
काठमाडौं । लघुवित्तमा आधार दर कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले परिवर्तन हुने ब्याजदरसँगै स्थिर ब्याजदर पनि प्रकाशित गर्नुपर्ने भएको छ ।
बिहीबार लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्तले ब्याजदर घटाउँदा वा नबढाउँदा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशनमा उल्लेख छ । लघुवित्तले प्रवाह गर्ने कर्जाको परिवर्तनीय ब्याजदरको साथै स्थिर ब्याजदरसमेत प्रकाशन गर्नु पर्नेछ । यस्तै ग्राहकले कर्जा लिँदा परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरमध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
परिवर्तनीय ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न नपाइन निर्देशनमा उल्लेख छ । स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न पाइने छैन ।
यस्तै लघुवित्तले परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरको विवरण राष्ट्र बैंकमा पशे गर्नुपर्नेछ । लघुवित्तले मासिक रुपमा आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । साथै,आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
लघुवित्तले आगामी त्रयमासको लागि कर्जा तथा सापटमा लागु हुने ब्याजदर सम्बन्धी सूचना त्रयमास सुरु हुनु पूर्व आफ्नो वेबसाइट तथा शाखा कार्यलयहरुमा प्रकाशित गरिसक्नुपर्नेछ।
ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । साथै, आगामी त्रयमासको लागि कर्जा तथा सापटमा लागु हुने ब्याजदर आफ्ना ग्राहकलाई सहजै जानकारी प्राप्त हुने गरी समूह बैठक, लोन कार्ड/पासबुक/एसएमएसमार्फत दिनुपर्नेछ ।
त्यस्तै कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् ।
पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाउने केन्द्रिय बैंकको निर्देनमा उल्लेख छ ।
यस्तै ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा आधार दरमा थप गर्ने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म त्रयमासिक रुपमा परिवर्तन गर्नु पर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन भन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न बाधा नपर्ने निर्देशनमा उल्लेख छ ।








प्रतिक्रिया