
काठमाडौं । लघुवित्त संस्थाले पनि आधार दर गणना गरी कर्जा लगानी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै साउन १ देखि लघुवित्तले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर ‘आधार दर’सँग आबद्ध गरी तय गर्नु पर्ने व्यवस्था गरेको हो ।
यसरी ब्याजदर तय गर्दा आधार दरमा अधिकतम ३ प्रतिशत मात्रै प्रिमियम लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । ‘लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी त्रयमासिक रुपमा निर्धारण गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘यसरी ब्याजदर निर्धारण गर्दा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पछिल्लो तीन महिनाको प्रकाशित औसत आधार दरमा प्रिमियम थप गरी निर्धारण गर्नु पर्नेछ।’
तर, यसरी आधारदरमा प्रिमियम थप गरी कर्जा लगानी गर्दा वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरभन्दा ९ प्रतिशत बिन्दुभन्दा माथि हुनेगरी कर्जाको ब्याजदर निर्धारण गर्न नपाइने भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दरभन्दा लघुवित्तले दिने कर्जाको ब्याजदर ९ प्रतिशत बिन्दुभन्दा माथि हुन नहुने भएको हो ।
‘लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गर्दा हुन आउने ब्याजदर र यस बैंकबाट प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भए बमोजिम वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधारदरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने ब्याजदरमध्ये जुन कम हुन्छ सो दरको सीमाभित्र रही आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्नु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।








प्रतिक्रिया