
काठमाडौं । इन्टरनेशनल फाइनान्स कर्पोरेशनले वर्ल्डलिंक र त्यसको शाखा कम्पनी डेटा वर्ल्ड लिमिटेडमा २ करोड ९० लाख डलर लगानीको प्रतिबद्धता गरेको छ ।
नेपालको डिजिटल पूर्वाधारको विस्तार र त्यसको पूर्ण आर्थिक सम्भाव्यतालाई उजागर गर्नका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा आईएफसीले उक्त लगानी गर्न लागेको हो ।
यस लगानीले नेपालमा विद्यमान डिजिटल विभेदलाई अन्त्य गर्ने र समावेशी विकासलाई अघि बढाउन देशभरि नवप्रवर्तनात्मक डेटा सेन्टरहरूका साथै फाइबर सञ्जालहरूको निर्माण गर्ने लक्ष्य लिएको आईएफसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक र वर्ल्डलिंकको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
द्रुत गतिको इन्टरनेटमा पहुँच बढाएर र बलियो फाइबर अप्टिक सञ्जाल लगायतका आधुनिक पूर्वाधार निर्माण गरी दुर्गम क्षेत्रलाई पनि इन्टरनेटसँग जोडेर यस साझेदारीले डेटा स्टोरेज र प्रोसेसिङ क्षमताको बढ्दो मागलाई सम्बोधन गर्न खोजेको बताइएको छ ।
डिजिटल समाज निर्माण गर्ने र सबै नेपालीको सुखद भविष्यको सुनिश्चितता गर्ने गरी वर्ल्डलिंकले आईएफसी र स्ट्यान्डर्ड चार्टर्डसँग साझेदारी गरेको वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलिप अग्रवालले बताए ।
विभिन्न क्षेत्रमा प्रविधिमाथिको निर्भरता बढिरहेको सन्दर्भमा डेटा सेन्टर पूर्वाधार नेपालको अर्थतन्त्र र वृद्धिको प्रमुख कारण बन्ने अपेक्षा गरिएको वर्ल्डलिंकको विश्वास छ । फाइबर सञ्जाललाई विस्तार गरी उच्चस्तरीय डेटा सेन्टरहरू बनाएर वर्ल्डलिंकले दिगो तथा नवप्रवर्तनात्मक वृद्धिमा कोशेढुंगा थपेको वर्ल्डलिंकको भनाइ छ ।
नेपालको डिजिटल परिवर्तन, सम्पर्क सञ्जाल अभिवृद्धि र आर्थिक वृद्धिमा योगदान गर्न पाउँदा आईएफसीलाई गर्व लागेको उक्त संस्थाका दक्षिण एसिया क्षेत्रीय निर्देशक इमाद एन फाखुरीले बताए । यो लगानी नेपालको १६औं राष्ट्रिय योजना र डिजिटल नेपाल फ्रेमवर्कमार्फत सरकारले बनाएको भिजन अनुरूप नै गरिएको उनले बताए ।
यस परियोजनाले वातावरणमैत्री डेटा सेन्टर र उत्थानशील फाइबर टु द होम प्रविधिमार्फत दिगो विकासलाई प्रवर्धन गर्ने वर्ल्डलिंकको विश्वास छ । आईएफसीको सहयोगबाट वर्ल्डलिंकले समावेशी रोजगारीका विश्वव्यापी मान्यता अनुकूल कार्यक्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउने लक्ष्य पनि लिएको जनाएको छ ।
वर्ल्डलिंक, डेटा वर्ल्ड, आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीचको साझेदारीले नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ बनाउने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ गोरख राणाले बताए । नेपालका डिजिटल पूर्वाधारहरूमा लगानी गरेर आफूहरूले देशमा इन्टरनेट पहुँचमा अभिवृद्धि गर्दै डेटा सेन्टर क्षमताहरूको विस्तारका साथ विश्वव्यापी अवसरहरूको ढोका खोल्ने लक्ष्य लिएको उनको भनाइ छ ।








प्रतिक्रिया