कान्तिपथमा डेढ अर्ब लगानीमा १३ तलाको ‘वन वर्ल्ड अपार्टमेन्ट’ बन्ने

623
Shares

काठमाडौं । काठमाडौंको कान्तिपथमा डेढ अर्ब लगानीमा वन वर्ल्ड अपार्टमेन्ट बन्ने भएको छ । ओएसिस होटल प्रालिले काठमाडौंको कान्तिपथमा ७ रोपनी २ आना क्षेत्रफलमा डेढ अर्ब रुपैयाँ लगानी गरी अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

होटलले अपार्टमेन्ट निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । उक्त प्रतिवेदनअनुसार मिश्रित आवासीय भवन बन्ने भएको हो ।

कम्पनीले उक्त क्षेत्रमा १ हजार ४७४.०६ वर्गमिटर क्षेत्रफलमा आवासीय भवनले ओगट्ने जनाएको छ । साथै, मिश्रित आवासीय भवनको तल्लाको कुल क्षेत्रफल २२ हजार ७०९.४५ वर्ग मिटरमा बन्ने भएको छ । कम्पनीले ५ हजार २०८.९० वर्गमिटरमा आवासीय क्षेत्रको लागि छुट्याइएको छ भने ८ हजार ७०१.९८ वर्गमिटर क्षेत्रफलमा व्यवसायीका क्षेत्रका लागि छुट्याइएको छ ।

कम्पनीकाअनुसार कुल जग्गाको ५९.६४ प्रतिशत खुला र हरियाली क्षेत्र बनाइने छ । जसमा ३९.२८ प्रतिशत खुला र २०.०६ प्रतिशत हरियाली क्षेत्र हुनेछ । कम्पनीले एउटा मात्रै भवन बनाउने भएको छ भने उक्त भवन ५२ मिटर उचाईको हुने छ । भवन १३ तल्लाको हुनेछ । उक्त भवनमा ४० वटा युनिट अपार्टमेन्टको सुविधा हुनेछ ।

कम्पनीले सरकारले तोकेको बमोजिम मापदण्ड प्रयोग गरेर भवन निर्माण गर्ने प्रस्ताव आगाडि सारेको छ । जसमा कम्पनीले फ्लोर एरिया ४.३५ राखेको छ भने अपार्टमेन्टको भवनले ओगट्न पाउने क्षेत्रफल ४०.६६ प्रतिशतले हुनेछ । सेटब्याक ५ मिटर तोकेको छ ।

अपार्टमेन्टको तल्लो भूमिगत तल्लामा पार्किङको व्यवस्था हुनेछ । जसमा ५४ वटा चार पांग्रे र ४० वटा दुई पांग्रे सवारी साधन अट्नेछ । त्यसैगरी माथिल्लो भूमिगत तल्लामा पनि पार्किङको सुविधा हुनेछ । उक्त पार्किङमा ३३ वटा चार पांग्रे र २० वटा दुई पांग्रे सवारी साधन अट्नेछ ।

भुई तल्लामा पार्किङ, जिम, कार्यालय, हल, लबी हुनेछ । दोस्रो तल्लामा ८ वटा पसलको स्टल र दोस्रो तलामा ९ वटा पसलको स्टल हुनेछ । प्रस्तावित अपार्टमेन्टमा तेस्रो तल्लादेखि छैठौं तल्लासम्ममा अफिस कार्यालय हुनेछन् । सातौं तल्लामा बेन्क्वेट हल, बेन्क्वेट किचान, स्टार रुम, मिटिङ रुम र प्रि-फङ्सनल एरिया हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार आठौं तल्लामा लाउन्ज र स्वीमिङ पुल, रिसेप्सन, स्टाफ किचन हुनेछ । त्यस्तै, प्रस्तावित प्रतिवेदनमा नवौं तल्लादेखि तेह्रौ तल्लासम्म ८ वटा युनिट अपार्टमेन्टको संख्याले ४० अपार्टमेन्ट निर्माण गर्ने जनाएको छ । प्रत्येक अपार्टमेन्ट १ हजार ४१.७८ क्षेत्रफलमा निर्माण हुनेछ । सो अपार्टमेन्टमा थ्रीबीएचकेको एक वटा, टुबीएचकेको २ वटा र वानबीएचकेको ५ वटा निर्माण हुनेछ ।

थ्रीबीएचके अपार्टमेन्टमा सुत्ने कोठा ३ वटा, हल एउटा र भान्छा एउटा हुनेछ । टुबीएचकेको अपार्टमेन्टमा सुत्ने कोठा २, हल एउटा, भान्छा एउटा र वानबीएचकेको आपार्टमेन्टमा सुत्ने कोठा, हल र भान्छाको सुविधा हुनेछ ।