
काठमाडौं । सत्ता गठबन्धनका दुई दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको हो ।
आजको भेटवार्ता नेपाल राष्ट्र बैंकको गभर्नरका विषयमा केन्द्रित हुने स्रोतको भनाइ छ ।
यसअघि सोमबारका लागि ओली र देउवाबीच भेटवार्ता तय भएको थियो । तर प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि भेटवार्ता हुन सकेको थिएन ।
प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।
कतिपयले सत्ता गठबन्धनका दुई दलबीचमा गभर्नरको विषयमा अविश्वास बढिरहेको आकलन गरिरहेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने तय भए पनि प्रधानमन्त्रीले बैठक स्थगित गरेपछि देउवा असन्तुष्ट बनेको उनी निकटका नेता बताउँछन् । प्रधानमन्त्री ओली र देउवाबीच राष्ट्र बैंकको गभर्नर नेपाली कांग्रेसले अघि सारेको उम्मेदवारलाई बनाउने सहमति भइसकेको छ । दुबै नेताले सार्वजनिक मञ्चबाट कांग्रेसले सिफारिस गर्ने व्यक्ति गभर्नर बन्ने बताउँदै आएका छन् ।
तर, कांग्रेस नेताहरुले भने आफूहरुले अघि सारेको व्यक्तिलाई विभिन्न बाहनामा प्रधानमन्त्री ओलीले गभर्नर नियुक्त गरिरहेका छैनन् ।
पछिल्लो समय गभर्नर सिफारिस समितिका सदस्य डा विश्व पौडेललाई कांग्रेसले गभर्नर बनाउन चाहेको छ र उनले समितिबाट राजीनामा समेत दिइसकेका छन् । त्यसअघि डा गुणाकर भट्टलाई कांग्रेसले गभर्नर बनाउन खोजे पनि उनको राजीनामा कामु गभर्नर नीलम ढुंगानाले स्वीकृत गरेकी छैनन् भने ओलीले गुणाकरको विकल्प मागेपछि पौडेललाई कांग्रेसले अघि सारेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल गत चैत २४ गते सकिएसँगै सो पद रिक्त छ । कानुन अनुसार कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको महाप्रसाद अधिकारी र डा पोषराज पाण्डे रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ । तर समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन।







प्रतिक्रिया