गर्नुपर्ने बाध्यता अझै कायमै रहेको बताए । ‘हाम्रा उत्पादनले कम्तिमा आयात प्रतिस्थापन गर्न सक्नुपर्छ,’ उनले भने, ‘विश्वस्तरीय मापदण्ड पूरा हुने गरी उत्पादन बढाउनुपर्ने बेला आएको छ।’

ढकालका अनुसार दुग्धजन्य वस्तुहरूको आयातका कारण करोडौं रुपैयाँ बराबरको नेपाली मुद्रा विदेशिनु परेको छ। त्यसलाई रोक्न स्वदेशमै गुणस्तरीय उत्पादन गर्नुपर्ने उनले उल्लेख गरे। ‘नेपालमै उत्पादन गरेर निर्यातसम्म गर्न सक्ने अवस्था बनाऔं,’ उनले थपे, ‘यसका लागि महासंघले सरकारलाई आवश्यक दबाब दिन समेत तयार छ।’

उनले नेपालका धेरै कानून अझै परम्परागत ढर्रामा आधारित रहेको भन्दै सुधारका लागि महासंघले आफ्नो कार्यकालमा पहल गर्दै आएको जानकारी दिए। ‘अध्यादेशमार्फत थुप्रै कानुनी संशोधन गरिएका छन्,’ उनले भने, ‘बाँकी कानून संशोधनका लागि पनि महासंघले निरन्तर लबिङ गर्नेछ।’

कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले कृषि क्षेत्रको सशक्तीकरण बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए । ‘कृषिमा आत्मनिर्भर भए मुद्रा बाहिरिन रोकिन्छ,’ उनले भने, ‘राज्यले कृषि र डेरी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ।’

उनका अनुसार अहिले महीको खपत राम्रो भइरहेको छ भने उद्योगहरूले प्याकेटिङमार्फत बजारमा ल्याएका महीजस्ता उत्पादनलाई राज्यले प्रवर्द्धन गर्न जरुरी छ। ‘यसको माग अझ बढाउन सरकारले सहजीकरण गर्नुपर्छ,’ उनले जोड दिए।