चीनले पठायो तिब्बतमा ठूलो पानी पर्ने सम्भावनाको जानकारी, सिन्धुपाल्चोक प्रशासनले जारी गर्‍यो सूचना

1k
Shares

काठमाडौं । चीनको तिब्बत क्षेत्रको न्यालममा लगातार भारी वर्षा भइरहेको जानकारी आएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले चिनियाँ अधिकारीहरूले न्यालम क्षेत्रमा अझै बढी वर्षा हुन सक्ने सम्भावना रहेको सूचित गरेकोभन्दै जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको जनाएका छन् ।

प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा संभावित जोखिमलाई मध्यनजर गर्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन र अरनिको राजमार्गको बन्देउदेखि लिपिङ खण्डसम्म सवारी साधन चलाउँदा विशेष ध्यान दिन अनुरोध गरिएको छ।’

यसअघि मंगलबार विहान रसुवास्थित नेपाल–चीन सीमाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । उक्त बाढीमा परी १८ जना बेपत्ता भएका छन् भने नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ ।