सांसद सिंहको प्रश्न: राष्ट्र बैंक भित्रैबाट गभर्नर बनाउँदा पाप लाग्छ ?

119
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्र बैंकका गभर्नर नियुक्तिको प्रक्रिया लज्जास्पद रहेको टिप्पणी गरेका छन्।

बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले गभर्नर चयन प्रक्रिया र सिफारिस समितिमा बारम्बार हुने सदस्य हेरफेरप्रति गम्भीर आपत्ति जनाए ।

‘यो प्रक्रिया यस्तो छ कि लाज पनि लाजले लाज मान्छ,’ उनले भने, ‘तर हाम्रो सरकार भने लजाउँदैन ।’

सांसद सिंहले पराजित नेताहरूलाई राष्ट्रिय सभा, राजदूत हुँदै अब गभर्नर बनाउन खोजिएको भन्दै त्यसप्रति असन्तोष व्यक्त गरे।

‘यो गलत परम्परा हो,’ उनले भने, ‘राष्ट्र बैंक ऐनमै स्पष्ट छ कुनै पनि राजनीतिक दलको सदस्य गभर्नर हुन सक्दैन । पार्टीबाट उम्मेदवार बन्नु नै प्रमाण हो ।’

उनले गभर्नर नियुक्तिका लागि राष्ट्र बैंककै भित्रबाट योग्य र सक्षम व्यक्तिहरू छनोट गर्न सकिने बताए ।

‘राष्ट्र बैंकमा यत्रो वर्षदेखि विज्ञहरू छन्,’ उनले प्रश्न गरे, ‘के भित्रैबाट गभर्नर बनाउँदा पाप लाग्छ ? अनिवार्य रूपमा दलका कार्यकर्ता बाहिरबाट ल्याउनुपर्ने ?’

सिंहले हालका डेपुटी गभर्नर योग्य भएको उल्लेख गर्दै उनलाई गभर्नर बनाउन नहुने कुनै कारण नरहेको बताए ।

‘डेपुटी गभर्नर महिला भएकै कारण उनलाई बनाउनु नहुने हो? कि राष्ट्र बैंककी कर्मचारी भएकै कारण अयोग्य ठहरिने?’ उनले प्रश्न गरे।

सांसद सिंहले छनोट समितिलाई पनि राजनीतिक खेलको माध्यम बनाइएको आरोप लगाए ।

‘सर्च कमिटी मजाक बनाइएको छ,’ उनले भने, ‘हरेक १० दिनमा नियुक्ति र त्यसपछि राजीनामा । हलीलाई नियुक्ति गर्ने अनि अर्को जिम्मेवारी दिएपछि तुरुन्तै राजीनामा गराउने ?’